१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नदी दोहनमा एलडिओकै मिलेमतो

महोत्तरी–महोत्तरीमा स्थानीय विकास अधिकारीकै मिलेमतोमा नदी दोहन भएको रहस्य खुलेको छ । जिल्ला समन्वय समिति (जिसस)को नाममा नक्कली रसिद प्रयोग गरेर नदी दोहन गरिरहेको प्रमाणसहित दुई जना पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो ।

महोत्तरीको २ नम्बर रातुखोलामा तीन महिनादेखि ठेक्का नै नलगाई नदीजन्य पदार्थ दोहन गर्नुका साथै लाखौं राजस्व चुहावट भइरहेको रहस्य खुलेको छ । जिसस महोत्तरी उल्लेख गरिएका दुईवटा ठेकेदार कम्पनीको नगदी रसिदसहित दुईजनालाई पक्राउ गरी कारबाहीका लागि जिसस महोत्तरीमा बुझाएपछि खोला उत्खनन््बापत आउने लाखौं राजस्व चुहावट हुँदै आएको रहस्य पनि खुलेको हो । 

एलडिओ युवराज पौडेलले आफ्नो कर्तुत ढाकछोप गर्न प्रहरीले कारबाहीका लागि बुझाइएका दुवै जनालाई पुस २ गते उत्खनन््को ठेक्का पाएकै ठेकेदार कम्पनी ड्रिलिङ प्रालि बर्दिबासका सञ्चालक पुष्पराज स्यादानको जिम्मा छाडेका छन् । आवश्यक परेको बेला मान्छे उपस्थित गराउने शर्तमा दुवैजनालाई पुस ४ गते नै छाडिएको जिसस महोत्तरी कर्मचारी स्रोतले बताएको छ । 

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डिएसपी प्रविण पोखरेलले पुस २ गते बर्दिबास–१३ घर भएका ३९ वर्षीय जवार महतो र बर्दिबास नगरपालिका–८ का १९ वर्षीय मनिष मगरलाई जिसस उल्लेख गरिएको नगदी रसिदको ठेलीसहित पक्राउ गरी पुस ३ गते आवश्यक कारबाहीका लागि जिसस महोत्तरीमा बुझाएको थियो । 

प्रहरीले कारबाही अघि बढाएको व्यक्तिलाई समेत सामान्य सर्तमा छाडिएको घटनाले जिम्मेवार निकायका प्रतिनिधिकै उपस्थितिमा नदीजन्य पदार्थ दोहन भइरहेको पुष्टि गरेको छ । इलाका प्रहरी कार्याल बर्दिबासका डिएसपी पोखरेले उनीहरुको साथबाट मंसिर १५, १६ र १७ गतेको मिति उल्लेख गरिएको सि.नं. १६० देखि १४५३ नम्बरसम्मको एक हजारको दरले राजस्व उठाइएको ठेलीसमेत बरामद गरेको थियो । 

बरामद भएको ठेलीअनुसार ०७४ असोज १५ गतेदेखि जिसस उल्लेख गरिएको ठेक्केदार व्याहुत निर्माण सेवा जलेश्वर–६ महोत्तरी र ०७४ मंसिर १५ गतेदेखि रातु ड्रिलिङ प्रालि बर्दिबासले २ नं. रातुखोलाको बालुवा, गिटी, ढुंगालगायत ग्रेभलको कर उठाउने काम गर्दै आएको देखिन्छ । तर उक्त खोलाको ठेक्का सम्झौता पुस २ गतेपछि मात्र भएको छ । ठेक्का सम्झौता हुनु अगावैको मितिमा कर संकलन गरिनुले पनि अवैधरुपमा उत्खनन् कार्य भएको स्पष्ट हुन्छ ।  

तीन दिनकै हिसाब गर्दा पनि जिल्लाका आधा दर्जनभन्दा बढी नदीबाट ढुंगा, बालुवा, गिटी र ग्राभेल संकलनको ठेक्काबापत आउने करोडौं रुपैयाँ राजस्व हिनामिना भएको देखिन्छ । महोत्तरीमा २ नम्बर रातुखोलाजस्ता आधा दर्जनभन्दा बढी खोलामा यसैगरी अवैधरुपमा उत्खनन् गरिँदै आएको छ । एकाध बाहेक जिल्लाका अधिंकाश खोलामा ढुंगा, बालुवा, गिटी उत्खनन् गर्न ठेक्का लागेको छैन । ती सबै खोलामा जिसस र स्थानीय प्रशासनकै  मिलेमतोमा निर्वाधरुपमा उत्खनन् कार्य हुँदै आएको छ । 

एलडिओ पौडेलले सबैको ध्यान प्रतिनिधि र प्रदेश सभा चुनावमा रहेको मौका छोपी गोप्यरुपमा ठेक्का नै नलगाई २ नम्बर रातुखोलामा आफ्ना मान्छेसमेत परिचालन गरी बालुवा, गिट्टी, ढुंगा उत्खनन् गर्न अनुमति दिएर जिससको लाखौं राजस्व घाटा गराएको स्थानीयले आरोप लगाएका छन् । 

असार, साउन र भदौमा खोला पस्न नपाउने र असोजदेखि खोलाको ठेक्का लगाएर मात्र ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्नुपर्ने हो तर एलडिओ पौडेलले मोटो रकम असुल गरेर ठेक्का नै नलाई नदीबाट ढुंगा, बालुवा, गिट्टी उत्खनन् गर्ने अनुमति दिएका थिए । 
प्रतिनिधि र प्रदेश सभा चुनाव सकिएलगत्तै रातुखोलामा ठेक्का नै नलगाई खोला उत्खनन् भइरहेको सूचना बाहिर आएपछि एलडिओ पौडेलले गोप्यरुपमै पुस २ गतेमात्र रातु डिलिङ प्रालि विजलपुरा–६ का सञ्चालक स्यादानसँग ठेक्का सम्झौता गरेका हुन् । 
बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रह्लाद क्षेत्रीले एलडिओ पौडेलले पुस २ गते गरेको ठेक्का सम्झौतामा पनि आर्थिक चलखेल भएको आरोप लगाएका छन् । २ नम्बर रातुखोला दुई करोड ५० लाखमा ठेक्का लाग्दै आएकामा पुस २ गते गरिएको सम्झौता दुई करोडमा मात्रै ठेक्का लगाइएकाले यसमा पनि ठूलै आर्थिक चलखेल भएको क्षेत्रीको आरोप छ । 
ठेक्का नै नलगाई नदी उत्खनन् कार्यमा संलग्न रहेका दुवै जनालाई कारबाहीका लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय पथलैहीया पठाउनुपर्नेमा एलडिओले रातारात दुवैजनालाई छाड्नुले पनि ठूलै चलखेल भएको स्पष्ट हुन्छ । ‘बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष क्षेत्रीले भने, ‘जिल्लाको यत्रो ठूलो राजस्व हिनामिना गर्ने एलडिओ, ठेकेदार कम्पनी र सरोकारावाल निकायमाथि छानबिन गरी कारबाही गर्नुपर्ने हुन्छ ।’
‘संरक्षण गर्ने निकाय नै त्यसको दोहन गरेर कमाउ धन्दामा लागेपछि कसको के लाग्छ,’ क्षेत्रीले भने, ‘नदीजन्य पदार्थको दोहन गर्ने जोसुकैलाई पनि कानुनी कारबाही हुनुपर्छ र विगत तीन महिनामा अवैध तरिकाले नदी उत्खनन् गरी संकलन गरिएको रकम जिसस महोत्तरीको खातामा जम्मा गर्नुपर्छ ।’ 

एलडिओ पौडेललेसँग यसबारे बुझ्न पटकपटक सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । उता जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख बाबुराम श्रेष्ठ काठमाडौंमा रहेकाले फर्केपछि आवश्यक छानबिन गरिने जिप्रका महोत्तरीका प्रशासकीय अधिकृत शम्भु यादवले बताए । ‘२ नम्बर रातुखोलामा भइरहेको उत्खनन्बारे मलाई केही थाहा भएन,’ प्रशासकीय अधिकृत यादवले भने, ‘यसबारे सिडिओ आएपछि आवश्यक छानबिन सुरु गरिने छ ।’

यसैबीच जिसस महोत्तरीका नवनिर्वाचित प्रमुख (सभापति) सुरेशप्रसाद सिंहले खोलामा भइरहेको उत्खनन्बारे आफूलाई कुनै जानकारी नगराइएको बताए । ‘खोलामा यत्रो दिनदेखि उत्खनन् भइरहेको बारे मलाई जानकारी नै गराइएको छैन ।’ जिसस सभापति सिंहले भने, ‘बिना ठेक्का खोलामा गरिएको उत्खनन्बारे आवश्यक छानबिन गरिने र दोषीलाई कारबाहीको दायरामा ल्याइने छ ।’

सभापति सिंहले उत्खनन्बारे आफूकहाँ पनि उजुरी आएपछि ठेक्का लाग्नुअगावै उत्खनन् हुँदै आएको जानकारी पाएको बताए । यसबारे जानकारी लिन एलडिओ पौडेललाई सभापति सिंहले पनि सम्पर्क गर्न खोज्दा उनी  सम्पर्कमा आउन चाहेनन् । 

 

 

प्रकाशित: १२ पुस २०७४ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App