१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सनको प्रदर्शनमा टोटेनह्याम विजयी

लन्डन– दक्षिण कोरियाका सन ह्युङ–मिनले गरेको गोलमा टोटेनह्यामले आइतबार इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ।

घरेलु मैदान वेम्बलीमा सनले ६४औं मिनेटमा मिनेटमा गरेको गोल टोटेनह्यामलाई तीन अंक दिलाउन पर्याप्त बन्यो । जितपछि ११ खेलबाट २३ अंक जोडेको टोटेनह्याम तेस्रो स्थानमा छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको पनि समान २३ अंक भएपछि गोलअन्तरको आधरमा दोस्रो स्थानमा छ । १० खेलबाट २८ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ।

लिभरपुलले उच्च फर्म प्रमाणित गर्ने क्रममा शनिबार वेस्ट ह्यामलाई ४–१ ले हराएर विपक्षी टोलीका प्रशिक्षक स्लाभेन बिलिकमाथिको दबाब थपेको छ। 

मोहम्मद सालाहले दुई तथा जोइल माटिप र एलेक्स ओस्क्लाडे चेम्बरलिनले १÷१ गोल गरेपछि लन्डन भ्रमणमा निस्केको योर्गान क्लोपको लिभरपुलका लागि जित सहज बनेको थियो । २१औं मिनेटमा लिभरपुलको खाता खोलेका सालाहले समय सकिन १५ मिनेट बाँकी रहँदा चौथो गोल गरेका थिए । यसबीचमा माटिपले २४ तथा चेम्बरलिनले ५६औं मिनेटमा गोल गरेका थिए। 

घरेलु टोलीका लागि म्यानुअल लान्जिनीले ५५औं मिनेटमा एउटा गोल फर्काएर खेल २–१ को बराबर अवस्थामा ल्याएका थिए । तर लिभरपुलको उच्च लयसामु वेस्ट ह्यामको पुनरागमन प्रयास असफल साबित भयो। 

वेस्ट ह्यामका प्रशिक्षक बिलिकले आफूमाथि दबाब थपिएको स्विकार्दै क्लब अध्यक्षसँग यस विषयमा कुराकानी गर्ने बताए । ‘यो हाम्रो पहिलो हार होइन । घरेलु मैदानमै यो लगातार दोस्रो हार हो । त्यसैले म अध्यक्षसँग यो हारको विषयमा कुरा गर्छु । मलाई आफैंमाथि विश्वास छ । अध्यक्षसँगको कुराकानीपछि म भविष्यबारे निर्णय लिनेछु,’ बिलिकले भने । 
लिभरपुलका प्रशिक्षक क्लोपले टोलीको प्रदर्शनबाट आफू उत्साहित रहेको बताउँदै भने, ‘यस्तो नतिजाले खुसी दिन्छ । टोलीले मैदानमा देखाएको प्रतिक्रिया उत्साहजनक छ । हामी काउन्टर अट्याकमार्फत गति लिने रणनीतिमा थियौं । त्यो पूर्ण रूपमा सफल भएको छ।’

संघर्षरत वेस्ट ब्रोमको विजयरहित यात्रा नवौं लिग खेलसम्म लम्बिँदा टोली १० जनामा सीमित भएर खेलको अन्त्य गरेको हडर्सफिल्ड टाउनसँग १–० को नतिजामा निराश भयो । राजिव भान ला पाराले मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा गरेको एउटै गोल हडर्सफिल्डको जितलाई पर्याप्त भयो । ५७औं मिनेटमा क्रिस्टोफर साइन्डलरले दोस्रो पहेंलो कार्ड सामना गर्दै मैदान छोडेपछि हडर्सफिल्ड १० जनामा सीमित भएको थियो। 

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा बर्नमाउथले न्युक्यासल, बर्नलीले साउथह्याम्पटन तथा ब्राइटनले स्वान्सीमाथि १–० को समान अन्तरमा जित हासिल गरे । बर्नमाउथको जितमा इन्जुरी समयमा स्टिभ कुकले गरेको गोल निर्णायक बन्यो भने बर्नलीले साम भोक्सको गोलमा जित हासिल गरेको थियो । यसै गरी ब्राइटनलाई ग्लेन मरेले २९औं मिनेटमा गरेको गोल तीन अंक हासिल गर्न पर्याप्त बन्यो। 


‘यस्तो नतिजाले खुसी दिन्छ । टोलीले मैदानमा देखाएको प्रतिक्रिया उत्साहजनक छ । हामी काउन्टर अट्याकमार्फत गति लिने रणनीतिमा थियौं । त्यो पूर्ण रुपमा सफल भएको छ ।’

प्रकाशित: २० कार्तिक २०७४ ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App