२९ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नेपालमा भारतीय नृत्य र संगीतको प्रतिस्पर्धा

काठमाडौं–भारतीय भूमिमा चर्चित नृत्यहरू नेपाली भूमिमा देखाइएको छ । स्थापनाका हिसाबले भारतीय मानिने चर्चित भरत नाट्यम, ओडेसी, कत्थक, लोकनृत्यसँगै आधुनिक, परम्परागत, अर्ध सांस्कृतिक नृत्यहरू काठमाडौंस्थित सर्वनाम थिएटरमा देखाइएका हुन् ।

‘नेपाल इन्टरनेशनल डान्स एण्ड म्युजिक फेस्टिभल’ नाम दिइएको सो कार्यक्रममा नेपाली गीत संगीतका नृत्य भने सामेल थिएनन् । भारतीय भूमिका अधिकांश स्कुले बालबालिकाले ती नृत्यहरू प्रस्तुत गरेका थिए । केही अग्रज कलाकारले पनि उनीहरूसँगै आफ्ना कला प्रस्तुत गरेका थिए । ओडिसी नृत्यमा दख्खल राख्ने अभिसिका बुयानले नृत्य प्रस्तुत गर्दै वाहवाही बटुलेकी थिइन् । मध्यप्रदेशबाट आएको एक समूहले भरत नाट्यम नृत्य प्रस्तुत गर्दा पनि दर्शकले प्रशंसा गरेका थिए ।

आइतबार छत्तिसगढकी प्राञ्जली शर्माले सेमी क्लासिकल, आसामकी संगीता बोहोराले आसामी लोकनृत्य, कस्तुरी शकियाले आधुनिक नृत्य देखाएकी थिइन् । त्यस्तै आसामकै मृगाक्षी बनिया, प्रीतिरानी बोगईले पनि आफ्ना कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । आसामकी तमन्ना बुयानले भने नेपाली र आसामी दुवै भाषाको गीतमा नृत्य गर्दा नेपाली दर्शकको साथ पाएकी थिइन् । आसामकै सुरजराज, उडिसाका साइ प्रसन, जमशेदपुरकी रोशनी बनर्जी लगायतले पनि विभिन्न विधाका नृत्य प्रस्तुत गरे ।
शनिबार र आइतबार दुई दिन चलेको महोत्सवअन्तर्गत पहिलो दिन ३० वटा नृत्य प्रस्तुत गरिएका थिए । त्यस्तै दोस्रो दिन आइतबार ४८ वटा नृत्य प्रस्तुत गरिएका थिए । विभिन्न विधाअन्तर्गत हरेक विधामा उत्कृष्ट हुनेलाई सोही दिन नै पुरस्कार प्रदान गरिएको थियो । भारतका विभिन्न राज्यका बालबालिका र अभिभावक महोत्सवमा सहभागी हुन आएका थिए । महोत्सव सकेलगत्तै टोलीले काठमाडौंस्थित विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेको थियो ।

 

प्रकाशित: ११ पुस २०७४ ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App