१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजनीतिक हस्तीलाई युवा व्यापारीको टक्कर

सिन्धुपाल्चोक- राजनीति गरेरै कपाल फुलाएका हस्ती र युवा व्यवसायीबीचको प्रतिस्पर्धाले सिन्धुपाल्चोक प्रतिनिधिसभा–१, प्रदेशसभा (क) र (ख) को निर्वाचन जिल्लामा चर्चा र चासोको विषय भनेको छ ।
    बाम गठबन्धनबाट प्रदेश (क) मा एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल र (ख) मा नेता सरेश नेपाल चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक गठबन्धनबाट उनीहरुलाई कांग्रेसका युवा व्यवसायी विष्णुबहादुर खत्री (क) र राजेन्द्रकुमार श्रेष्ठ (ख) ले कडा टक्कर प्रस्तुत गरेका छन् । एमालेमा प्रभावशाली केन्द्रीय नेताको उचाइ बनाएका अरुणबाहेक दुवै गठबन्धनका उम्मेदवार चुनावी मैदानमा नयाँ अनुहार हुन् ।
    सिन्धुपाल्चोक–१ बाट अरुण २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका थिए । पहिलो चुनावमा माओवादी केन्द्रका उम्मेदवारसँग पराजित उनी दोस्रो संविधानसभामा कांग्रेस नेता मोहनबहादुर बस्नेतसँग ३२ भोटरले हारेका थिए । यसपटक पनि उनले यही क्षेत्र दाबी गरेका थिए । गठबन्धनले यहाँबाट माओवादी नेता अग्निप्रसाद सापकोटालाई उतार्ने निर्णय गरेपछि उनी अन्तिममा प्रदेशतिर झरेका हुन् ।
    सुनकोसी गाउँपालिकाका अरुणको मतदाता नामावली भने प्रदेश (ख) मा छ । जिल्लाको एमालेवृत्तमा भने उनी प्रदेश नं. ३ को सम्भावित मुख्यमन्त्री वा शक्तिशाली दोस्रो तहको मन्त्रीको उम्मेदवारका रूपमा हेरिएका छन् ।
    पोलिटब्युरो सदस्य अरुणविरुद्ध चुनावी मैदानमा उत्रिएका कांग्रेसका खत्री चिनियाँ सामग्री आयातकर्ता हुन् । उनी उम्मेदवार रहेको प्रदेशसभामा पर्ने तातोपानी क्षेत्रमा चर्चित उनी महाधिवेशन प्रतिनिधि छन् । चुनावी मैदानमा नयाँ उनी पार्टी राजनीतिमा ‘चतुर खेलाडी’ मानिन्छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षसमेत भएर सामाजिक काममार्फत बाह्रबिसेदेखि तातोपानीसम्म पक्कड जमाएर बसेका उनीसँग उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य भएर काम गरेको अनुभव छ ।
    विगत हेर्दा बाह्रबिसेदेखि तातोपानीसम्मको भूगोलको राजनीति व्यापारीको ‘होल्ड’ मा हुन्छ । गत स्थानीय चुनावमा तातोपानी रहेको भोटेकोसी गाउँपालिका अध्यक्ष माओवादी केन्द्रबाट नाकाकै व्यापारी राजकुमार पौडेलले जित्दा बाह्रबिसे नगरप्रमुख व्यापारी निमफुन्जो शेर्पाले जितेका थिए । उनी एमाले हुन् । जिल्लाको जुनसुकै चुनावमा कसलाई जिताउने र हराउने व्यापारीकै हातमा हुन्छ ।
बाम गठबन्धनका उम्मेदवार सरेश जिल्ला विकास समितिका पूर्वसभापति हुन् । उनले २०४८ को स्थानीय निर्वाचनमा जिविस उपसभापति उनले जितेका थिए । संसदीय चुनावमा भने उनको यो पहिलो अनुभव हो । २०६४ को संविधानसभा चुनावदेखि नै उम्मेदवार दावी गर्दै आएका उनले यसपटक पहिलोपल्ट अवसर पाएका हुन् । जिल्लामा एमालेको धारिलो संगठन निर्माण हुनुमा उनको अग्रणी भूमिकाबारे पार्टीभित्र मात्र होइन विपक्षी वृत्तमा पनि चर्चा हुने गरेको छ ।
भूमि आन्दोलनका अगुवासमेत मानिने सरेशलाई लोकतान्त्रिक गठबन्धनबाट चुनौती प्रस्तुत गरिरहेका श्रेष्ठ पनि युवा व्यापारी हुन् । तातोपानी नाकाका चर्चित व्यापारी उनी उद्योग वाणिज्य संघका दोस्रो कार्यकालमा केन्द्रीय सदस्यको भूमिकामा छन् । राजनीतिमा भन्दा सामाजिक सेवामा जमेका उनी पार्टीका साधारण कार्यकर्ता मात्रै हुन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष भएर काम गर्दा कमाएको लोकप्रियताका कारण पार्टीलाई उनलाई पहिलोपटक वाम गठबन्धनका वजनदार नेताविरुद्ध उतारेको हो ।  
    तर स्थानीय तह निर्वाचनमा वडाध्यक्षले ल्याएको मतलाई आधार मान्दा यस क्षेत्रका दुवै प्रदेशमा वाम गठबन्धन बलियो छ । प्रदेश (क) मा एमाले–माओवादी केन्द्रसँग २१ हजार २ सय ४३ मत छ । यहाँ ७ हजार लोकतान्त्रिक गठबन्धन पछाडि देखिन्छ । कांग्रेस–राप्रपासँग १३ हजार ८ सय ५४ मत मात्र देखिन्छ ।
    प्रदेश (क) मा भोटेकोसी, त्रिपुरासुन्दरी र लिसंखुपाखर र बाह्रबिसे गाउँपालिका छन् । भोटेकोसी माआवादी केन्द्रले र अरु एमालेले जितेको थियो । पकड क्षेत्र हुँदा हुँदै कांग्रेसले भोटेकोसी, लिसंखुपाखर र बाह्रबिसे हारेको थियो । एमाले किल्ला त्रिपुरासुन्दरीमा एमालेले जित्दा कांग्रेसका अध्यक्ष उम्मेदवारले थोरै मतले हारेका थिए ।
    बलेफी, सुनकोसी, जुगल गाउँपालिका र चौतारा–साँगाचोकगढी नगरपालिका–२,३,४,९ र १० प्रदेश (ख) मा समेटिएका छन् । एमाले किल्ला मानिएको सुनकोसी कांग्रेसले जित्दा बलेफी र जुगल भने थोरै मतले गुमाएको थियो । दुवैमा एमाले उम्मेदवार विजयी भएका थिए । चौताराका पाँच वडामध्ये माओवादी केन्द्रले तीन र एमाले, राप्रपाले एक÷एक वडाध्यक्ष जितेका थिए ।
    पार्टीको भोटमा माओवादी केन्द्रको मत थपेर सहज जित निकाल्ने दाउमा वाम गठबन्धनका उम्मेदवार रहँदा स्थानीय चुनावमा बिग्रिएका गाउँ, नगर सुधार्दै वाम तालमेलबाट बिच्किएका कार्यकर्ता र मतदाता तान्दै विजयी हुने रणनीतिमा खत्री र श्रेष्ठ देखिएका छन् । युवा र व्यापारीको छवि बनाएकाले दुवैखाले मतदाताको मत पाउने उनीहरूको विश्वास छ ।    
 

प्रकाशित: १६ कार्तिक २०७४ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App