२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेविसंघ महामन्त्रीका प्रत्यासीको उम्मेद्ववारी घोषणा

काठमाडौं–नेपाल विद्यार्थी संघको आसन्न ११ औं महाधिवेशनका महामन्त्रीका प्रत्यासीले आँफू निर्वाचित भए नेविसंघलाई अनुशासन र मर्यादासहितको गतिशिल विद्यार्थी संगठन बनाउने दाबी गरेका छन्।

बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा महामन्त्रीका प्रत्यासीहरुले आसन्न महाधिवेशन कुनै पनि हालतमा सम्पन्न हुने दाबी गर्दै आफूले जित्ने दाबी गरे। विद्यार्थी नेताले विगत १० वर्षदेखि अन्योलमा रुमल्लिएको नेविसंघलाई निश्चित दिशा दिने प्रतिवद्धता जनाएका हुन्।   ११ औं महाधिवेशन यही साउन २३ देखि २५ गते काठमाडौंमा हुने भएको छ। महाधिवेशन नजिकिँदै गर्दा महामन्त्री पदमा नौजनाले उम्मेदवारी दिने घोषणा गरेका गरेका छन्।

कार्यक्रममा बोल्दै महामन्त्रीका प्रत्यासी मनोज बैद्यले अबको नेविसंघको नेतृत्वले विद्यार्थी आन्दोलनलाई परिमार्जन गर्दै गुणस्तरीय र व्यवहारिक शिक्षाको लागि पहल गर्ने उल्लेख गर्दै आफू यही अभियानका साथ चुनावी मैदानमा उत्रिएको दाबी गरे।
महामन्त्रीका अर्का प्रत्यासी रमेश रिजालले आफू उक्त पदका लागि सक्षम र योग्य उम्मेद्ववार भएकाले विद्यार्थी आन्दोलनलाई सही दिशा दिने र संगठनलाई भरपर्दो र विश्वासिलो विद्यार्थी संगठन बनाउने संकल्प गरे ।

महामन्त्रीकै अर्की प्रत्यासी उर्मिला थपलियाले आफू महिलाभन्दा पनि सक्षम र योग्य भएकै कारण उम्मेद्ववारी दिएको उल्लेख गर्दै भनिन्,‘म महामन्त्रीमा निर्वाचित भएँ भने, नमुना महामन्त्री बनेर देखाउँछु।’ त्यस्तै महामन्त्रीका अर्का प्रत्यासी डिल्लीराज सुवेदीले अहिले नेविसंघ कुहिरोको कागजस्तै भएको आरोप लगाए ।

महामन्त्रीका अर्का प्रत्यासी विनयराम भट्टले समाजमा सकारात्मक प्रभाव पार्ने खालको नेविसंघ बनाउन आफू लागिपर्ने दाबी गरे । महामन्त्रीका अर्का प्रत्यासी युवराज पाण्डेले विद्यार्थी राजनीतिलाई सुदृढ बनाउन, विकृति र विसंगतिलाई अन्त्य गर्दै संगठनलाई अनुशासित र मर्यादित बनाउनका लागि पनि आफ्नो नेतृत्व केन्द्रित रहने दाबी गरे ।

महामन्त्रीकै अर्का प्रत्यासी प्रचण्डविक्रम न्यौपानेले पनि नेविसंघलाई अबको नेतृत्वले सही दिशा दिनुपर्नेमा जोड दिए । उनले विद्यार्थी आन्दोलनको गिरेको शाखलाई पूनः जगाउनुपर्ने धारणा राखे ।

 महामन्त्रीका अर्का उम्मेद्ववार हिमालदत्त श्रेष्ठले नेविसंघलाई समय सापेक्ष र विद्यार्थीको मनमा बस्ने खालको बनाउन पनि आफ्नो उम्मेद्ववारी रहेको उल्लेख गर्दै भने,‘म निर्वाचित भए संगठनलाई यही अनुसार संगठनलाई लाखौं विद्यार्थीको भावना अनुसार नेतृत्व प्रदान गर्छु ।’
महामन्त्रीका अर्का प्रत्यासी मित्र भट्टराईले नेविसंघलाई गुटवन्दीबाट टाढा राख्दै सबै विद्यार्थीहरुको साझा थलोको रुपमा संगठनलाई स्थापित गर्ने दाबी गरे ।

 

 

प्रकाशित: १९ श्रावण २०७३ १०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App