१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘खल्ती डिजिटल वालेट’ वीरगन्जमा पनि

वीरगन्ज – नगद नबोकी मोबाइलबाट नै भुक्तानी तथा कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले २०१७ को जनवरीबाट नेपालमा भित्रिएकोे ‘खल्ती डिजिटल वालेट’ मोबाइल एप्लिकेसनबाट अब वीरगन्ज क्षेत्रमा पनि कारोबार गर्न सकिने भएको छ। 

नेपालकै प्राविधिक अन्वेषकहरुले तयार गरेको ‘खल्ती’ नामको यस एप्लिकेसनमा इन्टरनेट, बिजुली, टेलिफोन, मोबाइल लगायतको बिल भुक्तानी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको टिकट, रोजेको चलचित्रको टिकट, फोन, मोबाइल, डिसटिभी रिचार्ज लगायत सुविधा रहेका छन् । यसरी ‘खल्ती’ले पैसा बोकेर हिँड्नुपर्ने झन्झटबाट छुट्कारा दिने यो मोबाइल एप्लिकेसनबाट अब वीरगन्जमा पनि विद्युत् महसुल तिर्ने व्यवस्था मंसिर १ गतेदेखि सुरु भएको छ। 

जानकी टेकनोलोजी प्रालिले सार्वजनिक गरेको ‘खल्ती’ प्रभावकारी हुँदै गइरहेको कम्पनीका सह–संस्थापक अरबिन्द साहले जानकारी दिए । ‘मोबाइल नम्बरका आधारमा दर्ता गरी ‘खल्ती’को सदस्यता लिन सकिने छ,’ उनले भने । ई–बैंकिङको सेवा लिइरहेका वा नलिएका ग्राहकले पनि मोबाइलको ‘खल्ती वालेट’मार्फत कारोबार गर्न सक्ने उनले जानकारी दिए । ‘छिमेकी भारतसहित विश्वका धेरैजसो देशमा समेत डिजिटल वालेटको प्रयोग बढ्दै गएको छ । नेपालमा पनि यसको प्रयोगलाई बाढावा दिएर मानिसले सहजता अनुभूति गर्न सक्ने छन्,’ साहले भने, ‘मोबाइल वालेटका रूपमा सुरु गरिएको ‘खल्तीडटकम’ वेब र एप दुवै भर्सनमा उपलब्ध छ । पेमेन्ट गेट–वेको सहजताले बैंकिङ प्रणालीसँग जोडिन तथा सरकार समेतले महŒव दिएको ‘नगदरहित कारोबार’को अवधारणालाई सार्थक पार्न समेत सहयोग पुग्ने छ ।’ 
खल्तीमार्फत कारोबार गर्न अहिले एनआइसी एसिया, नेपाल इन्भेस्टमेन्ट, माछापुच्छ्रे, मेगा र एनएमबी गरी पाँचवटा बैंकसँग सहकार्य भएको र अन्य बैंकसँग पनि सहकार्य बढाइने उनले बताए । डिजिटल वालेटको प्रयोग सहज र सुरक्षित रहेको कम्पनीको दाबी छ । ‘गुगल’ले समेत वर्ष २०१७ को ग्लोबल गुगल बिजनेस ग्रुप स्टोरी कन्टेस्ट विजेताको रुपमा नेपालको डिजिटल वालेट ‘खल्ती’लाई छनोट गरेको छ । गुगल प्रयोग गरी आफ्नो व्यवसाय वा केही उदाहरणीय काम गर्ने व्यक्ति र कम्पनीलाई प्रोत्साहन गर्न हरेक वर्ष गुगलले यो प्रतिस्पर्धा गराउने गरेको छ।

अब डिजिटल वीरगन्ज
‘खल्ती’कै अगुवाइमा वीरगन्ज महानगरलाई ‘टिजिटलाइजेसन’ गर्ने दुई प्याकेजको कार्यक्रम अगाडि बढेको छ । ‘डिजिटल वीरगन्ज’ अभियान सुरु गरेको ‘खल्ती’का सञ्चालकले स्थानीय स्तरमा दुईवटा कार्यक्रम गर्न लागेको साहले बताए । वीरगन्जको हरेक सडक, गल्ली र ठाउँ मात्र होइन पसल, व्यावसायिक प्रतिष्ठान, उद्योग, मुख्य, प्रसिद्ध ठाउँ, मुख्य सार्वजनिक स्थललाई यस अन्तर्गत ‘इ–म्यापिङ’ (नक्सांकन) गरी गुगलबाट प्रमाणीकरण गर्ने काम भइरहेको नेपालका लागि गुगलका आधिकारिक प्रतिनिधि अमित अग्रवालले बताए । अग्रवाल ‘खल्ती’का एक संस्थापक पनि हुन्। 
उक्त प्रक्रियापछि स्मार्ट मोबाइलमा गुगलमार्फत खोजी गरेर सजिलै कुनै पनि ठाउँमा पुग्न सकिन्छ । वीरगन्ज महानगरलाई आफूहरुले अबको केही महिनाभित्र नक्सांकन गरी ‘टिजिटलाइजेसन’ सकिएर प्रयोगमा ल्याउन बनाई सकिने उनले जानकारी गराए । त्यस्तै डिजिटल शिक्षाका लागि स्मार्टफोन प्रयोगकर्तालाई लक्षित गरी एउटा कार्यक्रम आयोजना गर्न लागेको साहले बताए । ‘महानगरको रुपमा एउटा सहरलाई ‘टिजिटलाइजेसन’ नभई नसुहाउने कुरो हो,’ डिजिटल वीरगन्जलाई सघाइरहेका आसु सर्राफले भने, ‘डिजिटल वीरगन्ज भनेको यो सहरको लागि उपलब्धी हो।’

प्रकाशित: ७ मंसिर २०७४ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App