१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रियालको कमजोर नतिजा

मड्रिड– स्ट्राइकर गारेथ बेल २ महिनापछि चोटमुक्त हँुदै मैदान फर्किएको दिन मंगलबार रियाल मड्रिडले दोस्रो लेगमा तेस्रो श्रेणीको फ्युन्लाब्राडासँग २–२ को बराबरी खेल्दै कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ।

घरेलु सान्टियागो बेर्नाबेउ मैदानमा सम्पन्न दोस्रो लेगमा गरेको बराबरीपछि पनि रियालले समग्रमा ४–२ को जितका साथ अघिल्लो चरणको टिकट काटेको हो । यसअघि सम्पन्न पहिलो लेगमा रियालले २–० को विजयी नतिजा निकालेको थियो ।
२५औं मिनेटमा लुइस मिल्लाले गरेको गोलमा भ्रमणकारी  फ्युन्लाब्राडाले अग्रता लिएको थियो । ६३औं मिनेटमा ब्रोजा मायोरालले गोल गर्दै रियाललाई खेलमा फर्काए । त्यसको ७ मिनेटपछि ब्रोजाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियाल खेलमा अघि लाग्यो । तर खेलको अन्तिम एक मिनेट सम्हालिन नसक्दा जिनेदिन जिदानको रियाल २–२ को बराबरी नतिजा स्विकार्न बाध्य भएको थियो । अल्भारो प्रोटिल्ला स्वारेजले गरेको गोलमा फ्युन्लाब्राडाले बराबरी नतिजा निकालेको थियो।

त्यस्तै सेल्टा भिगोले एइबारलाई १–० को नतिजामा हराउँदै अन्तिम १६ को यात्रा तय गरेको छ । खेलको अन्तिम मिनेटमा इयागो आसपासले गरेको पेनाल्टी गोल सेल्टा भिगोको जितमा पर्याप्त भयो । यसअघि सम्पन्न पहिलो लेगमा २–१ को जित हात पारेको सेल्टा भिगो समग्रमा ३–१ को जितका साथ अघिल्लो चरण प्रवेश गरेको हो।

मंगलबार सम्पन्न अन्य खेलमा लेभान्टे र लिगानेसले पनि अघिल्लो चरणमा स्थान पक्का गरेका छन्। 
लेभान्टेले जिरोनासँग १–१ को बराबरी खेले पनि समग्रमा ३–१ र लिगानेसले दोस्रो लेगमा हात पारेको १–० को जितपछि समग्रमा ३–१ को जितका साथ अन्तिम १६ प्रवेश गरेका थिए।

यता दोस्रो श्रेणीको न्युमान्सियासँग दोस्रो लेगमा १–१ को बराबरी खेले पनि समग्रमा ३–२ को हार बेहोरेको मालागा प्रतियोगिताबाट बाहिरिएको छ।

 

प्रकाशित: १४ मंसिर २०७४ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App