संस्कृति

डम्फुको गीत

शनिबार, ११ कार्तिक २०७४, १० : ५३ शान्ति लामा

संस्कृतिकर्मी धावावाङगेल मोक्तान गत साता एक बिहानै बौद्धस्थित उनकै वर्कसपमा काठको पाता कसिरहेका थिए । ‘यो कोइरालाको काठ हो, डम्फुको घेरा बनाउन यसको प्रयोग हुन्छ,’ उनले भने। 

आउँदो माघको सोनाम ल्होछारका लागि आएको डम्फुको अर्डर भ्याउनु छ उनलाई । त्यसैले कामको चटारामै छन् अचेल । पछिल्ला केही वर्षयता तामाङ समुदायले नेपालमा मात्र होइन, विदेशमा समेत ल्होछार धुमधाम मनाउने चलन बढेको छ । ल्होछारमा परम्परागत बाजा डम्फु बजाउँदै नाच्ने चलन पनि बढेको छ । त्यसैले यो बेला डम्फु बनाउने मोक्तानको व्यस्तता पनि  बढ्छ। 

उनका अनुसार डम्फु तामाङ बस्तीहरूबाट कहिले हराउने, कहिले देखिने ग¥यो । भन्छन्, ‘अहिलेको यो समय डम्फुको देखिने पालो परेको छ । यसमा पछिल्लो समय चलेको पहिचानको आन्दोलनको जिम्मेवारी ठूलो छ ।’ पहिचानको आन्दोलनसँगै डम्फुको इतिहासले फेरि एकपटक सुनौलो घाम देख्न पाएको छ, खासगरी यसको प्रयोगको सन्दर्भमा । अहिले डम्फुको प्रयोगको लहर नै चलेको मोक्तान बताउँछन्। 

डम्फु उत्पत्तिबारे तामाङ जनमानसमा केही मिथक प्रचलित छन् । कथाअनुसार पेङदोर्जे एक सिकारी थिए । उनी एक दिन वनमा सिकार गर्न गए । धेरै दिनपछि उनी परिवारको सम्पर्कमा आए । फर्कंदा उनको हातमा डम्फु थियो।

३० वर्ष भयो, उनले डम्फु बनाउन थालेको । ‘यसको व्यावसायिक उत्पादन नै गरेको तीन दशक बित्यो,’ उनी भन्छन्, ‘अहिले झन् यसको प्रयोग बढेको पाएको छु ।’ उनी डम्फु बनाउने मात्र होइन, बजाउने कलाकार पनि हुन्। 
खासगरी विवाह, छेवारजस्ता सांस्कृतिक कार्यमा डम्फुको प्रयोगको प्रचलन आशातीत बढेको उनी देख्छन् । काठमाडौंमा हुने तामाङको विवाहमा ब्यान्ड बाजालाई डम्फुले विस्थापित गरिसकेको उनी दाबी गर्छन् । ल्होछार, बुद्धजयन्तीजस्ता पर्व तथा संघ–संस्थाका कार्यक्रममा डम्फुको खपत अत्यधिक हुने थालेको छ । दोस्रो जनआन्दोलनपछिको डम्फु प्रयोगको परिवर्तित परिदृश्य देखेर उनी दंग छन् । 

उनले गएको वर्ष मात्र सात सयभन्दा बढी डम्फु बनाएर बेचेका थिए । यसपालि पनि ल्होछारका लागि डम्फुको अर्डर आउने क्रम जारी छ । आकार, काठ अनि कलात्मकता हेरी उनी डम्फूको मूल्य निर्धारण गर्छन् । एक हजार रुपैयाँदेखि १८–२० हजार रुपैयाँसम्मको डम्फु अहिलेसम्म उनले बेचेका छन्। 

डम्फु बनाउन कोइरालाको काठ, बाँस अनि बाख्राको छाला प्रयोग गर्छन् । मोक्तान सुनाउँछन्, ‘कोइरालाको गुणस्तरीय काठ पाउन निकै गाह्रो छ ।’ अहिले काठमाडौं वरपरकै पहाडी क्षेत्रबाट कोइरालाको काठ र बाँस संकलन गर्छन् । बाख्राको छाला भने बजारमा पाइने रेडिमेड प्रयोग गर्छन् । भन्छन्, ‘भन्दाखेरि मरेको बूढी बाख्राको छाला राम्रो हुन्छ भन्छन् तर हामीलाई त्यस्तो पाउन गाह्रो छ । त्यसैले बजारमा पाइने छाला प्रयोग गर्छाैं ।’ पहिले गाउँमा आफ्ना बुवा र काकाले भने मरेको बूढी बाख्राकै छाला प्रयोग गरेर डम्फु बनाउने गरेको उनी सम्झन्छन्। 

डम्फु बनाउन सिक्दा ६–७ वर्षका थिए धावावाङगेल । बुवा र काकाले बनाएको हेर्दै, सघाउँदै उनले डम्फु बनाउन सिकेका थिए । दोलखा मागादेउरालीका उनी भन्छन्, ‘त्यतिबेला त घरघरमा डम्फु हुन्थे । बिहे अनि राम्रा काममा निकै प्रयोग हुन्थ्यो । यो ३०–४० वर्षअघिको कुरा हो।’ 

त्यसपछि भने डम्फूको प्रयोगमा कमी आएको थियो । त्यसै समय उनी काठमाडौं आई काष्ठकलाको काम गर्न थाले । काठका अन्य सामानसँगै फाट्टफुट्ट डम्फु पनि बनाउँथे । उनी सुनाउँछन्, ‘बिस्तारै डम्फुको प्रयोग व्यापक बन्दै आयो । अनि मैले आफ्नो व्यवसाय डम्फु–टुङनामै केन्द्रित गर्नुपर्ने भयो ।’ अहिले डम्फु र वाङगेल पर्याय नै बनेको छ । अहिले पनि व्यावसायिक रुपमा लामो समयदेखि निरन्तर डम्फु बनाउने उनी एक्लो व्यक्ति हुन्। 

डम्फु बनाउँदा उनी विभिन्न परीक्षण पनि गर्न मन पराउँछन् । अहिले डम्फु र टुङना सँगै जोडिएको एउटा बाजा बनाउँदै छन् । यसअघि हातमा बोकेर बजाउन मिल्नेभन्दा ठूलो आकारको डम्फु पनि बनाएका छन्, जसलाई उनी आजसम्मकै सबैभन्दा ठूलो डम्फु भन्छन् । त्यो डम्फुलाई एक्लै बोक्न पनि सकिँदैन । ३२ देखि ३३ इन्च गोलाई भएको त्यो डम्फु दुईजनाले मात्र उचाल्न सकिने उनले बताए।  

मोक्तान आफैँ ताम्बाको काम पनि गर्छन् । अब ताम्बाले गाउने सबै गीत डम्फु र टुङना बजाएर रेकर्ड गर्ने उनको उद्देश्य छ । डम्फु–टुङना बजाएर ठूलो स्टेजमा ताम्बाका सबै गीत प्रत्यक्ष गाउने ठूलो धोको पनि छ। 

डम्फुको उत्पत्तिको मिथक
डम्फु उत्पत्तिबारे तामाङ जनमानसमा केही मिथक प्रचलित छन् । पेङदोर्जे भन्ने व्यक्तिले डम्फु बनाएर बजाएको कथन पाइन्छ । कथाअनुसार पेङदोर्जे एक सिकारी थिए । उनी एक दिन वनमा सिकार गर्न गए । धेरै दिनपछि उनी परिवारको सम्पर्कमा आए । फर्कंदा उनको हातमा डम्फु थियो।

संस्कृतिकर्मी मोक्तान भन्छन्, ‘त्यो समय कहिले हो भन्ने स्पष्ट थाहा पाउने कुरा भएन । तर पेङदोर्जे एक किराल्पा (सिकारी) थिए भनिन्छ । त्यसबाट समाजमा खेतीपातीको प्रणाली समेत राम्रोसँग विकास नभएको बेला नै डम्फु बनाइएको रहेछ भन्न सकिन्छ ।’ पहिले काठमाडौंको चार भञ्ज्याङले छोएको फराकिलो क्षेत्र जसलाई त्यतिबेला शैलुङ भनिन्थ्यो । त्यही क्षेत्रमा पेङदोर्जेले डम्फु बनाएको किंवदन्ती रहेको मोक्तान बताउँछन्। 

मोक्तानका अनुसार पेङदोर्जेअघि नै घारवदोर्जे अर्थात् घारव रेम्बोर्छेले नै डम्फु बनाइसकेको मत पनि प्रचलनमा रहेको छ।

डम्फुको गीत
डम्फु उत्पत्तिको कथा भन्ने गीत र डम्फु बजाउँदै गाइने ताम्बाका गीत समेतलाई डम्फुको गीत भनिने मोक्तान बताउँछन् । सिकारी पेङदोर्जेले कसरी डम्फु बनाइयो भन्ने कुरा गीतमार्फत सुनाएका थिए । त्यही गीत डम्फु उत्पत्तिको गीत मानिन्छ। 

स्व. सन्तवीर पाख्रिनले ‘ताम्बा काइतेन’ पुस्तकमा डम्फु उत्पत्तिको गीत संकलन गरेका छन् । ‘आम्मैले होई आम्मैले’ भनेर गीत सुरु हुन्छ । धावावाङगेल भन्छन्, ‘त्यो सम्बोधन आमा र धर्तीलाई गरिएको हो ।’ डम्फु उत्पत्तिको कथासँगै ताम्बाका अन्य गीत पनि डम्फु बजाएर गाइने उनी सुनाउँछन्। 

डम्फू उत्पत्तिकोे गीतमा भनिएजस्तै बनोटको डम्फु बनाउने परम्परा अद्यापि छ । गीतअनुसार ‘ताङसार रा’ (घोरल) को छालाको सतह, अम्बु सिङ (कोइरालो काठ) को घेरो, घेरामा लस्करै ३२ वटा किला अनि टुप्पामा चरा राखिन्छ । पेङ दोर्जेको समयमा घोरलको सिकार गरी त्यसको छालाको प्रयोग गरिएको गीतबाट बुझिन्छ । अहिले डम्फु बनाउनेले भने बाख्राको छाला प्रयोग गर्ने गरेको मोक्तान बताउँछन्। 

छालाबाट बनाइने मादल, तबला जस्ता ताल बाजाको दुवैपट्टि छालाले मोरिएको हुन्छ । तर, डम्फुको दुवैपट्टि छाला नमोरी एकातिर खाली हुन्छ । यसको सतह पनि धेरै फराकिलो हुन्छ । डम्फुको यो बनोटले पृथ्वी, सूर्य र पातालको अर्थ दिने मोक्तान बताउँछन् । मोक्तान भन्छन्, ‘झट्ट हेर्दा पृथ्वीजस्तो पनि र सूर्यजस्तो पनि देखिन्छ ।’ 
हुन त डम्फु ताल बाजा हो । यद्यपि यसबाट निकै सुन्दर आवाज पनि निस्किन्छ । तर, यो आवाज गुञ्जिने खालको हुँदैन । ‘डम्फुबाट निस्कने ‘तक धुइँ धुइँ’ छोटो खालको आवाज हो,’ मोक्तान भन्छन्, ‘यो निस्कनेबित्तिकै हराउँछ । यो संसारको अनित्यको प्रतीक हो।’ 

वनमा नाच्ने चराको प्रतीकस्वरूप डम्फुमा चरा पनि राखिएको हुन्छ । डम्फु बनाएर फर्किएका पेङ दोर्जेले रिसाएर बसेकी श्रीमतीलाई खुसी पार्न डम्फु बजाएर आफैँ गाउने र आफैँ नाचेका थिए भन्ने कथा पाइन्छ। 

डम्फु बजाउन विशिष्ट सीप चाहिँदैन । एक हातले समात्ने र एक हातले बजाउने बाजा हो । यद्यपि डम्फु बजाउँदा पोजिस्निङमा भने विशेष नियम रहेको मोक्तान सुनाउँछन् । भन्छन्, ‘डम्फुलाई शरीरले झ्याप्पै छेकिने गरी समात्नुहुँदैन । पाखुराबाट आधार बाहिर देखिने पोजिसनमा समातेर बजाउनुपर्छ ।’ डम्फु कम्मरभन्दा मुनि पर्ने गरी समातेर बजाउन नहुने नियम रहेको उनी बताउँछन् । डम्फुसँगै सुरबाजाको रुपमा डामङेन (टुङना) बजाइन्छ।

गीति परम्परामा डम्फुको प्रयोग
तामाङ सभ्यता, संस्कृति अनि जनजीवन नै गीति परम्परामा आधारित छ भन्दा फरक पर्दैन । खुसी र रमाइलो मात्र होइन, मान्छे मर्दा समेत गीत गाउने चलन यो जातिमा छ। 

डम्फुकै कुरा गर्नुपर्दा यसको उत्पत्तिकै समेत गीत प्रचलनमा छ । यसको प्रयोग ताम्बाले गर्ने चलन भएका कारण गीति परम्परामा डम्फुको प्रयोगको ठूलो महत्त्व रहेको मोक्तान बताउँछन्। 

ताम्बा तामाङ समुदायको ठूला जानिफकार हुन्, जसले सृष्टिको कथादेखि जीवनका सबै पक्षबारे जानकारी मात्र राख्दैन, बरु संसारलाई सुनाउँछन् । ताम्बाले पनि सबै कुरा गीतमार्फत सुनाउँछन् । ताम्बाले गीत गाउँदा डम्फु बजाउने परम्परा रहेको उनी बताउँछन् । यद्यपि तामाङ बाहुल्य क्षेत्रकै कतिपय ठाउँमा भने ‘कुरा भन्ने’ (कथा भन्ने) काम मात्र ताम्बाले गर्छ । डम्फु बजाउनेलाई ‘डम्फुरे’ भन्ने गरिएको उनी सुनाउँछन् । ताम्बाले जीवनदेखि मरणसम्मको कार्यमा कथा भन्छ । जहाँ ती पद्धतिसम्बन्धी दर्शन गाइन्छन् । यसरी इतिहास र दर्शन समेत गीतमै रहेकाले गीतसँगै बजाइने डम्फुको प्रयोग पनि तामाङका जीवनपद्धतिमा सधैँ जोडिइरहने उनी बताउँछन्। 

पछिल्लो समय तामाङ सांस्कृतिक पुनर्जागरण अभियानसँगै विवाह, छेवारजस्ता कार्यक्रममा ताम्बाको कुरा (गीत) सँगै डम्फू पनि बजाउने चलन बढेको छ । यद्यपि तामाङ कलाकारले आधुनिक गीतमा भने डम्फु बाजाको प्रयोग उत्ति भएको मोक्तानले देखेका छैनन्। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad