६ वैशाख २०८१ बिहीबार
राजनीति

खानामा अनियमितता भएको भन्दै म्यादी प्रहरीको आन्दोलन

सोमबार जिल्ला प्रहरी कार्यालय दोलखा घेराउ गर्दै म्यादी प्रहरी। तस्बिर: रमेश

दोलखा- प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भर्ना गरिएका म्यादी प्रहरीले ड्युटी गरेको अवधीमा खाएको खानामा घोटाला भएको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरीले जिल्ला प्रहरी नेतृत्व विरुद्ध आन्दोलन गरेका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाले गत कार्तिक १२ गते भर्ना लिएका म्यादी प्रहरीको दैनिक रासनमा चलिआएको मूल्य भन्दा ३५ रुपैंया बढी रकम कटाएको थाहा पाएपछि सोमबार उनिहरु आन्दोलनमा उत्रिएका हुन्।

‘शुरुमा भर्ना गर्दा प्रहरी जवान सरहको प्रति छाक ६० रुपैंयामा खाना खुवाउँछौं भनेर भर्ना लिईयो’ म्यादीका मुरारी सेढाईले भने – ‘अहिले ९५ रुपैंया कटाईएपछि खानामा घोटाला भएको आशंकामा आवाज उठाएका हौं।’

अर्का म्यादी जवान शिव गौतमका अनुसार मंसिर १२ गते देखि ३ गते सम्म २० दिनको पारिश्रमिक बैंक खातामा पठाउँदा ३८ सय रुपैंया खाना खाएको रासन काटिएको थियो । ‘२० दिन ड्युटी गर्दा ४० छाक खाना खाएको रकम काटिंदा चकित भयौं’ उनले भने। मंसिर १२ भन्दा अघिल्लो महिनाको अवधीमा भने गाउँका युनिट र निर्वाचन केन्द्रहरुको ड्युटीमा जाँदा उतै खाना खाएर रकम तिरेका कारण खाना खर्च बारे आफुहरुले ख्याल नगरेको उनले सुनाए।

गाउँमा चुनाव सकिएपछि जिल्लामा भर्ना गरिएका ७ सय ५० जना म्यादी प्रहरी गणनामा खटाउन जिल्ला प्रहरी तानिएका थिए। उनिहरुलाई ७ गते विदा गरिंदै थियो। जिल्ला प्रहरीमा खटिएका म्यादीहरुलाई जिल्ला प्रहरी कार्यालय भित्र मेस चलाईरहेका कोर्ट मास्टर नवराज सापकोटाले खाना खुवाउँदै आएका थिए । जिल्ला प्रहरीमा मेस सञ्चालन समितिले प्रहरी भित्रकै कर्मचारीलाई मेस चलाउन दिन्छ।

‘६० रुपैंयाँमा जवानलाई तरकारी सहितको खाना दिईन्थ्यो’ सेढाईले भने – ‘तर हामीलाई स्कुसको तरकारीको झोल हालेर दिईदा पनि ९५ रुपैंया लिईदो रहेछ ।’  उनले जिल्ला प्रहरीमा कार्यरत रहँदा चुनाव केन्द्रित सुरक्षा र गस्ती भन्दा पनि जिल्ला प्रहरी प्रमुखको निजी निवासमा काम गर्न लगिएको समेत सुनाए।

७ सय ५५ जना म्यादी प्रहरीलाई प्रहरी जवान भन्दा प्रति छाक ३५ रुपैयाँ बढी दैनिक दुई छाकका दरले ५५ दिन खाना खुवाउँदा २९ लाख रुपैयाँ बढी देखिएको एक म्यादीले सुनाए। कोट मास्टर र जिल्ला प्रहरीका अधिकृतहरुको मिलेमतोमा म्यादी प्रहरीको रासनमा घोटाला भएको आशंका उनिहरुको छ।

सोमबार बिहान देखि म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए । त्यस क्रममा प्रहरीले लाठी चार्ज गर्दा एक दर्जन बढी घाईते भएका छन् । केहीको हात खुट्टामा गहिरो चोट लागेको छ।

साँझ उनिहरुले सदरमुकाम चरिकोट बजारमा प्रर्दशन समेत गरेका थिए । खानामा बढी रकम लिएको कुरा सार्वजनिक गरेको भनेर केही महिला म्यादीहरुलाई पुरुष प्रहरी अधिकृतहरुले हातपात र लछारपछार गरेको म्यादीहरुले आरोप लगाएका छन्।

‘सुचना गलत फैलियो’

जिल्ला प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले म्यादीहरुलाई रासनमा बढी रकम नलिईएको दाबी गरे। ‘उनिहरुले रासनबारे समस्या लिएर आएपछि मैले कोर्ट मास्टर र लेखाका कर्मचारीलाई बोलाएर सोध्दा म्यादीको जम्मा ७० रुपैयाँ प्रति छाकका दरले रकम काटिएको रहेछ’उनले भने – तर उनिहरु भित्रै २० दिनको ३८ सय (प्रति छाक ९५ रुपैयाँ ) रकम काटिएको गलत सूचना फैलाएर आन्दोलन गर्न लगाईयो।’  उनले समस्या सामाधान भईसकेको समेत बताए। म्यादीको गुनासो पछि आफुले ७० प्रति छाकको रकम ६५ मा मात्र लिने गरी सहमती गराईएको सुनाए।

जिल्ला प्रहरीमा मेस चलाएका एक पूर्व प्रहरी जवानले भने म्यादी भर्ना हुँदा क्षणिक समयका लागि खाने र दैनिक खाना नखाने साथै उनिहरुलाई भाडा र सामानहरुको जोरजाम गर्न छुट्टै खर्च लाग्ने कारण कोर्ट मास्टरले उक्त रकम बढाउने गरेको बताए।

 

 

 

प्रकाशित: ३ पुस २०७४ १४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App