१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इटाली छनोट हुन असफल

मिलान – इटालीका गोलकिपर जियानलुइजी बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनका लागि उपयुक्त समय मानेका थिए, रसिया विश्वकप २०१८ । कीर्तिमानी छैटौं पटक विश्वकप खेलेसँगै खेलाडी जीवनबाट इटालीको जर्सी सदाका लागि थन्क्याउने मुडमा थिए बुफोन। 

तर, योजना र सपना सधैं कहाँ साकार हुन्थ्यो र ! ६ वटा विश्वकप खेलेको कीर्तिमान बनाउने भाग्य बुफोनको निधारमा थिएन । सोमबार एसी मिलानस्थित सान सिएरो रंगशालामा इटालीले स्विडेनको  पोस्टमा धावा बोल्न नसक्दा इटालीको रसिया यात्रामा पूर्णविराम लाग्यो । रसिया पुगेर इटालीको जर्सी फुकाल्न अघि बढेका बुफोनको पाइला सानसियरो रंगशालामै रोकियो। 

विश्वकप छनोटको दोस्रो प्लेअफमा इटालीले स्विडेनसँग गोलरहित बराबरी खेलेपछि समग्रमा १–० को हार स्विकार्न बाध्य भयो । यससँगै ६० वर्षमा पहिलो पटक इटाली विश्वकपमा छनोट हुन असफल रह्यो । उरुग्वेमा भएको १९३० को विश्वकप नखेलेको इटाली स्विडेनमा सम्पन्न १९५८ को संस्करणमा छनोट हुन असफल रहेको थियो । त्यसयता सबै संस्करणमा सहभागिता जनाएको ४ पटकको विश्वविजेताले घरेलु मैदानमा गोल गर्न नसकेपछि रसियाको टिकट काट्न सकेन । आफ्नै कप्तानीमा इटालीलाई फुटबलको कुम्भमेलामा सहभागी गराउन नसकेपछि बुफोनले आँसु थाम्न सकेनन्। 

‘मेरो अन्तिम खेलले नै विश्वकप छनोट नहुने निर्णय गर्‍यो । जुन सहन कठिन हुन्छ,’ गहभरि आँसु बनाएका इटालीका कप्तान बुफोनले भने, ‘म क्षमा चाहन्छु । तर, मेरा लागि होइन इटालीका लागि । हामी विश्वकपजस्तो महत्त्वपूर्ण प्रतियोगितामा सहभागी हुन सकेनौं । यसले पछुतो लागिरहेको छ ।’

जनवरीमा ४० वर्ष पुग्ने बुफोनले फ्रान्समा पहिलो पटक १९९८ को विश्वकप खेलेका थिए । त्यति बेला उनी दोस्रो रोजाइमा पर्थे।

प्रकाशित: २९ कार्तिक २०७४ ०३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App