१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘प्रदेश दुईको राजधानी नयाँ सहरमा’

 वीरगन्ज-  प्रदेश २ को राजधानी पश्चिमी भागमा रहेको वीरगन्ज वा पूर्वी भागमा रहेको जनकपुरमा नभई बीचको नयाँ ठाउँ विकसित गर्नुपर्ने धारणा बलियो हुँदै गएको छ । निर्वाचन सकिएलगत्तै निर्वाचित प्रदेशसभा, प्रादेशिक कार्यपालिका र प्रशासनिक एकाइलगायत निकाय राख्न प्रादेशिक राजधानी  कहाँ बनाउने भन्नेमा विवाद सुरु भएको हो।

प्रदेश दुईको राजधानी वीरगन्जमा बनाउन स्थानीयवासीले दबाब बनाइरहँदा प्रादेशिक राजधानी जनकपुरमा राख्न लबिङ भइरहेको छ । यस्तोमा प्रादेशिक राजधानीलाई विवादको विषय बन्न नदिन नयाँ ठाउँलाई प्रादेशिक राजधानीका रूपमा विकसित गर्नुपर्ने विचार बुद्धिजीवीहरूले व्यक्त गरिरहेका छन् ।

                वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमप्रकाश सिकारियाले पुराना सहरलाई नबिगार्ने गरी नयाँ सहरको विकास गर्नुपर्ने बताए । उनले व्यवस्थित सडक, ढल तथा नवीकरणीय ऊर्जा प्रबन्धन, आधुनिक किसिमले फोहोर व्यवस्थापन, जामको समस्याबाट मुक्तलगायत विशेषता भएको सहर विकसित हुनुपर्ने उल्लेख गरे । नेपालको संघीय राजधानी र सकेसम्म सबै प्रदेशको राजधानी योजनाबद्ध ढंगले बनाइएका सहरमा राख्न पाए देशको विकास हुने उनको तर्क छ । प्रदेश दुईको राजधानी त्यस्तै एउटा नयाँ ठाउँमा बनाउनुपर्ने विचार राख्नेको जमात बढ्दै गएको छ । ‘हुलाकी राजमार्गदेखि उत्तर र पूर्वपश्चिम राजमार्गदेखि दक्षिणमा हामीले एउटा नयाँ ठाउँ रोजेर विकसित गर्न सक्यौं भने त्यसबाट धेरै उपलब्धि हुनेछन्,’ युवा अभियानकर्ता कञ्चन झाले भने, ‘वीरगन्ज नेपालको प्रमुख व्यापारिक सहर हो र यसलाई दक्षिण एसियाकै एउटा ट्रान्जिट सहर बनाउन सकिने सम्भावना छ । उता जनकपुर विश्वभरका हिन्दुको आस्थाको केन्द्रसँगै हाम्रो सांस्कृतिक धरोहर पनि हो । यी दुवै ठाउँको मौलिकतालाई नबिगारीकन र प्रादेशिक राजधानीलाई विवादको विषय बन्न नदिन मध्यभागमा रहेको सर्लाहीतिर प्रदेशको राजधानी राख्नुपर्छ ।’

नयाँ ठाउँलाई लिदा त्यहाँको वनजंगल फडानी हुने, सडक सञ्जालसँग जोड्न  थप लगानी गर्नुपर्ने र सहर नै बसाउन धेरै खर्चको जोहो गर्नुपर्ने समस्याको एकमुष्ठ सामाधान दिन सक्ने सर्लाहीमा ठाउँ छ । १३ हजार हेक्टरमा रहेको सागरनाथ वन विकास परियोजनाले ओगटेको भूभागमा फराकिलो र आधुनिक सहर निर्माण गर्न सकिने सम्भावना रहेको सर्लाहीका स्थानीय बताउँछन्।  २०३५ मा सागरनाथ वन विकास परियोजना स्थापना भयो । परियोजनको जग्गा गत २०४७ सालयता वर्षैपिच्छे अतिक्रमणमा परिरहेको छ ।

सो ठाउँलाई प्रदेश दुईको नयाँ राजधानीका रूपमा विकसित गर्न सकिने र त्यसअघि कामकाज सञ्चालन गर्न पहिलेदेखि ५० भन्दा बढी भवन तत्कालै काममा ल्याउन सकिने गरी हरिऔनस्थित ‘उष्णप्रदेशीय बागवानी विकास योजना र तेलबाली विकास योजनाको ठाउँलाई प्रयोगमा लिन सकिने सर्लाहीमा प्रदशेको राजधानी बनाउन अभियान चलाइरहेका अभियन्ता  बख्तियार अलि बताउँछन् । अहिले प्रयोगविहीन रहेका ५० भन्दा बढी सरकारी भवन प्रयोगमा ल्याउन सकिने उनी बताउँछन् । सागरनाथमा नयाँ संरचना निर्माणका लागि ‘टाउन प्लानिङ’ गरेर जग्गा वितरणमार्फत स्रोत जुटाउन सकिने आधार पनि छ । प्रदेशसभा भवन, प्रदेश कार्यपालिका भवन, प्रशासनिक अड्डालगायत राजधानीलाई चाहिने सबै आधुनिक संरचना निर्माण गर्न त्यहाँबाट नै स्रोत जुटाउन सकिने अभियानमा लागेकाहरूको तर्क छ ।

त्यो ठाउँ तराई मधेस काठमाडौं द्रुतमार्ग र प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलदेखि करिब ४० किलोमिटरको दूरीमा पर्छ । यो ठाउँ देशकै आर्थिक, व्यापारिक तथा सबैभन्दा औद्योगिक लगानी भएको वीरगन्ज र देशकै मुख्य धार्मिक तथा पर्यटकीय स्थल जनकपुरको मध्यमा पर्नेछ । त्यस्तै देशको प्रमुख सडक पूर्वपश्चिम राजमार्गसँग जोडिएको र निर्माणाधीन हुलाकी राजमार्गको नजिक पर्ने ठाउँ पनि हो यो ।

‘वीरगन्जलाई देशकै आर्थिक राजधानीका रूपमा विकास गर्दै जनकपुरलाई धार्मिक एवं पर्यटकीय नगरका रूपमा विकास गरौं अनि प्रदेश दुईको राजधानी बीचमा पर्नेगरी नयाँ ठाउँलाई बनाउन लगाऔं । देशको राजधानी काठमाडौं भएपछि आज त्यहाँको अवस्था कसैसँग लुकेको छैन,’ युवा अभियन्ता आसु सर्राफले भने, ‘वीरगन्ज वा जनकपुरलाई राजधानी बनाए त्यस्तै हालत हुनेछ । वीरगन्ज र जनकपुरको मौलिकता बचाउनका लागि अनि दीर्घकालीन विकासका लागि प्रदेश दुईको राजधानी सबैलाई पायक पर्ने नयाँ ठाउँमै हुनुपर्छ ।’ प्रदेश नं.२ को नाम, राजधानी र भाषाका विषयमा विवाद झिक्न जरुरी नभएको अधिकारकर्मी अधिवक्ता दीपेन्द्र झा बताउँछन् । ‘प्रदेशसभा जनकपुरमा, कार्यपालिका वीरगन्जमा र न्यायपालिका सप्तरीको राजविराजमा राखेर साझा राजधानीको अवधारणामा जान सकिन्छ । यो दक्षिण अफ्रिकालगायत धेरै मुलुकमा व्यवहारमा आइसकेको विषय हो,’ उनले भने । प्रादेशिक राजधानी भन्ने कुरा विवादको जरो बन्नु हँुदैन भन्ने उनको मान्यता छ ।

प्रकाशित: ५ पुस २०७४ ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App