२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिदामा बसेका कर्मचारी नफर्कंदा अस्पतालको सेवा प्रभावित

खोटाङ – बिदामा बसेका कर्मचारी काममा नफर्कंदा जिल्ला स्वास्थ्य कार्यालय खोटाङको कामकाज प्रभावित भएको छ । बिदामा बसेका कर्मचारीहरू काममा नआउँदा जिल्ला अस्पतालको ल्याब सेवा, बहिरंग विभाग, अन्तरंगलगायतका सेवा प्रभावित भएको हो। 

मंगलबार रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा कतिपय कर्मचारी कार्यालयलाई जानकारी नै नगराई बसिरहेको पाइएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार बिदामा बसेका ल्याब इन्चार्ज उज्वल तिवारी असोज ७ गतेदेखि कार्यालयमा हाजिर भएका छैनन् । यस्तै, बहिरंग विभागका हेल्थ असिस्टेण्ट सनम सिवाकोटी बिदा लिएको महिना दिन वित्दासमेत कार्यालयमा हाजिर नभएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख नवीन देवकोटाले बताए। 

सिवाकोटीले असोज १ गतेदेखि २४ गतेसम्मको विदा माग गरेको निबेदनमा उल्लेख छ तर, उनको निवेदनलाई कार्यालय प्रमुखले स्वीकृत गरेको देखिन्न । अन्तरंग सेवामा कार्यरत स्टाफ नर्स सिता शाह बिदा सकिएको तिन दिन बित्दासम्म कार्यालयमा नआएको पाइएको छ । स्वीपरसमेत कार्यालयमा अनुपस्थित रहेको पाइएको छ । कतिपय कर्मचारी बिदा स्वीकृत नभए पनि कार्यालयमा हाजिर नहुने गरेको पाइएको मेयर रिजालले बताए । ‘भएका कर्मचारी बिदा सकिएको लामो समयसम्म उपस्थित नहुँदा अस्पतालको काम प्रभावित भएको पाइएको छ,’ रिजालले भने, ‘मैले हाजिर नभएको दिनको तलव कट्टा गर्नका लागि कार्यालय प्रमुखलाई निर्देशन दिएको छु।’ 

मेयर रिजाल नेतृत्वको टोलीले स्थायी तथा करार कर्मचारीको हाजिर पुस्तिकासमेत निरीक्षण गरेको छ । 

प्रकाशित: ९ कार्तिक २०७४ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App