१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दलहरूले बुझाए अन्तिम बन्दसूची

काठमाडौं – राजनीतिक दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूची संशोधनसहित आइतबार निर्वाचन आयोगमा बुझाएका छन् । आइतबार राति अबेरसम्म पनि दलका नेता तथा उनका सहयोगीहरू आयोगका कोठाकोठा बसेर बन्दसूची सच्याउने काममा व्यस्त थिए । यसले दलहरूको समयमै काम नगर्ने पारा फेरि एकपटक उदांगो भएको छ।

दलहरूले असोज २९ गते आयोगमा समानुपातिकतर्फ बन्दसूची बुझाएका थिए । त्यतिबेला पनि दलका नेताहरूले रात पारेका थिए । सुरुमा ‘डमी’ सूची बुझाएका दललाई सूचीमा संशोधन गर्न आयोगले कातिक ६ देखि १२ गतेसम्म समय दिएको थिए । आयोगले दिएको समय आइतबार अपराह्न पाँच बजे समाप्त भए पनि अन्तिम समयमा दलका नेताहरू आयोग कार्यालय पुगेका कारण रातिसम्म सूची बुझाउने र बुझ्ने काम भइरहेको देखिन्थ्यो। 

नेपाली कांग्रेसका रामचन्द्र पौडेल, विमलेन्द्र निधि, मिनेन्द्र रिजाल, एनपी साउदसहितका नेता रातिसम्म निर्वाचन आयोगको कार्यालय, बहादुरभवनमै बसेर सूचीलाई अन्तिम रुप दिइरहेका थिए । आयोगको निर्वाचन सूचना तथा शिक्षा भवनको तेस्रो तलामा एमाले नेताहरू थिए । त्यहाँ एमालेनिकट वकिलहरू बन्दसूचीमा परेका नेताहरूको काजगात संकलन गर्दै थिए । राति आठ बजेतिर एमाले वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर आफ्नो नागरिकता र मतदाता परिचयपत्रको फोटोकपी गर्न आयोगका कोठा चहार्दै थिए । उनलाई समानुपाति सूचीमा राखिएको छ। 

सो भवनको तल्लो तलामा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालका नेता बन्दसूचीलाई अन्तिम रुपमा दिन व्यस्त देखिन्थे । राजपाका महामन्त्री जितेन्द्र सोनल, चन्दा चौधरीसहितका नेता त्यहाँ थिए। 

‘अष्टलक्ष्मी कमरेडले (प्रदेश संयोजक) कागजात आयोगमा रहेका साथीलाई बुझाउन भनेपछि आएको हुँ,’ एमाले नेता मानन्धरले नागरिकसँग भने, ‘सूचीमा को–को परे थाहा भएन । केही थाहा छैन।’ 

एमालेका जिल्ला तथा प्रदेशस्तरका नेताले पनि राति धमाधम  काजगात बुझाइरहेका थिए । ‘यहाँ सबै कागजातको तयारी भएको छ । लिस्ट आउनेबित्तिकै त्यसैअनुसार प्रदेश तथा प्रतिनिसभाका समानुपातिक उम्मेदवारको नामसहति सूची बुझाउने छौं,’ आयोग पुगेका एमाले एक नेताले भने। 

आइतबार बिहानै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको एमाले स्थायी कमिटीको बैठकले बन्दसूचीलाई अन्तिम रुप दिन सकेको थिएन।

कार्यालय समयभित्र टोकन लिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भरत पाठक  नौ बजेतिर समानुपातिकतर्फको सूची बोकेर निर्वाचन आयोग पुगेका थिए । राप्रपा सूचीको पहिलो नम्बरमा बुद्धिमान तामाङ र खसआर्यतर्फ राजीव पराजुलीको नाम थियोे । झापा निर्वाचन क्षेत्र नम्बर –३ मा उम्मेदवारको विषयमा नेपाली कांग्रेससँग विवाद देखिएको छ। ‘कांग्रेससँग कुरा मिल्यो भने समानुपातिकतर्फ नाम फिर्ता लिएर पराजुली प्रत्यक्षमा चुनाव लड्नु हुन्छ,’ पाठकले भने। 
राप्रपा र कांग्रेसबीच राप्रपालाई प्रतिनिधिसभातर्फ सात स्थान र प्रदेशसभामा २५ सीट दिने सहमति भएको थियो। तर कांग्रेसले राप्रपालाई दिने भनेको झापा–३ बाट पार्टी नेता कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। जसअनुसार समानुपातिक सूचीबाट सिटौलाको नाम हटाइएको छ। 

असोज २९ गते ४९ राजनीतिक दलले डमी बन्दसूची बुझाएका थिए । सात वटा प्रदेशसभामा ३ सय ३० र प्रतिनिधिसभामा १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिन्छन् । मिश्रित निर्वाचन प्रणालीअन्तर्गत हुने चुनावमा २ सय ७५ सदस्यीय प्रतिनिधिसभा र सात वटा प्रदेशसभामा ५ सय ५० सदस्यको ४० प्रतिशत सदस्य समानुपातिकबाट चुनिने व्यवस्था छ।  

 

प्रकाशित: १३ कार्तिक २०७४ ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App