१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘स्टालिनवादी पार्टी’ ले देशको हित गर्दैन : डा. भट्टराई

फाइल फोटो

कास्की – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले र माओवादीले कम्युनिष्ट केन्द्र बनाउन खोजेपछि बाम गठबन्धनबाट बाहिरिएको बताएका छन् । संघीय समाजवादी फोरम, नयाँ शक्ति, माओवादी केन्द्र र एमालेले पुराना पहिचान अन्त्य गरेर नयाँ वैकल्पिक समाजवादी तत्व निर्माण गर्ने भनेर गठबन्धनमा सहभागी भएतापनि एमाले र माओवादीले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीलाई छुट्टै राखेर एउटा कम्युनिष्ट केन्द्र बनाउन खोजेपछि त्यसमा आफुहरूको सहमति नरहेको उनले बताए।

मंगलबार प्रेस सोसाईटी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले बाम गठबन्धनलाई पुरानै स्टालिनवादी ढाँचाले कम्युनिष्टलाई एक बनाउँदा त्यसको भविष्य नरहने टिप्पणी गरे।

‘माईनस माईनस जोड्दा प्लस हुँदैन्, झन् ठुलो माईनस हुन्छ, त्यसरी नै पुराना स्टालिनवादी पार्टी एकै ठाउँमा आउँदा आकार मात्र ठुलो हुन्छ, यसले देशको हित गदैैन्,’ उनले भने, ‘हामीले प्लस प्लस जोड्न खोजेका थियौँ, कम्युनिष्ट केन्द्रको आकार ठूलो भएतापनि नयाँ समाजवादी विचार नभएका कारण हामी बाहिरिएका हौँ ।’

बाम गठबन्धनले भनेजति सिट नदिएका कारण आफु बाहिरिएको भन्ने हल्ला आफुप्रतिको दुष्प्रचार मात्र रहेको उनले बताए। ‘मैले कहिल्यै पनि सिट संख्या दाबी गरिन्, हिटलरका प्रचारमन्त्री गोयवल्सले भनेझैँ झुटो कुरा सयपटक भनेपछि अरुले पत्याउन थाल्छन्, यो पनि त्यस्तै हो,’ उनले भने, ‘मेरो जीवन खुल्ला छ, गोरखाबाट मैले दुईपटक जितेका ठाउँ, त्यहाँका जनताले गरेको माया, म त्यहाँबाट उठ्नु स्वभाविक नै हो, बाँकी फैसला जनता आफैँले गर्छन्।’

गोरखाली जनताले विकास र समृद्धिका आधारमा जिताउने उनको भनाई थियो । गोरखा २ बाट चुनावमा उठेका उनले माओवादी केन्द्रका प्रतिस्पर्धी उम्मेदवार नारायणकाजी श्रेष्ठबारे भने कुनै टिप्पणी गर्न चाहेनन्।

आँखा चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका भट्टराईले कांग्रेससँग चुनावी तालमेल मात्र गरेको उनले बताए । ‘नयाँ शक्तिले कांग्रेससँग स्थायी तालमेल गरेको छैन्,’ उनले थपे, ‘आवश्यकता अनुसार लाभ हुने ठाउँमा तालमेल मात्र गरेका हौँ।’

फरक प्रसङ्गमा उनले भने, ‘नयाँ शक्तिले राम्रो विचारको बिउ रोपेको छ, यसले देशमा व्याप्त गरिबी र अल्पविकासको दुष्चक्र तोड्नेछ, मुल रुपमा वाम र दक्षिणी दुई धु्रव भन्दा माथि उठेको वाम लोकतान्त्रिक पक्ष नै नयाँ शक्ति हो।’

प्रकाशित: १४ कार्तिक २०७४ ०६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App