१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रसुवामा भिड्दै निर्माण व्यवसायी

रसुवा – मंसिर १० गते हुने निर्वाचनमा रसुवामा दुई राजनीतिक गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । जिल्लामा क्रियाशील राजनीतिक दल दुई गठबन्धनमा बाँडिएपछि लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको हो । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा एक तथा प्रदेशसभा सदस्यमा दुईजना निर्वाचित हुनेछन्।

प्रतिनिधिसभा सदस्यका लागि दुवै गठबन्धनबाट उम्मेदवार बनेका दुईजना ठूला व्यवसायीका रुपमा चिनिन्छन् । वाम गठबन्धनबाट एमालेका जनार्दन ढकाल र नेपाली कांग्रेसबाट उम्मेदवार भएका मोहन आचार्य निर्माण व्यवसायी हुन् । जिल्लामा २०५६ सालदेखि पैसाको बलमा राजनीति हुँदै आएको आरोप लागिरहेको अवस्थामा यसपटक दुई जना निर्माण व्यवसायी नै प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएपछि पैसाको चलखेल हुनसक्ने मतदाताको आशंका छ। 

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका ढकालले यो पटक पनि टिकट पाएका हुन् । २०४७ सालमा अनेरास्ववियु प्रारम्भिक समितिको सदस्य बनेर राजनीतिक यात्रा थालेका ढकाललाई २०६४ सालमा माओवादी उम्मेदवारलाई सघाएको आरोप लाग्ने गरेको छ । २०६४ सालको निर्वाचनमा ११ हजार मत ल्याएर जितेका माओवादीका प्रेमबहादुर तामाङलाई दोस्रो संविधानसभा चुनावमा उनै ढकालले पराजित गरेका थिए।

अन्तिम समयमा पार्टीले टिकट दिएपछि आचार्य हेलिकोप्टर चार्टर गरेर मनोनयन दर्ता गराउन रसुवा आएका थिए । २०४६ सालदेखि राजनीतिमा लागेका उनले फिलिपन्सिबाट इन्जिनियरिङ गरेका छन्। 

२०६४ सालको निर्वाचनमा माओवादीबाट विजयी भएका प्रेमबहादुर तामाङ अहिले नयाँ शक्ति पार्टीमा छन् । उनी अहिले प्रदेशसभा सदस्य (ख) बाट उम्मेदवार छन् । ‘पैसाको राजनीति नभई विचारको राजनीति गर्नुपर्छ’ भन्ने उनको राजनीतिक यात्रा अनेरास्ववियु क्रान्तिकारी रसुवाको तेस्रो जिल्ला सम्मेलनबाट जिल्ला सदस्य भएपछि सुरु भएको थियो । २०५० चैतबाट राजनीतिक यात्रा थालेका तामाङले एभरेस्ट टेक्निकल इन्स्टिच्युटबाट सबओभरसियरसम्मको पढाइ पूरा गरेका छन् । सबओभरसियर सकाएर आरआर क्याम्पसमा भर्ना भएका उनी पढाइ छाडेर भूमिगत बन्न पुगेका थिए । 
प्रदेशसभा (क) का लागि टिकट पाएका कर्णेल लामा होटल व्यावसायी हुन् । उनी एमालेका रसुवा अध्यक्ष हुन् । २०४६ सालमा एमाले स्याफ्रु गाउँ कमिटीको सदस्य बनेका उनको राजनीतिक यात्रा त्यहींबाट सुरु भएको हो । २०४९ सालमा जिल्ला विकास समिति सदस्य, २०५४ मा स्याफ्रु गाविसको अध्यक्ष र २०६२ मा दुर्गम विकास समिति सदस्य समेत बनेका तामाङले एसएलसीसम्म पढेका छन्। 

प्रदेश सभा (क) मा लोकतान्त्रिक गठबन्धनबाट टिकट पाएका प्रभात लामा नयाँ अनुहार हुन् । उनले राजनीति गरेको करिब १० वर्ष भएको छ । उनी २०६४ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बनेका हुन् । उनी नेपाली कांग्रेस हासमिति सदस्य हुन् । प्रदेशसभा (ख) बाट वाम गठबन्धनका ईन्द्रप्रसाद गोतामे उम्मेदवार छन् । 

प्रकाशित: ११ कार्तिक २०७४ ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App