म्यान्माली नेपालीको कथा

अस्तित्वको मौन लडाइँ

आइतबार, २४ मङि्सर २०७४, ११ : ४४ घिमिरे युवराज

‘बरु भिएस नैपल र नेपालबीच सम्बन्ध भेटिएला तर नाता केलाई हेर्दा पनि म्यानमारका सागर घिमिरेसँग मेरो कतै पारिवारिक साइनो लागेन ।’

मेरो ठट्टामा उनी भावुक भए । कोही पनि नेपालीलाई भेट्दा उनलाई आफ्नै परिवारको सदस्यझैँ लाग्छ रे ।

करिब ११ महिनाअघि होटल डाइमन्डको लबीमा हाम्रो पहिलो भेट भयो र मीठो कफी गफमा टुंगियो । त्यतिखेर उनी एनआरएन म्यानमारको अध्यक्ष पदमा थिए । सन् २००५ मा काठमाडौंमा भएको पहिलो गैरआवासीय संगठनको भेलापछि उनी म्यानमारका लागि अध्यक्षमा चुनिएका थिए। उनको चिन्ता म्यानमारका नेपालीभाषी समाजको उन्नति र समृद्धितिर थियो । उनको स्पष्ट मत छ, ‘हामी खासमा एनआएन होइनौँ, तर संसारभरि छरिएर बसेका नेपाली समुदायलाई जोड्ने एउटा माध्यम भएको हुनाले हामी पनि यसको सदस्य भयौँ ।’

दोस्रोपटक उनले बौद्ध ध्यानगुरु विनमिन ट्विलाई सिडोना होटलको लबीमा अर्को कफी गफमा भेट गराए । जसको सहयोगमा उनले ०७२ का भूकम्पपीडितलाई नेपालमा ठूलो रकमले सहयोग गरेका रहेछन् । ध्यानगुरु र अन्=य दातासहित उनी नेपालका पहाडी गाउँमा पुगेर राहत बाँडेछन् ।

यी ध्यान गुरु कस्ता भने सन् सत्तरीको दशकमा ने विनको निरंकुश सत्ताविरुद्ध बन्दुक उठाएरै लडेका । तर, अहिले अहिंसा परमोधर्म भनेर ध्यानमा लागेका छन् । फाइभ स्टार होटलमा कफी गफमा भेटिने यिनको हातमा एप्पलको लेटेस्ट आइ फोन छ । बौद्ध धर्मको संस्कारमा हुर्किएका असली विपश्यना गुरु ट्वि भन्छन्, ‘सुविधा उपयोग गर तर त्यसमै मरिहत्ते नगर । डिट्याचमेन्ट सबैभन्दा ठूलो कुरा हो ।’

उनीसँगको छोटो भेटमा जीवन र जगत्का अनेकौँ कुरा भए । यिनको बोल्ने तरिका र सालीन व्यक्तित्वले जोकोहीलाई आकर्षित गर्छ । सबैभन्दा बढी प्रभाव सायद सागर घिमिरेमा परेको छ । उनी सागरझैँ शान्त छन् ।

सागर घिमिरेका अनुसार पुर्खाहरू नेपालबाट म्यानमार तीन किसिमले भित्रिए– सैनिकका रूपमा, अंग्रेजहरूको माइन फ्याक्ट्रीमा माइन खन्ने मजदुरका रूपमा र किसानका रूपमा।

‘फस्र्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन’ भन्ने उक्ति अचेल प्रायः गलत साबित हुने गर्छ । केही भेटमा मात्रै मान्छेको असली रुप देखिन्छ । तर, ख्याउटे ज्यानका यी हँसिला व्यक्तित्वले पहिलो भेटमा जसरी सकारात्मक प्रभाव छाडे, त्यसपछिको पटकपटकको भेटले त्यस उक्तिलाई चरितार्थ गरिछाड्यो । त्यसैले म उनीसँग लामो वार्ताको अपेक्षामा रहेँ । उनी आफ्ना विशेष योजना सुनाउन चाहन्थे, जसका लागि पर्याप्त समयको खाँचो थियो ।

संसारभरबाट म्यानमार आउने नेपालीहरू नेपाली दूतावास कति पुग्छन्, थाहा छैन । तर, सिंगै दूतावासजस्तो भएर बसेका माउ विन (बर्मेली नाम) अर्थात् सागर घिमिरेलाई नभेटी फर्किने सायदै होलान् । नेपाली समाजसँग जोडिएका व्यवसायी, समाजसेवी, कलाकार, साहित्यकार सबै उनी कहाँ ठोक्किन आइपुग्छन् । म पनि त्यसरी नै उनीसम्म ढोक्किन पुगेँ।

डा. सन्दुक रुइतको आँखा शिविरको आयोजनादेखि स्कुले केटाकेटीलाई कलम कापी बाँड्ने कामसम्ममा उनी देशभर कुदिरहेका हुन्छन् । उनका साथीहरू भन्ने गर्छन्, ‘सागरजी यात्रा धेरै गर्छन् ।’

उनी भन्छन्, ‘यात्राले मान्छेलाई सिर्जनशील बनाउँछ ।’ म्यानमारभरि उनी समाजसेवाकै लागि कुदिरहन्छन् । नेपाल त उनका लागि पानी पँधेरै भइगयो । समाजसेवा र कामकै सिलसिलामा थाइल्यान्ड, मलेसिया, जापान कुदिरहन्छन् ।

फुर्सदिलो गफका लागि बल्लतल्ल संयोग मिल्यो । गत नोभेम्बर १५ मा उनले यांगुनको आफ्नै निवासमा निम्तो दिए । निवासमा पुग्दा उनी आफ्नो वर्षौंदेखिको नियतिबाट मुक्त थिएनन् । भारतको असामबाट आएका असाम गोर्खा सम्मेलनका तुल्सीप्रसाद शर्मा र दन्दीप्रसाद कोइरालासँग गफिँदै थिए । उनले उक्त भेटघाटलाई चाँडै बिट मारे र हामी गफिन थाल्यौँ ।

‘के म्यानमारमा हामी यस्तो समाज बनाउन सक्दैनौँ ? यहाँका दुई लाख म्यान्मा नेपालीहरू पूर्ण शिक्षित होऊन् । यहाँको नेपालीभाषा समृद्ध होस् । सबै म्यान्मा नेपाली सम्पन्न होऊन् ।’ उनले यो सबै आकांक्षालाई एउटै वाक्यमा भन्ने कोसिस गरे, ‘म्यान्माका नेपालीलाई गर्भमा भएदेखि नमरुन्जेलसम्म अभाव नहोस् ।’

सुन्दा निकै सुन्दर लाग्ने यो सपना पूरा गर्न कति गाह्रो छ ? उनको ऊर्जा देखेर उनका अगाडि निराशाजनक कुरा गर्ने स्थितिमा म थिइनँ । मेरो मौनतालाई चिर्दै उनले भने, ‘सम्भव छ, असम्भवजस्तो लागे पनि सम्भव बनाउनुपर्छ ।’

यति ठूलो देशमा अल्पसंख्यक भएर बसेका छन्, नेपालीभाषी । अदृश्य रुपमा उनीहरू आफ्नो भाषा, संस्कृति र जातीय अस्तित्वको लडाइँमा छन् । यो पहिचानको सगोल नाम के हुन सक्ला ? मेरो मनमा यस्तै प्रश्न थियो ।

म्यान्मारका गोर्खाली नेपाली नागरिक ? कि म्यानमारका गोर्खाली ? म्यानमारका नेपाली ? कि म्यानमारका नेपाली हिन्दू ? यी शब्दहरूबीच यो समाज अन्तक्र्रिया र मन्थनमा छ । संसारको कुनै पनि कुनामा पुगे पनि मान्छेको सबैभन्दा ठूलो आधार उसको पहिचान र सांस्कृतिक अस्तित्व रहेछ । यस देशमा अझै पनि नेपालीभाषीले पहिचानको कुरा उठाउनु ठूलो खतरा मोल्नु हो । अचम्म लाग्दो कुरा के छ भने कमजोर वा अल्पसंख्यकहरू आफूलाई जे सम्बोधन गरिँदा सम्मानित ठान्छन्, शक्तिमा हुनेहरूले त्यसमा सहमति जनाउँदैनन् ।

नेपालभित्र कैयौँ जाति, भाषा र संस्कृति यसैका लागि वर्षौंदेखि लडिरहेका छन् । लोकतन्त्र आएको भनेको देशमा त धेरै समुदायले खुम्चेर बस्नुपरेको छ । म्यानमार त भर्खर प्रजातन्त्रको बाटोतिर हिँड्दै छ । उनका अनुसार तुलनात्मक रूपमा अन्य मूलका म्यान्मा नागरिकभन्दा नेपाली मूलका म्यान्माले म्यानमार सरकारबाट माया र सद्भाव पाएको छ । तर त्यसमा पनि उसका आफ्नै सीमा छन् । राज्यसत्ताको परिवर्तनसँगै म्यानमार नयाँ युगमा प्रवेश गर्दा नेपाली समुदायले पनि अझै न्याय पाउँछ भन्ने अभियन्ताहरूको धारणा छ यहाँ । त्यसो त कचिन, छिन जस्ता आदिवासी सम्बोधन पाएका नागरिकहरू अझै राज्यसत्तासँग सशस्त्र भूमिगत लडाइँमा छन् ।

घिमिरेले आफ्नो नागरिकता झिके । नागरिकतामा धर्म खुलाइएको हुँदो रहेछ । जातिको ठाउँमा गोर्खाली लेखिएको रहेछ । गोमा (सागरकी पत्नी)ले भनिन्, ‘मेरो नागरिकतामा पनि गोर्खाली लेखिएको छ ।’

‘हाम्रो संस्थाभित्र भने हालसम्म गोर्खाली हिन्दू भनेरै चलाइएको छ तर यसको निक्र्योलमा हामी चाँडै पुग्दै छौँ,’ घिमिरेले भने । यतिखेर उनी यस्ता उल्झन सुल्झाउने स्थानमा छन् ।

एनआरएन अध्यक्षको उनको कार्यकाल पूरा भएर नयाँ अध्यक्ष आएका छन् तर सागर घिमिरेमाथि झन् ठूलो जिम्मेवारी थपिएको छ । गत मेमा भएको नेपालीभाषीको सम्मेलनले उनलाई अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघको केन्द्रीय अध्यक्ष चुनेको छ । हाल म्यानमार देशभरिमा यस संस्थाको ३५ वटा शाखा र दुई सय दुईवटा प्रशाखा छन् । म्यानमारभरि तीन सय ३० वटा टाउनसिप छन् । त्यसमध्ये ३४ वटा टाउनसिपमा ३५ वटा शाखा छन् । यही संस्थामार्फत म्यानमारका बहुसंख्यक नेपालीभाषी एउटै छातामुनि छन् । यसभित्र पनि खटपटी र अप्ठेरा छन् । त्यसलाई चिर्दै संस्थालाई समुदायको हितमा बलियो बनाउने उनको विश्वास स्वेडागोनझैँ टल्किरहेको छ ।

इतिहासलाई हेर्दा म्यानमारमा पहिलोपटक सन् १९४७ मा अखिल बर्मा नेपाली संघको नाममा नेपालीभाषीको संगठन बनेको देखिन्छ । जसको संस्थापक अध्यक्ष थिए, अत्तर सिंह क्षेत्री । फेरि उनकै अध्यक्षतामा सन् १९५२ मा अर्को संस्था अखिल बर्मा गोर्खा संघ बन्यो । त्यसैगरी सन् १९५२ मै मनबहादुर लिम्बुको अध्यक्षतामा अल बर्मा गोर्खा संघ बनेको देखिन्छ । फेरि मेजर भागिमान सुब्बाको अध्यक्षतामा सन् १९५७ मा संयुक्त नेपाली गोर्खासंघ र सन् १९६१ मा प्यीठाउँसु (युनियन) गोर्खा संघ बनेको इतिहास छ । यसरी नै नेपालीभाषी संगठित हुने र आफ्नो जातीय, भाषा र संस्कृतिको संवद्र्धनका लागि एकजुट हुने अभियान चलिरहेको थियो । सन् १९६२ मा देशको सम्पूर्ण अधिकार र शासन शक्ति तत्कालीन सैनिक जनरल ने विनले आफूमा लिएपछि उथलपुथल भयो । निजी व्यापार व्यवसाय सबै सरकारीकरण गरियो ।

यही बखतदेखि सबै सामाजिक संघसंस्थालाई प्रतिबन्ध गरियो । त्यस कानुनले नेपालीभाषीलाई मात्रै होइन, देशका अन्य जाति र समुदायलाई पनि त्यसरी नै असर गर्‍यो।

सन् १९८२ मा फेरि धर्मको नाम दिएर नेपालीभाषीको संस्था बन्यो, अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघ । यसको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो, लेफ्टिनेन्ट कर्णेल दुरा लक्ष्मण राई (दुराको नेपाली अर्थ हुन्छ सुरा । सरकारबाट उनले पाएको सम्मान पदवी हो यो) । त्यसपछि क्रमशः कर्णेल टंकध्वज नेपाल, क्याप्टेन कुलदीप लिम्बु, मेजर पूर्णबहादुर तिवारी यस संस्थाको अध्यक्ष भए । यही संस्थाले आजसम्म निरन्तरता पाएको छ । यसलाई अझै आधुनिकीकरण गर्ने जिम्मा आएको छ, अध्यक्ष सागर घिमिरे र उनको टिमलाई । उनी भन्छन्, ‘देशमा प्रजातन्त्रको सूर्य उदाएको छ, उज्यालोको किरण हामीसम्म आइपुग्ने कुरामा म आशावादी छु ।’

हिजो देशको राजनीतिक कारण धार्मिक नाम दिएर बनेको यस संस्थाले अबका दिनमा कसरी आफूलाई अझै समृद्ध र उदार बनाएर यहाँ रहने सबै नेपालीभाषीलाई अटाउन सकिन्छ भन्ने चुनौती छ । आफ्नो कार्य समिति निकै जुझारु र आधुनिक भएको विश्वस्त दिलाउँदै उनी भन्छन्, ‘हाम्रा पुर्खाको योगदान र इतिहासलाई बचाउँदै हामी मान्मारका नेपाली जातिलाई समृद्ध बनाउन चाहन्छौँ ।’

भारतमा झैँ यहाँ पनि नेपालीभाषीहरु एउटा जातिको रूपमा स्थापित हुन खोजेको देखिन्छ । तर, किरात वा अन्य धर्म मान्ने म्यान्मा नेपालीहरू अझै पनि संस्थामा अटाउन नसकेको सत्य गुपचुप छ । यस विषयमा खुलेर कुरा गर्नु पनि स्वभाविक मानिँदैन । अध्यक्ष घिमिरे भन्छन्, ‘हामी एकजुट र समृद्ध हुनैपर्छ । यसले कसैलाई भेदभाव नगरी सामाजिक काम गर्दै आएको छ ।’ यस संस्थाको अध्यक्षता किरात समुदायका अग्रजबाट पनि पटकपटक भएको इतिहास भने धेरै पुरानो होइन । तर, यदाकदा विचार नमिलेर नयाँ संस्था बन्ने क्रम पनि यहाँ देखिन्छ ।

अन्य खाले अन्धविश्वासमा पनि म्यान्मारका नेपाली विश्वमा नमुना बन्न सक्ने उनको सोच छ । उनी भन्छन्, ‘कति कुराको परिवर्तन नेपालबाटै होस् भन्ने लाग्छ ।’ नेपालमा अभ्यास भइरहेको सामाजिक अन्धविश्वास तथा पुरानो ढर्राको धार्मिक अभ्यासको प्रभाव यहाँ बढी छ । उनी थप्छन्, ‘तर नेपालबाट यो परिवर्तन भएन भने हामी म्यानमारबाट पनि सुरु गर्न सक्छौँ । जस्तो कि मृतकको १३ दिने संस्कारलाई छोट्याउने कुरा ।’

उनको फोन बज्दै थियो । त्यही साता छिन प्रान्तको कत्था सहरमा आयोजना हुन गइरहेको नेपालीभाषीहरूको युवा सम्मेलनले उनलाई अलमल्यायो।

छेउमा चुपचाप बसेकी गोमासँग वार्ता गर्ने मौका यही थियो । कामबाट उनी भर्खरै घर आइपुगेकी थिइन् । उनले भनिन्, ‘म रुबीको व्यापारमा छु । देश–विदेशका व्यापारीबीच ब्रोकरको काम गर्छु ।’ त्यसो त म्यानमारको सुन्दर सहर मोगोक र त्यसको आसपास बस्ने प्रायःलाई के गर्नु हुन्छ भनेर नसोधे हुन्छ । पक्कापक्की छ, यहाँका बहु संख्यक नेपाली रुबी वा पत्थरको व्यापारमा संलग्न छन् । उनले भनिन्, ‘म अन्तरी बहिनी हुँ । मेरा मामाहरू र दिदीहरू पनि यही व्यापार गर्ने हुनाले मैले उहाँहरूबाटै सिकेँ ।’

हामी एकछिन पुर्खातिर फर्कियौँ । उनकी आमाका बुवाआमा नेपालबाट आउनुभएको रहेछ । आमाको जन्म म्यान्मारमै भएको रहेछ । बुवा भने नेपालबाट आउनुभएको रहेछ । मोगोकभन्दा केही माइलभित्र तीनफया भन्ने गाउँमा जन्मिएकी गोमाको बाल्यकाल पनि अधिकांश म्यान्मा नेपालीको झैँ खेतीपाती, घरगोठकै परिवेशमा बित्यो । ‘१५, २० वटा गाई, ४०, ५० वटा बाख्रा थिए । करिब तीन माइल हिँडेर स्कुल जानुपथ्र्यो ।’ अरुले झैँ उनले पनि हिउँदेबिदामा चलाउने तीनमहिने नेपाली कक्षामा नेपाली पढ्न–लेख्न सिकिन् ।

उनको जन्म र कर्मथलो नै म्यानमार भयो । म्यानमारकै नागरिक भएपछि भाषा र संस्कृतिकै कारण नेपाललाई मरिहत्ते गर्नुपर्ने कारण उनी देख्दिनन् । तर, केही वर्षअघि बुवाको जन्मथलो खोज्दै भोजपुर पुगिन् । उनी भन्छिन्, ‘रातभरि हिँडेर त्यो विकट पहाड पुगेँ । त्यहाँका रायमाझीहरूलाई भेटेँ तर उनीहरूले वास्तै गरेनन् ।’

उनी केहीपटक नेपाल पुगिन् र आमाका आफन्तलाई पनि भेटिन् तर तितो अनुभव लिएर फर्किन् । आफन्तले पनि भेट्दा खासै वास्ता नगरेपछि नेपालका मान्छे नै चिसा हुन् कि जस्तो उनलाई लागेको छ । ‘यहाँ त गाउँलेलाई पनि हामी वास्ता गर्छौं । त्यहाँ त भावनै नभएको जस्तो महसुस भयो मलाई । नरिसाउनु होला तर मैले मनमा लागेको कुरा भनेकी हुँ ।’

कुरा सुन्दा गोमाको चित्त निकै दुखेको महसुस हुन्थ्यो । म्यान्माली नेपालीले पाहुनालाई महŒव दिएको देख्दा मलाई पनि हामी साँच्चै चिसाउन थालेछौँ जस्तो महसुस भयो ।

सागर दाइ फोन वार्ताबाट फुर्सद भए । उता भान्सामा नेपाली पाराको खान्की तयार रहेछ । घरकी सहयोगी रहिछन्, तामिल किशोरी गीता । गोमाले भनिन्, ‘ऊ पनि हिन्दू हो, त्यसैले नाम हामीहरूसँग मिल्छ । यस मुलुकमा एकअर्कालाई जोड्ने माध्यम धर्म र जाति भएको छ ।’

पुर्खाको कुरा निस्की गयो । सागरदाइतिर मेरा जिज्ञासा मोडिए । आफ्ना पुर्खा गुल्मीबाट आएका भन्ने उनले सुनेका हुन् । कलकत्ता हुँदै कालापानीको बाटो म्यानमार छिरेका रहेछन् । तर, नेपालमा अहिले परिवारका मान्छे कोही छैनन् । ब्रिटिस सामाज्यबाट मुक्त भएपछि म्यान्मार सरकारले धेरै एफआरसी (म्यान्मारमा बसेका विदेशी)लाई नागरिकता दियो । तर उनका बाआमाले एक दिन नेपाल फर्किनु छ भनेर म्यानमारको नागरिकता लिनुभएन ।

सागर भन्छन्, ‘टन्न सम्पत्ति कमाएर नेपाल फर्कने भन्ने आसमा उहाँहरू बस्नुभयो । न टन्न सम्पत्ति भयो, न नेपाल फर्किइयो, न त बसेको ठाउँको नागरिकता हात लाग्यो ।’ यहाँको राजनीतिक अस्थिरताका कारण यस्तो दोधारमा थिए, उनका बुबाआमाका पुस्ता । धेरै नेपालीभाषीलाई एक दिन नेपाल फर्किइन्छ भन्ने नै थियो । सैनिक शासनले झन् भय थप्यो । नागरिकता पाउन त्यति सहज भएन । फेरि सन् १९८० मा लेफ्टिनेन्ट कर्नेल दुरा लक्ष्मण राईको ठूलो प्रयासले धेरै नेपालीले नागरिकता प्राप्त गरे । सागर भन्छन्, ‘जुन देशमा जन्मिइयो, हुर्किइयो । पसिना र रगत बगाइयो, त्यही देशमा अनागरिक भएर बन्नुप¥यो भने त जिन्दगी चलाउन गाह्रो हुन्छ । त्यसैले हामीले नागरिकतालाई विशेष महŒव दियौँ । ‘राज्यले समस्या सिर्जना गर्ला भनेर गुपचुप राखिएको अहिलेको एउटा समस्या नागरिकता पनि हो । अझै केही नेपालीभाषीले यहाँको नागरिकता पाइनसकेकाले अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक संघले यस समस्यालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ । अध्यक्ष घिमिरे भन्छन्, ‘चार–पाँच पुस्तादेखि यहाँ बस्तै आएका नागरिकले पनि नागरिकता नपाएको अवस्था छ । छुटपुटमा रहेकालाई पहिला नागरिकता दिलाएर कानुनी अधिकार प्राप्त गराउनु हाम्रो ध्येय हो । त्यसपछि समानान्तर रूपमा शिक्षा, स्वास्थ्य र चेतना अभिवृद्धिमा काम गरिहेका छौँ ।’

सागर घिमिरेका अनुसार पुर्खाहरू नेपालबाट म्यानमार तीन किसिमले भित्रिए– सैनिकका रूपमा, अंग्रेजहरूको माइन फ्याक्ट्रीमा माइन खन्ने मजदुरका रूपमा र किसानका रूपमा । यसरी आएका नेपालीको कुनै राजनीतिक अभिप्राय थिएन । उनी भन्छन्, ‘कानुनका बारेमा नजानेर र आफ्ना कागजात सम्हाल्न नसकेका कारण पनि धेरै नागरिकले नागरिकताको लागि समस्या पाएको देखिन्छ ।’

म्यान्डले विश्वविद्यालयबाट स्नातक गरेका घिमिरेको काठमाडौसँग गजबको सम्बन्ध बस्यो । मातृभूमि सेवक संघ नामक संस्थामार्फत उनी सन् १९९० देखि ०९७ सम्म काठमाडौं बसे । हिन्दू विद्यापीठमा उनले ६ वर्ष पढ्ने–पढाउने काम गरे । यही बेला उनले ताहाचल क्याम्पसबाट बिएड गरे । अचेल काठमाडौं जाँदा उनलाई त्यस बखतको सडक, गल्ली र घरहरूको खुब झझल्को आउँछ । भन्छन्, ‘त्यतिखेर भर्खर नेपालमा राजनीतिक परिवर्तन भएको थियो ।’ ती दिनलाई सम्झँदै उनी भन्छन्, ‘हामी म्यान्मारमै जन्मियौँ, हुर्कियौँ । हामीलाई यही माटोको माया छ । तर, नेपाल र नेपालीलाई पनि हामी असाध्य माया गर्छौं ।’

अर्को संयोग गोमा र उनको पहिलो भेट नेपालमै भयो । करिब दुई दशक लामो दाम्पत्य जीवनको रोमाञ्चक यात्राको सुरुवाती दिनलाई सम्झँदै गोमा भन्छिन्, ‘मेरी फुपूको घर काठमाडौंको नक्सालमा थियो । फुपूले नै उहाँसँग भेट गराउनुभयो ।’ सागर गीत गुनगुनाउँछन्–

देखेकोले हुन्न हजुर,

लेखेको नै चाहिन्छ  ।

बिहे वा आफ्नो कर्म थलोबारे सागर निश्चित थिएनन् । तर, परिवारको सल्लाहलाई उनले आत्मसात गरे र बिहेकै लागि उनी सन् १९९७ मा म्यानमार फर्किए ।

अचेल साथीहरूसँग मिलेर मिनिरल वाटरको फ्याक्ट्री चलाएका उनी खासमा अचेल समाजसेवामै व्यस्त छन् । गोमालाई औँल्याउँदै उनी भन्छन्, ‘उनले सबै कुरा सम्हालेकाले मैले यसरी कुद्न भ्याएको छु ।’

आजभन्दा दुई दशकअघि यहाँ अन्तर्जातीय विवाह गर्नु ठूलो चुनौती थियो । उनीहरूको विवाह आफैँमा सामाजिक क्रान्तिजस्तो थियो । निकै समझदारी र सन्तुलनमा चलेको यो जोडी आफ्नै मेहनत र संघर्षले म्यान्मार मुलुकमा एउटा प्रतिष्ठित जीवन बाँचिरहेको छ ।

करिब दुई लाख नेपालीको समृद्धि र उत्थानका लागि अनेकौँ सपना बुनेका छन्, सागरले । म्यान्माली नेपाली युवाको स्थिति कहालीलाग्दो छ । हरेक घरबाट १६ वर्ष नटेक्दै युवाहरू पढाइ छाडेर मजदुरी गर्न थाइल्यान्ड पुगेका छन् ।  

‘बौद्ध भिक्षु’जस्ता शान्त लाग्ने सागरमा रात ढल्कँदै गएपछि चिन्ताका छाल उठ्दै छन् । मैले आजलाई बिदा मागेँ । हिँड्ने बेला घिमिरेले फ्याट्ट सोधे, ‘आउने हप्ता कत्थामा नेपाली युवाको सम्मेलन हँुदै छ जाने हो ?’ मेरो खुसीको सीमा रहेन ।

 

 





यसमा तपाईको मत

अन्य समाचार

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हरेक मानिसको फिंगरप्रिन्ट बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । ...

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा शैक्षिक मेला सम्पन्न भएको छ। इक्यान शैक्षिक मेलाको १३ औ संस्करणलाई साठी...

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा. लि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ। ...

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

Ncell Footer Ad