१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तीन पूर्वमन्त्री आमनेसामने, राणालाई तामाङको चुनौती

सिन्धुपाल्चोक – साढे तीन दशक लामो आफ्नो राजनीतिक यात्रामा तत्कालीन राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले २०६४ को संविधानसभा निर्वाचनमा पहिलो हार चाखे । २०३१  सालमा पञ्चायतकालीन राजनीति सुरु गरेर २०४६ को परिवर्तनपछिका तीनवटै संसदीय निर्वाचन जितेका राणालाई हारको स्वाद चखाएर राष्ट्रिय स्तरमै चर्चित बनेका थिए, तत्कालीन माओवादीका जिल्ला नेता दावा तामाङ।

अहिले राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष रहेका उनै राणा प्रतिनिधिसभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनबाट सिन्धुपाल्चोक–२ बाट प्रतिस्पर्धामा उत्रँदा माओवादी केन्द्रका तामाङले प्रदेशतर्फ वाम गठबन्धनबाट निर्वाचन क्षेत्र–२ (ख) मा उम्मेदवारी प्रस्तुत गरेका छन्। 

२०६४ को चुनावमा ३ हजारभन्दा बढी मतान्तरले पछाडि पार्दै तामाङले ‘नाति जर्नेल’ राणालाई तेस्रो स्थानमा खुम्च्याइदिएका थिए । उक्त निर्वाचनमा सय मतान्तरले निकटतम् प्रतिद्वन्द्वी बनेका एमाले नेता शेरबहादुर तामाङले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा राणालाई हराउँदै बाजी मारे। 

एमालेका यिनै तामाङ फेरि राणालाई चुनौती दिइरहेका छन् । उनी वाम  गठबन्धनबाट यसपटक क्षेत्र नं. २ मै भिड्दैछन् । उक्त निर्वाचनमा पनि उनले राणालाई तीन हजारकै मतान्तरले हराएका थिए । एमालेका तामाङ केन्द्रीय सदस्य र माओवादी केन्द्रका तामाङ जिल्ला संयोजक छन्। 

निर्वाचन क्षेत्र नं. १ मा पनि यस्तै रोचक भिडन्त हुँदैछ । यहाँ बहालवाला र पूर्वसूचना तथा सञ्चारमन्त्री आमनेसामने छन् । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत लोकतान्त्रिक गठबन्धनबाट र पूर्वसूचना एवम् वनमन्त्री रहेका माओवादी केन्द्रका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा वाम गठबन्धनबाट प्रतिस्पर्धामा छन् । राप्रपाका राणा पनि पूर्वसञ्चार तथा जलस्रोतमन्त्री हुन्।

सापकोटाले तत्कालीन क्षेत्र नं. २ बाट दुवै संविधानसभा निर्वाचन जितेका थिए । उनले प्रतिस्पर्धा गर्दै आएको क्षेत्रको आधा भूभाग हाल क्षेत्र नं. १ मा परेपछि उनी त्यता गएका हुन् । बस्नेतले २०५६ को मध्यावधि र २०७० को संविधानसभा निर्वाचन यही क्षेत्रबाट जितेका थिए। 

दोस्रो संविधानसभा निर्वाचनमा एमाले नेता अरुण नेपाललाई ३२ मतले पछाडि पार्दै बस्नेत विजयी भएका थिए । पहिलो संविधानसभा निर्वाचनसमेत यही क्षेत्रबाट लडेका नेपाल अहिले प्रदेशसभामा झरेका छन् । उनले वाम गठबन्धनबाट प्रतिनिधिसभा–१ (क) मा उम्मेदवारी दर्ता गराएका छन्। 

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको सिन्धुपाल्चोकमा वाम गठबन्धनले आधाआधा सिट बाँडेका छन् । कांग्रेसले भने राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणालाई मात्र एउटा निर्वाचन क्षेत्र खाली गराएको हो । लोकतान्त्रिक गठबन्धनको सहमतिअनुसार कांग्रेसले राणालाई र बाँकी सबै क्षेत्रमा राप्रपाले कांग्रेस उम्मेदवारलाई भोट हाल्नेछन् । प्रतिनिधि र प्रदेशसभामा दुवै गठबन्धनबाट ‘हेभिवेट’ का नेताको उम्मेदवारीले सिन्धुपाल्चोकको निर्वाचन चाखलाग्दो बनिरहेको छ । 

व्यापारीद्वारा वामलाई चुनौती 

प्रदेशतर्फ प्रतिनिधिसभा–१ (क) र (ख) मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका विष्णुबहादुर खत्री र राजेन्द्रकुमार श्रेष्ठ उम्मेदवार बनेका छन् । दुवै व्यापारी चुनावमा नयाँ अनुहार हुन् । तातोपानी नाकाका व्यापारी दुवैसँग उद्योग वाणिज्य महासंघको केन्द्रीय राजनीति गरेको अनुभव छ । 

कांग्रेस महाधिवेशन प्रतिनिधि रहेका खत्री चिनियाँ सामग्री आयातकर्ता हुन् । पृष्ठभूमि व्यवसायी रहे पनि उनी राजनीतिमा नौला भने होइनन् । सबैलाई चकित पार्दै प्रदेशको टिकट लिन सफल श्रेष्ठ नितान्त नयाँ अनुहार हुन् । राजनीतिमा त्यति खुल्न नचाहने उनले यसअघि कहाँ भोट हाल्थे भन्ने कांग्रेसीलाई नै पत्तो थिएन । 

चिनियाँ सामग्री आयात गर्ने उनी राजधानीको न्युरोडस्थित पिपुल्स प्लाजाका सञ्चालकसमेत हुन् । खत्री र श्रेष्ठ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् । खत्री उद्योग वाणिज्य महासंघको पूर्वकेन्द्रीय सदस्य भइसक्दा श्रेष्ठ भने त्यहाँ दोस्रो कार्यकाल केन्द्रीय सदस्यकै भूमिकामा छन् । 

वाम गठबन्धनबाट निर्वाचन क्षेत्र नं. १ (ख) मा एमालेका सरेश नेपालले मनोनयन दर्ता गराएका छन् । उनी तत्कालीन जिविस पूर्वसभापति हुन् । वाम गठबन्धनबाट निर्वाचन क्षेत्र नं. २ (क) मा युवराज दुलाल प्रतिस्पर्धामा उत्रिएका छन् । पूर्वलडाकु रहेका उनले शान्ति प्रक्रियापछिको लामो समय माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको सुरक्षा अंग बनेर काम गरेका थिए ।

निर्वाचन क्षेत्र नं. २ (क र ख) मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका विकास तामाङ र निमा लामा उम्मेदवार बनेका छन् । तामाङ महाधिवेशन प्रतिनिधि छन् भने लामा पार्टी पूर्वजिल्ला सदस्य हुन् । दुलाल, तामाङ र लामा चुनावमा नयाँ अनुहार हुन् । 

२७ हजार नयाँ मतदाता 

पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोक २ लाख २६ हजार ५ सय १५ मतदाता छन् । स्थानीय तह निर्वाचनपछि झन्डै २६ हजार नयाँ मतदाता थपिएका हुन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाका क्षेत्र नं. १ मा १ लाख १४ हजार ३ सय २३ र क्षेत्र नं. २ मा १ लाख १२ हजार १ सय ९२ मतदाता छन् । त्यस्तै प्रदेशतर्फ प्रतिनिधिसभा क्षेत्र नं. १, (क) मा ५८ हजार ८ सय ६४ र (ख) मा ५५ हजार ४ सय ५९ मतदाता छन् । 

प्रतिनिधिसभा क्षेत्र नं. २, (क) ५३ हजार ७ सय ४८ मतदाता रहँदा (ख) मा ५८ हजार ४ सय ४४ छन् । 

प्रकाशित: ९ कार्तिक २०७४ ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App