१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गिरीलाई मन्त्रीबाट हटाउन पत्र

काठमाडौं–सचिव सरुवाका विषयमा मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्रीसमेत रहेका राप्रपाका अध्यक्ष कमल थापासँग विवाद भएपछि सहरी विकास मन्त्री दिलनाथ गिरीलाई पदबाट हटाउन पार्टीले प्रधानमन्त्रीलाई पत्र लेखेको छ । प्रवक्ता भुवन पाठकले १३ शब्दसहितको एक वाक्यमा विज्ञप्ति जारी गर्दै गिरीलाई पार्टी निर्णयअनुसार फिर्ता बोलाएको जनाएका छन् ।
पञ्चायतकालमा राजनीति सुरु गरेका थापा र गिरीबीच ‘प्रेम र घृणा’ को सम्बन्ध लामो समयदेखि चल्दै आएको छ । पञ्चायती शासनकालभरि यी दुवैबीच तिक्त सम्बन्ध थियो । बहुदल आएपछि भने सम्बन्ध सुधारिएको थियो । बहुदल आएपछि अमेरिका लागेका गिरी पछिल्लो समयमा थापानिकट पुगेका थिए । 

पञ्चायतको पृष्ठपोषण गर्न खोलिएको राष्ट्रवादी विद्यार्थी मण्डलका संस्थापक अध्यक्ष पदम ठकुराठी यी दुवैको सम्बन्ध पञ्चायतकालभरि एकअर्काको विरोधीका रुपमा रहेको सम्झन्छन् । ‘२०२७ सालमा गिरीलाई मैले मण्डलको काठमाडौं जिल्ला अध्यक्ष बनाउने आश्वासन दिएको थिएँ तर दरबारलाई प्रयोग गरेर थापाले अध्यक्ष लिई छाडे’, पुरानो दिन सम्झिँदै ठकुराठीले भने, ‘पञ्चायतकालभर दुवैको सम्बन्ध राम्रो रहेन ।’

दर्शनभेटका लागि जाँदा तत्कालीन राजा महेन्द्रले नै थापालाई अध्यक्ष बनाउन भनेपछि ठकुराठीले त्यसै गरे । त्यसपछि दरबारसँग निकट रहेका थापा राजनीतिको सिँढी चढ्दै गए भने गिरी पछि पर्दै गए । ठकुराठीपछि थापा मण्डलको अध्यक्ष भए । थापापछि मात्रैसो पदमा पुग्ने पालो गिरीको आयो । त्यसपछि विद्यार्थी मण्डलको अध्यक्ष निरञ्जन थापा बने ।

मण्डल त्यस समयसम्म बदनाम भइसकेको थियो । पछि राजनीतिक वृत्तमा ‘मण्डले’ शब्द गालीको पर्याय बन्यो । २०३६ सालको विद्यार्थी आन्दोलनको एउटा माग त्यही विद्यार्थी मण्डलमाथि प्रतिबन्ध लगाउनुपर्ने थियो । पञ्चायती व्यवस्थाले नवीकरण नगरेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले मण्डलको दर्ता खारेज गरिदियो । 

थापा २०३८ सालमा राष्ट्रिय पञ्चायतको चुनाव हारेपछि युवक संगठनको अध्यक्ष बने । २०४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएर मन्त्री बने । गिरी भने कोसी ब्यारेजसम्बन्धी नेपाल–भारत संयुक्त समितिमा कर्मचारी बने । 
‘दुई नेताबाीच पञ्चायतकालदेखि नै नजिकको सम्बन्ध हो । बहुदल आएपछि पनि झनै नजिकैको सम्बन्ध रहेको थियो,’ राप्रपाका प्रवक्ता भुवन पाठकले भने । बहुदल आएपछि केही समय गिरी कांग्रेस भए भने थापा राप्रपामा सक्रिय रहे । 

२०५२ सालमा कांग्रेस र राप्रपाको संयुक्त सरकारमा मन्त्री बनेपछि थापाले गिरीलाई बस्ती विकास कम्पनीको प्रमुख बनाएका थिए । त्यसपछि अमेरिका लागेका गिरीले अमेरिकी ग्रिनकार्ड प्राप्त गरेको राप्रपा नेताहरु बताउँछन् । पहिलो संविधानसभा चुनावपछि नेपाल फर्केका गिरी दोस्रो संविधानसभामा राप्रपा नेपाल संसदीय दलको प्रमुख सचेतक बने । थापा पार्टी अध्यक्ष र संसदीय दलको नेता रहँदै आएका थिए । गिरी दुईपटक मन्त्री बने ।

‘दोस्रो संविधानसभा चुनावमा जुन जिल्लाबाट पार्टीलाई बढी मत प्राप्त हुन्छ त्यसैबाट समानुपातिक सांसद बनाउने नियम बनेको थियो । गिरीको गृहजिल्ला भोजपुरबाट भने पार्टीलाई कम मत आयो अनि थापाले गिरीलाई ललितपुरको भन्दै समानुपातिकतर्फ सांसद बनाएका हुन्,’ ठकुराठीले गिरीलाई मन्त्रीबाट पार्टीले फिर्ता बोलाएको विषयमा जानकारी प्राप्त गरेपछि भने, ‘थापाको पार्टी सञ्चालन गर्ने निरंकुश शैली छ । पहिलो धेरै नेता तथा कार्यकर्ता थापाको कोपभोजनमा परेका थिए । यसपटक गिरी परे ।’

यस विषयमा पत्रकारसँग कुरा गर्दै गिरीले भने, ‘थापा ४८ वर्षदेखिका मेरा मित्र हुन् । मैले जस्तोसुकै परिस्थितिमा पनि उहाँलाई सहयोग गरें । आलोचना सुन्न नसक्ने उहाँको बानी छ । म मित्र हुँ, दास होइन । दासत्व स्वीकार गर्न नसक्दा मलाई मन्त्रीबाट निकाल्ने काम भयो । पार्टीभित्र नयाँ नेतृत्व बनाउन संघर्ष गर्छु ।’

अध्यक्ष थापाले भने गिरीले निहित स्वार्थका लागि पार्टीलाई बदनाम गर्ने प्रयास गर्न थालेपछि उनलाई पदमुक्त गर्नुपर्ने बताएका छन् । ‘दिलनाथ गिरी पदमुक्त’ भन्दै थापाले ट्विट गरेका छन्– चुनाव सम्पन्न भई केही हप्तामा नयाँ सरकार गठन हुन लागेको अवस्थामा मन्त्रालयका सचिव सरुवा उपयुक्त हुँदैन । मन्त्री पदको मर्यादा कायम राख्न नसक्ने, पार्टी अनुशासन उल्लंघन गर्ने तथा निहित स्वार्थका लागि पार्टीलाई बदनाम गर्ने प्रयासलाई नियन्त्रण गर्नु पार्टीको कर्तव्य हो ।

 

प्रकाशित: १५ पुस २०७४ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App