१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सिटीको अग्रता थप फराकिलो

लन्डन– रहिम स्टर्लिङले ९६औं मिनेटमा गरेको गोलमा म्यानचेस्टर सिटीले बुधबार साउथह्यामटनलाई २–१ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा अग्रता थप फराकिलो पारेको छ।

मध्यान्तरपछिको दोस्रो मिनेटमा केभिन डि बु्रयनाले फ्रि–किकमा गरेको गोलमा सिटीले अग्रता लिएको थियो ।  खेल सकिन १५ मिनेट बाकी रहँदा ओरिलो रोमेयुले गोल गर्दै साउथह्यामटनलाई खेलमा फर्काउने प्रयास गरेका थिए । उनले सोफियाने बाउफलको पासलाई पोस्टको दिशा दिएका थिए । तर अतिरिक्त समयको छैटांै मिनेटमा स्टर्लिङले सिटीका लागि निर्णायक विजयी गोल गरे। 

जारी सिजन प्रिमियर लिगमा सिटीको यो कीर्तिमानी लगातार १२औं जित हो । सबै खाले प्रतियोगितामा सिटीको यो १९औं जित हो।

‘यो खेलको रोमाञ्चक अन्त्य भयो । यस जितले धेरै अर्थ राख्छ,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘हामी लिग जित्न चाहन्छौं, तर खेलको अन्तिम मिनेटमा गरेको गोलमा जोडेको स्पष्ट तीन अंकले विशेष खुसी दिन्छ ।’
यस जितपछि १४ खेलको समाप्तिमा ४० अंक जोडेको सिटी लिगको शीर्ष स्थानमा यथावत् छ । समान खेलमा ३२ अंक जोडेको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ । हारपछि १६ अंकमा सीमित साउथह्यामटन ११औं स्थानमा छ ।
त्यस्तै चेल्सीले स्वान्सी सिटीलाई १–० को नतिजामा पराजित गरेको छ । ५५औं मिनेटमा एन्टोनियो रोडरिग्वेजले गरेको गोल चेल्सीको जितलाई पर्याप्त बनेको थियो।

‘विपक्षी खेलाडी राम्रो खेल्नुभन्दा पनि समय खर्चन बढी केन्द्रित भए । त्यसैले म निराश बनेको थिएँ,’ चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले भने, ‘तर मैले माफी मागिसकें, किनभने म गलत थिएँ।’

यस जितपछि १४ खेलको समाप्तिमा २९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ भने ९ अंकमा सीमित स्वान्सी सिटी रेलिगेसन क्षेत्रमा कायम छ । १९औं स्थानमा रहेको टोली सुरक्षित क्षेत्रभन्दा ३ अंकले पछि छ।
यता बुधबार सम्पन्न अर्को खेलमा आर्सनलले हडर्सफिल्डमाथि ५–० को सानदार जित हात पारेको छ।
आर्सनलको जितमा ओलिभर जिरौडले दुई तथा एलेक्सिस सान्चेज, मेसुट ओजिल र अलेक्जेन्डर लाकाजेट्ले समान १÷१ गोल गरेका थिए।

खेलको तेस्रो मिनेटमा लाकाजेट्ले गरेको गोलमा आर्सनलले अग्रता ल्एिको थियो । ६८औं  मिनेटमा जिरौडले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । त्यसको एक मिनेटपछि सान्चेजले टोलीका लागि तेस्रो गोल गरे । ७२औं मिनेटमा ओजिलले गोल गर्दै अग्रता ४–० ले फराकिलो पारे भने खेल सकिन ३ मिनट बाँकी हुँदा जिरौडले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सुखद क्लाइमेक्स दिलाए।

यस जितपछि २८ अंक जोडेको आर्सनल चौथो स्थानमा यथावत् छ । समान खेलमा १५ अंक जोडेको हडल्सफिल्ड १४औं स्थानमा छ।

त्यस्तै लिभरपुलले स्टोक सिटीमाथि ३–० को विजयी नतिजा निकालेको छ । लिभरपुलको जितमा मोहम्मद सालाहले दुई र साडियो मानेले एक गोल गरेका थिए।

१४ खेलको समाप्तिमा २६ अंक जोडेको लिभरपुल पाँचौं र १३ अंक जोडेको स्टोक सिटी १६औं स्थानमा छन्।
यता वाइन रोनीले सिजनको पहिलो ह्याट्रिक पूरा गरेको दिन एभर्टनले वेस्ट ब्रोमलाई ४–० को नतिजामा पराजित गर्दै १३औं स्थानमा उक्लिएको छ । एस्ले विलियम्सले थप एक गोल गरेका थिए।

इङ्लिस प्रिमियर लिगमा बुधबारै सम्पन्न अर्को खेलमा बर्नलीले बर्नामाउथलाई २–१ को नतिजामा हराएको छ।

‘हामी लिग जित्न चाहन्छौं, तर खेलको अन्तिम मिनेटमा गरेको गोलमा जोडेको स्पष्ट तीन अंकले विशेष खुसी दिन्छ।’

प्रकाशित: १५ मंसिर २०७४ ०४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App