१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नयाँ सोलार जडान सजिलो, मर्मत गराउन सास्ती

काठमाडौं–भक्तपुर ठिमीका इन्द्रबहादुर भण्डारीले ५५ हजार रुपैयाँ खर्च गरेर पाँचवटा बत्ती र टेलिभिजन चलाउन मिल्ने सोलार प्रविधि जडान गरेका थिए । तर, जडान गरेको सात महिनाभित्रै सोलारमा समस्या आयो । 

एक वर्षको वारेन्टी भएकाले उनले सोलार बिक्रेताकहाँ गएर मर्मतका लागि आग्रह गरे । तर, उनको आग्रहलाई सोलार बिक्री गर्ने कम्पनीले अनेक बहाना बनाउँदै टार्दै आएको छ । ‘वारेन्टीको समय सीमा पनि नाघ्यो तर, मर्मत हुन सकेको छैन,’ उनले भने, ‘सजिलोको लागि जडान गरेको मर्मतका लागि थप पीडा भोग्दैछु । पैसा पनि गयो र सास्ती मात्रै भित्रियो ।
भक्तपुरकै कौशलटारका समिरमान श्रेष्ठले विद्युत् संकटलाई ध्यानमा राखी ३१ हजार रुपैयाँ खर्च गरेर जोरजाम गरेको सोलारमा पनि एक वर्ष नपुग्दै समस्या आयो । सहज जीवनका लागि सोलार जडान गरेको असहज स्थिति सिर्जना गरेको उनले बताए । 
‘एकपटकको लगानीबाट वर्षौं ढुक्क’ हुने सस्तो नाराको आश्वासनमा परेका कतिपय उपभोक्ता अहिले हास्नु र रुनुको अवस्थामा पुगेका छन् । नयाँ सोलार जडानपछि मर्मतको सुविधा नपाउँदा उनीहरु यस्तो अवस्थामा पुगेका हुन् ।
ऊर्जा संकटले सिर्जना गरेको अवसर छोप्न सौर्य ऊर्जाका उत्पादक, प्रवद्र्धक र बिक्रेता कम्पनीहरू पनि होडबाजीमा छन् । तर, उनीहरुले नयाँ जडानपछि दिनुपर्ने सुविधा भने उपभोक्ताले पाउन सकेका छैनन् । 

नयाँ सोलार जडान गर्न जति सजिलो छ, त्योभन्दा कैयौ गुणा बढी सास्ती मर्मत गराउन खेप्नु परेको गुनासो उपभोक्ताको छ । नयाँ सोलार जडान गर्दा अनेक किसिमका मर्मतका सुविधा (वारेन्टी)को फेहरिस्त प्रस्तुत गर्ने सोलर कम्पनीहरु जडानपछि मर्मतका लागि पटक–पटक गुनासो गर्दा पनि वास्ता नगरेको उनीहरुको भनाइ छ ।

सोलार प्रणाली जडान गरिसकेपछि एक वर्षको वारेन्टी हुन्छ । तर, त्यो अवधिभित्र बिग्रँदा पनि सोलार कम्पनीले मर्मतसम्भार गरिदिन नआउने गरेको उपभोक्ताको गुनासो छ । तर, सोलार कम्पनीहरु वारेन्टीभित्र कुनै समस्या आएमा मर्मत गरिदिने गरेको बताउँछन् । जडान गरेको एक वर्षभित्र सोलार प्रणालीमा समस्या आए निःशुल्क मर्मत गरिदिने गरेको अल्टा सोलार इनर्जीका महाप्रबन्धक उत्तम खनालले नागरिकलाई बताए । ‘सोलारको समग्र प्रणाली (सिस्टम) नै बिग्रिए एक वर्षको ग्यारेन्टी हुन्छ,’ उनले भने, ‘त्यस अवधिमा निःशुुल्क मर्मतको काम गरिदिने गरेका छौं ।’

यसैगरी, सोलारको ब्याट्रीमा दुई वर्षको वारेन्टी हुने गरेको उनको भनाइ छ । ‘त्यस अवधिभित्र बिग्रिए उक्त ब्याट्री परिवर्तन गरी नयाँ राखिदिने गरेका छौं,’ खनालले भने, ‘सोलारको जस्ता पाताको २० वर्षको वारेन्टी हुने गरेको छ ।’ 
सोलार पावर कम्पनीले यस्तो सुविधा दिने भने पनि सर्वसाधारणले भने उक्त सुविधा पाउन सकेका छैनन् । नयाँ जडान गर्दा जुन आश्वासन सोलार कम्पनीले बाडँछन् । त्यो सुविधा भने जडान गरिसकेपछि पाउन सकिरहेका छैनन् ।

नयाँ सोलार जडान गर्दा गरिएको समझदारी अनुसार सोलार कम्पनीले मर्मत गरिदिनु बाध्यता नै हुने नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले बताए । ‘वारेन्टीभित्र टुटफुट वा बिग्रिएमा रिपेरिङ गरिदिनु पर्छ,’ उनले भने, ‘तर, कतिपय कम्पनीले मर्मत गरिदिने कार्यलाई महत्व नै दिने गरेका छैनन् ।’

पछिल्लो समय सर्वसाधारणले सोलार कम्पनीप्रति विश्वास गर्न छाडेका छन् । नयाँ सोलार जडानका लागि मिठो आश्वासन दिने सोलार कम्पनीहरु जडान गरिसकेपछि भने दायित्वबाट पन्छिने गरेको उपभोक्ताको गुनासो छ ।
सहरी क्षेत्रमा लोडसेडिङ नभए पनि ग्रामीण क्षेत्रमा लोडसेडिङका कारण नागरिकले सास्ती भोग्नु परिरहेको छ । ग्रामीण तथा तराई क्षेत्रमा खाना पकाउन, पानी तान्न, मोबाइल चार्जलगायत काम गर्न सोलार जडान क्रम अझै बढेको  ढकालको भनाइ छ ।
‘सहरी क्षेत्रमा सोलार जडान गर्ने क्रम घटे पनि ग्रामीण क्षेत्रमा भने बढेको छ,’ उनले भने, ‘तर, त्यहाँ पनि जडान गरिदिएपछि मर्मत नगरिदिँदा समस्या छ ।’ कर्णाली उज्यालो कार्यक्रमले पनि सोलार प्रणालीलाई बदनाम बनाउने काम गरेको ढकालको भनाइ छ ।

बिजुलीको भर नभएको बेला सौर्यऊर्जा भरपर्दाे विकल्प भएको छ । तर, त्यसको गुणस्तमा भने घट्दै गएको छ । ‘डुब्लिकेसनको समस्या पनि त्यत्तिकै छ,’ ढकालले भने, ‘त्यसले पनि सोलार प्रणालीमा विश्वसनीयतामा संकट आएको छ ।’
पहिला राष्ट्रिय प्रसारण लाइनको बिजुली नपुगेका ग्रामीण क्षेत्रमा प्रयोग हुने सोलारमा अनुदान दिने गरिएको थियो । तर, अहिले बिजुली पुगेका सहर बजारमा पनि सोलार जोडेमा अनुदान र सहुलियत ऋण पाइन थालेको छ ।  यस्तो सहुलियतको ऋणले पनि उपभोक्ता आकर्षित भएका हुन् । तर, तिनीहरुले नयाँ जडानपछि दिने सुविधामा समस्या आएका कारण सोलारप्रति नै वितृष्णा पैदा हुन थालेको छ ।

प्रकाशित: १४ पुस २०७४ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App