१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सीमापारिको आन्दोलनले नेपाली सिमेन्ट उद्योग धरापमा

वीरगन्ज- वीरगन्ज पथलैया करिडोरमा सञ्चालित एक दर्जन सिमेन्ट उद्योग सीमावर्ती भारतीय सहर रक्सोलमा जारी प्रदूषणविरोधी आन्दोलनले जोखिमको अवस्थामा पुगेका छन् । नेपाली सिमेन्ट उद्योगले कच्चा पदार्थ आयात गर्न रक्सोलस्थित रेलवे स्टेसन प्रयोग गर्ने गरेका छन् । त्यहाँ क्लिंकर लगायत ‘डस्टी’ (धुलोयुक्त) कार्गो अनलोड हुँदा त्यसबाट उड्ने धुलोले स्थानीयको जनजीवन नराम्ररी प्रभावित भएको भन्दै स्थानीय संघ–संस्थाले संयुक्त रुपमा आन्दोलन थालेका छन् ।
वीरगन्जसँग जोडिएको यस नाकामा स्थानीय र भारतीय रेल्वेबीच जारी प्रदूषण विवादको चपेटामा नेपाली आयात पटकपटक पर्ने गरेको छ । मुख्य रुपमा नेपालका पर्सा–बारा करिडोरका सिमेन्ट उद्योगले आयात गर्ने क्लिंकर, आइरनओर (फलामको धुलो), जिप्सम, स्लेग, कोइलालगायत कार्गो लोड–अनलोड हुँदा उड्ने धुलोले जनजीवन प्रभावित भएको र मानिस रोगी हुन लागेको आन्दोलनकारीको गुनासो छ ।
‘डर्टी कार्गो’ भनिने यस्ता सामानबाहेक खाद्यान्न, नुन, फलाम उद्योगले कच्चा पदार्थको रुपमा प्रयोग गर्ने विभिन्न खाले फलाम लगायत वस्तु यही बाटो भएर नेपाल आउँछ । अहिले रक्सोलका संघ–संस्था र अगुवाले सुरु गरेको आन्दोलन अन्तर्गत आउँदो पुस १० (२५ डिसेम्बर) देखि नेपाल–भारत नाका नै अवरोध गर्ने तय गरिएको छ ।
‘हामीले अहिले जागरण सभा, खबरदारी सभा गरिरहेका छौं, यो हाम्रो जीवन–मरणको सवाल हो; त्यसकारण यसपटकको आन्दोलन निष्कर्षमा पु¥याएर मात्रै रोकिन्छ,’ आन्दोलनका संयोजक महेशकुमार अग्रवालले भने, ‘डिसेम्बर २५ देखि नेपाल–भारत पारवहन हुने नाका हामी ठप्प पार्नेछौं ।’ ठिक एक वर्षअघि यसै मुद्दामा आन्दोलनकारीले पोहोर मंसिर २६ मा नाका ठप्प पार्दै धर्ना बसेका थिए । स्थानीय प्रशासनले समाधानको प्रतिबद्धता जनाएपछि धर्ना स्थगित गरिए पनि आन्दोलनका माग भने यथावत छन् । कि धुलो उड्ने कार्गो त्यहाँ अनलोड गर्न बन्द गर्नुपर्ने वा रेलवेले धुलो नियन्त्रण गर्न सक्ने संरचना निर्माण गर्नुपर्ने दुईवटा सर्त स्थानीयले राखेका छन् । रक्सोलस्थित रेल यार्डमा व्यवस्थित संरचना निर्माणको माग नेपाली आयातकर्ताले पनि राख्दै आएका छन् ।
‘मुद्दा गम्भीर छ, प्रभावित क्षेत्रमा स्वासप्रस्वासका बिरामीको संख्या ह्वात्तै बढेको छ, धुलोले घर, आँगनमा बसेर खाना खान सक्ने स्थिति छैन,’ स्थानीय युवा अगुवा दिपक अग्निरथले भने, ‘स्वासप्रस्वास सम्बन्धी रोगबाट मर्नेको संख्या रक्सोलमा धेरै छ ।’ अग्निरथ नेपालको सिर्सियासम्म रेलको लाइन विस्तार भइसकेकाले नेपाल आफैंले त्यस्तो डस्टी कार्गो अनलोडको व्यवस्था गर्नुपर्ने तर्क गर्छन् । रक्सोलमा अनलोड भइरहेको डस्टी कार्गोका लागि त्यहाँबाट १५ किलोमिटर दक्षिणमा रहेको रामगढवामा बेग्लै यार्ड बनाउन भारत सरकारले प्रक्रिया थालिसकेको छ । त्यहाँका नेता अर्जुनसिंह भारतीको नेतृत्वमा एउटा छुट्टै स्थानीय अगुवाको समूहले डस्टी कार्गो अनलोड हुन नदिन पहिलेदेखि नै आन्दोलन थालिसकेका छन् ।
सीमापारि जारी आन्दोलनले नेपाली उद्योगी तथा आयातकर्ता चिन्तित बनेका छन् । यसले नेपाली सिमेन्ट उद्योगलाई बढी प्रभाव पर्ने र अर्बौंको लगानी समस्यामा पर्ने नारायणी सिमेन्ट उद्योगका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र ठाकुर बताउँछन् । ‘बैंकको ऋण लगानीमा यहाँ दर्जनभन्दा बढी उद्योग सञ्चालनमा छन्, अहिले अर्बौंको लागनी डुब्ने खतरा छ,’ ठाकुरले भने, ‘त्यो राष्ट्रिय पुँजी जोगाउन सरकार, राजनीतिक दल र उद्योग वाणिज्य महासंघ तथा संघ सक्रिय हुनुपर्ने बेला आइसकेको छ ।’
पर्सा–बारा औद्योगिक करिडोरमा मात्र दर्जन जति सिमेन्ट उद्योग छन् । प्रतिदिन दुई सय ५० टनदेखि एक हजार ५० टनसम्म सिमेन्ट उत्पादन क्षमता भएका ती दर्जन उद्योगले दैनिक करिब आठ हजार टन सिमेन्ट प्रतिदिन उत्पादन गर्छन् । ती उद्योगले करिब १५ देखि २० प्रतिशत स्वदेशी क्लिंकर र बाँकी भारतबाट आयात गरेर सिमेन्ट तयार गर्ने गर्छन् । अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपिसी), पोजोलोना पोर्टल्यान्ड सिमेन्ट (पिपिसी) र स्ल्याग सिमेन्ट मुख्यरुपमा यहाँ उत्पादन हुने गरेको छ । सबैथरी सिमेन्ट उत्पादनका लागि क्लिंकर मुख्य कच्चा पदार्थ हो । क्लिंकरबाहेक सिमेन्ट उद्योगलाई चाहिने अरु कच्चा पदार्थ ‘स्ल्याग’, ‘फ्लाइ–एस’ र ‘जिप्सम’ पनि सबै भारतबाटै आयात हुने गरेको उद्योगी बताउँछन् ।

प्रकाशित: २७ मंसिर २०७४ ०५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App