१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

तलब बढाउन कोहलीको माग

नागपुर– भारतीय टोलीका कप्तान विराट कोहलीले भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसिसिआईसँग खेलाडीको पारिश्रमिक विषयमा सम्झौता गर्न छलफल हुनुअघि पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गरेका छन्। 

यसै वर्ष शीर्ष खेलाडीहरूको पारिश्रमिक दोब्बर बढाएर ३ लाख डलर पु¥याइएको थियो । तर बिसिसिआईले सेप्टेम्बरमा टेलिभिजन अधिकार ठूलो रकममा बेचेपछि खेलाडीले पनि त्यसको राम्रो हिस्सा आफूहरूले पाउनुपर्ने बताएका छन् । बिसिसिआई र भारतीय टोलीका खेलाडीबीच शुक्रबार नयाँ दिल्लीमा नयाँ सम्झौताबारे छलफल हुनेछ। 

बिसिसिआईले सेप्टेम्बरमा रुपर्ट मर्डचको स्टार इन्डिया च्यानलसँग २०१८ देखि २०२२ सम्मको इन्डियन प्रिमियर लिग (आइपिएल) प्रसारणका लागि २ अर्ब ५० करोड डलरको सम्झौता गरेको थियो । खेलाडीको बिसिसिआईसँग सम्झौता सेप्टेम्बर ३० मा सकिइसकेको छ। 

बिसिसिआईका एक वरिष्ठ अधिकारीले पनि खेलाडीले पारिश्रमिक वृद्धिको कुरा उठाइरहेको स्विकारे । उनका अनुसार कोहलीको नेतृत्वमा टिमका तर्फबाट पूर्वकप्तान महेन्द्रसिंह धोनी र वर्तमान प्रशिक्षक रवि शास्त्रीले बिसिसिआईका पदाधिकारीहरूसँग कुरा गर्नेछन्। 

शुक्रबार खेलाडीहरूको प्रतिनिधिमण्डलले बिसिसिआईका प्रशासक विनोद राईसँग नयाँ दिल्लीमा भेट्नेछन् । जहाँ पारिश्रमिक वृद्धिका साथै कोहली स्वयम्ले आलोचना गर्दै आएको अति व्यस्त क्यालेन्डरको विषयमा पनि छलफल हुने बताइएको छ । 
‘पारदर्शी हुनु सबभन्दा राम्रो र स्वस्थ कुरा हो । बिसिसिआई पनि त्यसकै प्रयासमा छ । कोहली र अरू खेलाडीलाई हामी सधै आफ्ना कुरा सोझै मर्यादित रूपमा राख्न अनुरोध गर्छौ । हामी उनीहरूका सबै मागलाई सकारात्मक रूपमा लिएर छलफलमा बस्नेछौं,’ ती अधिकारीले भने। 

प्रकाशित: १३ मंसिर २०७४ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App