१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उदयपुर-१ मा खड्काको ‘ह्याट्रिक’

उदयपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का उदयपुर प्रतिनिधिसभा १ मा विजयी भएका छन्। सोमबार विहान ९ः०० बजेको सार्वजनिक अन्तिम मत परिणाम अनुसार वाम गठबन्धनकी उम्मेदवार एमाले नेतृ मञ्जु चौधरीलाई ५ सय ४७ मतको अन्तरले हराउँदै खड्का विजयी भएका हुन्। 

खड्काले ३३ हजार १ सय ४२ मत पाएका छन् भने चौधरीले ३२ हजार ५ सय ९५ मत पाएकी छिन्। सुरुवाती चरणदेखि झिनो बहुमतले अग्रता लिएका खड्कालाई मत गणना सुरु भएको ३ घण्टादेखि चौधरीले उछिन्न थालेकी थिइन् । प्रत्येक गणनामा एकार्कालाई पछि पार्दै अघि बढेका खड्का र चौधरीको निर्णायक मतान्तर त्रियुगा नगरपालिका क्षेत्रको गणनाबाट बढ्दै गएको हो। 

खड्काको यो जित ‘ह्याट्रिक’ हो । यसअघि ०६४ र ०७० को दुवै संविधानसभा चुनावमा विजयी भइसकेका खड्कालाई यो पटक चौधरीको सामना गर्न भने निकै ठूलो पापड बेल्नु परेको थियो । ०७० को दोस्रो संविधानसभा चुनावमा साविक २ नम्बर क्षेत्रबाट कांग्रेसकी प्रमिला राईलाई २३ मतको अन्तरले पराजित गरेकी चौधरीको विजयप्रति गठबन्धन शतप्रतिशत विश्वस्त थियो । स्थानीय तह चुनावमा खसेको मतको आधारमा  काँग्रेस भन्दा एमाले माओवादीको मत मिसाउँदा १७ हजार बढी रहेकाले ‘ओभर कन्फिडेन्ट’ का कारण पराजित हुनुपरेको ठहर वाम शक्तिले गरेको छ। 

१७ हजारमध्ये ८ हजार मत खड्काले ल्याए पनि बाँकी १ हजारले चौधरी जित्नेमा निश्चिन्त रहेको आँकडामा रहेको गठबन्धन यो परिणामले मर्माहत भएको छ । दुई पार्टीबीचको गठबन्धनबाट हौसिएका वामपन्थी शक्तिले पराजय भोग्नुपर्छ भन्ने विषयमा सोँच्नै नसोचेको परिणाम प्राप्त भएको छ । एमाले केन्द्रीय लेखा संयोजक तथा चौधरीको अगुवा चुनावी अभियन्ता विष्णुबहादुर राउत अनपेक्षित परिणामले मर्माहत बनाएको बताउँछन् । एमालेभित्रकै अन्तरघातका कारण चौधरी पराजित हुनुपरेको ठोकुवा उनको छ। 

‘यस्तो परिणाम आउला भनेर कल्पनै गरेका थिएनौं’ चौधरीको पराजयपछि राउतको गुनासोयुक्त प्रतिक्रिया थियो ‘हाम्रा जिल्ला नेतृत्वबाट गम्भीर अन्तरघात हुन गएको भन्ने मेरो ठहर छ ।’ यसले वामपन्थी शक्तिको राजनीतिमा दूरगामी असर पार्ने अनुमान पनि उनले लगाएका छन्। 

वाम दबदबाकै कारण चुनाव हार्ने आशंकाले ३ दिनअघि नै राजधानी फर्केका खड्का जितको खवरपछि हेलिकोप्टरमा उदयपुर फर्कदैछन् । कांग्रेस कार्यकर्ताका अनुसार झिनै मतले भए पनि चौधरीले पटक पटक पछि पार्दै लगेपछि सकारात्मक परिणामप्रति कमै आशावादी भएर उनी राजधानी फर्केका थिए । ‘डा. साव काठमाडौं फर्किसक्नु भएको थियो, जितेको खवर सुनेपछि अहिले गाईघाट फर्कदै हुनुहुन्छ’ कांग्रेस त्रियुगा नगर सभापति सरोज बस्नेतले भने ‘अहिले हेलिकोप्टरमा आउँदै हुनुहुन्छ।’ 

प्रकाशित: २५ मंसिर २०७४ ०४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App