१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

तीन वर्षमा तेब्बर नक्कली नोट

काठमाडौं- बजारमा पछिल्लो समय नक्कली नोटको कारोबार निकै फस्टाएको छ। नक्कली नोटको बिगबिगी बढेपछि आफूसँग भएको नोट सक्कली हो वा नक्कली छुट्ट्याइमाग्न नेपाल राष्ट्र बैंक धाउनेको संख्या बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक् अनुसार, बैंक तथा वित्तीय संस्था र व्यक्ति विशेषको हातमा नक्कली नोट पर्ने क्रम बढेको छ। आर्थिक वर्ष ०७०/०७१ मा हजार दरका ४९ थान र सय रुपैयाँ दरका ११ थान नक्कली नोट राष्ट्र बैंकमा आइपुगेका थिए।

अघिल्लो आव ०७१/०७२ मा हजार दरका एक सय १६ थान र ५ सय दरका ४२ थान नक्कली नोट राष्ट्र बैंकमा आए। गत आव २०७२/०७३ मा हजार दरका एक सय ५२ थान, ५ सय दरका ५७ थान र सय दरका दुई थान नक्कली नोट केन्द्रीय बैंक पुगे।

तीन वर्षमा तेब्बरभन्दा बढीले नक्कली नोट आउने क्रम बढेको राष्ट्र बैंकको भनाइ छ। बैंक तथा वित्तीय संस्था र व्यक्तिविशेष नोटमा शंका लागेर छुट्ट्याइदिनुपर्‍यो भन्दै आउने गरेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख भुवन कँडेलले बताए। 'सक्कली नोटबाट छुट्ट्याउँदा मात्र उक्त दरका नक्कली नोट फेला परेका हुन्,' उनले भने।

प्रहरी प्रशासनले पनि त्यत्तिकै मात्रमा नक्कली नोट जफत गर्ने गरेको छ। उनीहरुले त्यसरी जफत गरेका नोटलाई आफ्नै तरिकाले नष्ट गर्ने गरेको कँडेलले बताए। यसबाहेक राष्ट्र बैंकका क्षेत्रीय कार्यालयले पनि ठूलो मात्रमा नक्कली नोट आउने गरेको जानकारी उनले दिए। 'क्षेत्रीय कार्यालयले पनि त्यसरी प्राप्त नोट वर्षको एकपटक जलाउने गर्छन्,' कँडेलले भने।

'बैंक तथा वित्तीय संस्था र व्यक्ति विशेषबाट नक्कली नोट आउने गरेका छन्,' उनले भने, 'त्यसरी आउने नक्कली नोटलाई ६ महिनादेखि एक वर्षभित्र मुचुल्का बनाएर जलाउने गरिन्छ।' बढी भिडभाड हुने ठाउँमा नक्कली नोटको प्रयोग बढी हुने गरेको राष्ट्र बैंकको भनाइ छ।

५ सय र हजार दरका नक्कली नोट सबैभन्दा बढी कारोबार हुने गरेको प्रहरी प्रधान कार्यालयको एक अध्ययनले देखाएको छ।

अध्ययन अनुसार बढी भिडभाड हुुने क्षेत्र, जुवाको खाल, हाटबजार, इँटा भट्टाका मजदुरलाई ज्याला दिँदा, गाउँघरमा खसी–बोका किन्दा, होटल र भारतीय बजारमा लागू औषध तथा इन्धन खरिद हुने क्षेत्रमा नक्कली नोट प्रयोग हुने गरेको छ।

'नक्कली हो कि सक्कली, छुट्ट्याइदिनुपर्‍यो भन्दै आउनेको कमी छैन,' उनले भने, 'नक्कली नोटविरुद्ध हामी बेलाबेला सचेतनामूलक कार्यक्रम गर्ने गर्छौं।'

राष्ट्र बैंकले समयसमयमा चेतनामूलक कार्यक्रम गरे पनि नक्कली नोटको प्रयोगमा भने कमी आएको छैन। नक्कली भारतीय नक्कली रुपैयाँको कारोबार र तस्करी हुने गरेको नेपालमा केही वर्षयता नक्कली नेपाली रुपैयाँको कारोबार बढेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकअनुसार पछिल्लो सात वर्षमा करिब २० लाख नक्कली नोट बरामद भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो समय गत माघको पहिलो साता रौतहटमा ५ सय र हजार दरका ४९ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नोट फेला परेको थियो। दुई वर्षअघि धरानको एउटा बैंकबाट भारतको खर्साङ पठाउन लागेको दुई लाख रुपैयाँमध्ये ७४ हजार नक्कली थियो।

राजधानी काठमाडौं र बाहिरका विभिन्न स्थानबाट नक्कली नेपाली रुपैयाँ बरामद भएका छन्। केही वर्षअघि ललितपुरको ठैबबाट २ लाख ९९ हजार नक्कली नेपाली रुपैयाँ प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीका अनुसार पहिला नोट छाप्न मेेसिन नै प्रयोग गरिन्थ्यो। अहिले प्रिन्टरका माध्यमबाट फोटोकपी गरेर बनाउने गरेको पाइएको छ। राष्ट्र बैंकले नक्कली नोट जम्मा गरेर जलाउने गरेको छ। बेलाबेला व्यक्तिगत वा संस्थामार्फत आएको नोट जलाउँदै आएको कँडेलले बताए।

नक्कली नोट कारोबार गर्नेलाई मुलुकी ऐनको खोटा चलन अन्तर्गत मुद्दा चलाइन्छ। लागू औषधको कुलतमा फसेका युवाको माध्यमबाट बजारमा पठाउने गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ।

नोटको प्रयोग गर्नुअघि आकार, साइज, गाढापन, होलोग्राम, सुरक्षा धागो हेर्नुपर्ने विज्ञ बताउँछन्।

 नेपाल राष्ट्र बैंकले नक्कली नोटको बिगबिगी भएपछि विशेष सावधानी अपनाउन थालेको छ। नयाँ छाप्ने प्रक्रियामा नोटमा व्यापक परिवर्तन गरेको छ। नयाँ नोटमा सुरक्षा धागो, जनावरको तस्बिर लगायत  परिवर्तन गरेको छ।

सबैभन्दा बढी ५ सय र हजार दरका नक्कली नोट कारोबार हुने हुँदा ती नोटमा विशेष सावधानी अपनाउन लागिएको राष्ट्र बैंकको भनाइ छ। अहिलेको पाँच सयको नोटमा दुईवटा बाघको सट्टा नयाँमा एउटा चितवन निकुन्जमा पाइने बाघको तस्बिर राखिएको छ। नयाँ आउने हजार दरको नोट पनि विशेष खालको हुने राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंकका अनुसार अहिलेको सय दरको नोटमा एउटा गैंडाको सट्टा नयाँ नोटमा चितवनमा पाइने बच्चासहित गैंडाको तस्बिर राखिएको छ। यसैगरी अहिलेको ५० रुपैयाँको नोटमा हिमाली भेगको भेंडाको सट्टा नयाँमा नेपालमा पाइने हिमचितुवा राखिएको छ।

अहिलेको २० रुपैयाँ दरको नोटमा साम्भर डियरको सट्टा नयाँ नोटमा चितवनमा पाइने १२ सिङे राखिएको छ।

नेपालका जनावर अंकित नोट पहिचान गर्न सहज होस भनी यस्तो परिवर्तन गरिएको मुद्रा व्यवस्थापन विभागका प्रमुख कँडेलले बताए। 'अहिलेका नोटमा राखिएका जनावर अन्य देशमा पनि थिए,' उनले भने, 'नयाँ प्रचलनमा आउने नोटमा चितवनमा पाइने लोपोउन्मुख जनावर राखिएको छ।' यसले नोट पहिचान गर्न सहज हुनेछ। नयाँ नोटमा सुरक्षा धागो पनि विशेष चम्किलो हुने कँडेलले जानकारी दिए।

 

प्रकाशित: २३ श्रावण २०७३ ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App