१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रतिष्ठित अस्पतालमै नक्कली प्रमाणपत्रधारी

सिआइबीद्वारा पक्राउ डाक्टरलाई छाड्न माग गर्दै आइतबार वीरगञ्जमा निकालिएको र्‍याली। तस्बिर : रितेश त्रिपाठी

काठमाडौं- प्रहरीले दुई दिनमा देशभरबाट नक्कली शैक्षिक प्रमाणपत्रधारी ३६ चिकित्सक पक्रेको छ। प्रहरीको अपरेसन 'क्वाक' अन्तर्गत यी चिकित्सक पक्राउ परेका हुन्। छत्तीस चिकित्सकमध्ये अधिकांश विभिन्न रोगका विशेषज्ञ र सरकारी तथा निजी नाम चलेका अस्पतालमा लामो समयदेखि कार्यरत छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अप्रेसन क्वाकमा पक्राउ परेका बुद्धिमान श्रेष्ठ, अरुणकुमार गुप्ता, गजानन्दप्रसाद भण्डारी, सन्तोषकुमार झा, सञ्जय गुप्ता, लिली राजवंशी र बोदित आचार्य नाम चलेका चिकित्सक हुन्।

ब्युरोको हिरासतमा रहेका बुद्धिमान श्रेष्ठ कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटलका अध्यक्ष तथा निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसनमा महासचिव छन्। यस्तै, नर्भिक हस्पिटल र बिएन्डबी हस्पिटल र अर्थरिटस केयर सेन्टर वीरगन्जमा कार्यरत अरुणकुमार गुप्ता युरिक एसिड तथा बाथरोग विशेषज्ञ हुन्।

नेपाल परिवार नियोजन संघमा वरिष्ठ चिकित्सकका रुपमा कार्यरत गजानन्दप्रसाद भण्डारी समेत प्रतिष्ठत चिकित्सक मानिन्छन्। यस्तै, पक्राउ परेका सन्तोषकुमार झा ट्रमा सेन्टर, मोहम्मद रुहुल्लाह नेसनल मेडिकल कलेज, मोहम्मद अबुल कलाम ट्रमा अस्पताल विराटनगर, दिपेश पौडेल किस्ट मेडिकल कलेज, सञ्जय यादव युनभर्सल मेडिकल कलेज भैरहवा र सञ्जयकुमार दास श्रीराम डाइग्नोस्टिक क्लिनिक विराटनगर अस्पतालमा कार्यरत थिए।

यस्तै, तिलगंगा आँखा अस्पतालमा कार्यरत लिली राजवंशीसमेत सेवाग्राहीको रोजाइमा पर्ने चिकित्सक हुन्। यस्तै, दन्त चिकित्सामा नाम चलेका बोदित आचार्य र बिनिता अधिकारीसमेत पक्राउ परेका छन्। आचार्य पुरानो बानेश्वरस्थित केयर डेन्टल क्लिनिक र अधिकारी ब्राइट स्माइलमा कार्यरत थिइन्।

विहार बोर्डबाट ३६ मध्ये ३५ नक्कली

सिआइबीले छानबिनक्रममा नक्कली भेटेपछि देशभरबाट पक्रेका ३६ चिकित्सकमध्ये ३५ जनाले भारतको विहारबाट नक्कली सर्टिफिकेट ल्याएको खुलेको छ। सिआइबीका अनुसार विहार राज्यको विहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट प्रवीणता प्रमाणपत्र तह (आइएस्सी) को नक्कली सर्टिफिकेट आधारमा चिकित्सा शास्त्र र दन्त चिकित्सा शास्त्रमा उच्च अध्ययन गरेको भेटिएको हो।

घटनाका अनुसन्धान अधिकृत एसपी तारणीप्रसाद लम्सालका अनुसार नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदको सहकार्यमा सञ्चालित अप्रेसनमा ३६ चिकित्सक पक्रेको जानकारी दिए। उनका अनुसार अधिकांशले भारतबाट ल्याएका नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा शास्त्र अध्ययन गरेका थिए।  

एक हजार छानबिनमा, एक सय पक्राउ पर्न बाँकी

ब्युरोले नेपाल मेडिकल काउन्सिलमा दर्ता एक हजार चिकित्सकको शैक्षिक प्रमाणपत्र पहिलो चरणमा अनुसन्धान गर्दा एक सय पचासभन्दा बढी चिकित्सकको शैक्षिक प्रमाणपत्रमा कैफियत भेेटिएको छ। ब्युरो अधिकारीका अनुसार शुक्रबार एकसाथ अपे्रसनमा पक्राउ परेका ३६ बाहेक अझै एक सय चिकित्सकलाई पक्रने तयारी ब्युरोले गरिरहेको छ।

ब्युरो प्रमुख डिआइजी नवराज सिलवालले सुरुआतमा प्रवेशिका र प्रवीणता प्रमाणपत्र तहका शैक्षिक प्रमाणपत्र विषयमा ब्युरोले अनुसन्धान थालेको हो। उनका अनुसार काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदसँगको सहकार्यमा पहिलो चरणको कारबाही थालिएको हो।

'सुरुआतका शैक्षिक प्रमाणपत्रमा नै कैफियत भेटिएको छ, हामी विभिन्न देशबाट अध्ययन गरेका चिकित्सकका प्रमाणपत्रसमेत केलाउँदैछौं, केही समय लाग्छ,' डिआइजी सिलवालले भने। उनले सुरुआतमै सम्बन्धित निकायको लापरबाहीले समस्या विकराल भएको बताए। काउन्सिल र शिक्षा मन्त्रालयले अनुमति प्रमाणपत्र र अध्ययन प्रमाणपत्र दिँदा लापरबाही गरेको ब्युरो अधिकारीको गुनासो हो।

प्रमाणमा ढुक्क सिआइबी

ब्युरोका एसपी दिवेश लोहनीका अनुसार ब्युरोको टोली नै विहारमा गएर पक्राउ परेका चिकित्सकको शैक्षिक प्रमाणपत्र, अध्ययन गरेको समयावधि र परीक्षामा सहभागी भए नभएको विवरण लिएर फर्केको छ। एसपी लोहनीका अनुसार हाल प्रहरी हिरासतमा रहेका ३६ मध्ये १४ जनाको भेरिफाई गर्दा नाम नै बोर्डमा छैन। यस्तै, १६ जनाले प्राप्त अंकभन्दा अंक बढाएका छन् भने २ जना परीक्षामा अनुपस्थित रहे पनि अंक प्राप्त गरेको सर्टिफिकेट बनाएका छन्। ब्युरोका अनुसार ३ जनाले अर्काका नाममा जारी भएको सर्टिफिकेटमा आफ्नो नाम भरेको फेला परेको हो। पक्राउ परेका विराटनगरका चर्चित चिकित्सक जावेद अख्तर अन्सारी भने अन्य चिकित्सकको एनएमसी प्रमाणपत्रका आधारमा बिरामी जाँच्दै आएका थिए।

सिआइबीले शुक्रबार विराटनगर, वीरगन्ज, जनकपुर र चितवनमा गरेको अप्रेसनमा १७ जना चिकित्सकलाई नियन्त्रणमा लिएको थियो। सिआइबीले दाङ, कास्की, सुनसरी, ललितपुर र काठमाडौंबाट समेत थप चिकित्सक पक्रेको हो। सिआइबीले काठमाडौंबाट एक दर्जन नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सक नियन्त्रणमा लिएको हो।

ब्युरोले आइतबार पक्राउ परेका ३६ जनाविरुद्ध ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद लिएर अनुसन्धान थालेको एसपी लोहनीले बताए।

सिआइबीले नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदसँग सहकार्यमा २०७२ माघ २३ गते एकसाथ १२ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकलाई पक्राउ गरी 'अप्रेसन क्वाक' चलाएको थियो। प्रहरीले पक्रेका चिकित्सकले प्रवीणता प्रमाणपत्र तहमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको र चिकित्साशास्त्र पढ्न आवश्यक विषयमा आफूखुसी नम्बर बढाएको अनुसन्धानमा देखिएको थियो। अप्रेसन क्वाक सञ्चालनमा आएयता २०७२ फागुन र चैतमा भएका तीन बेग्लाबेग्लै कारबाहीमा थप चार चिकित्सको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको थियो।

नेपाल मेडिकल काउन्सिलको चिकित्सीय सेवा प्रदान गर्न आवश्यक प्रमाणपत्रका लागि लिइने परीक्षामा खेताला राख्ने र आफैं परीक्षा दिँदा दर्जनौं पटक फेल हुने देखिएपछि शैक्षिक प्रमाणपत्रको अनुसन्धान सुरु भएको हो। अनुसन्धान अधिकारीका अनुसार नेपाल र भारतबाट प्रवीणता प्रमाणपत्र र प्रवेशिका परीक्षामा समेत अनुत्तीर्ण भएकाले ठूलो लगानीमा चीन, रसिया, बंगलादेश, भारत र पाकिस्तानबाट अध्ययन गर्ने गरेका छन्।

प्रकाशित: ६ असार २०७३ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App