१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उज्यालोका लागि मुसा बाधक

काठमाडौं- सुन्दा अचम्म लाग्ला, विद्युत वितरणका लागि जडान गरिएका ट्रान्सर्फमरको सबैभन्दा ठूलो शत्रु अहिले मुसा बन्न थालेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा मुसाकै कारण एक दर्जनभन्दा बढी ट्रान्सफर्मर जलेका छन् ।
नेपाल विद्युत प्राधिकरण अधिकारीहरुका अनुसार मुसा भित्र पसेपछि ट्रान्सर्फमर  जल्न थालेका छन् । काठमाडौं उपत्यकाभित्र महिनामा एक–दुईवटा ट्रान्सर्फमर मुसाकै कारण पड्कने गरेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
पछिल्लोपटक मुसाकै कारण तिहारको लक्ष्मीपूजाका दिन भक्तपुर सब–स्टेसनका केही उपकरण जले र पूरै भक्तपुरमा बिजुली प्रसारण अवरुद्ध भयो ।
अधिकारीले यस्ता घटना बढी सब–स्टेसनहरुमा भएको बताए । उनले सब–स्टेसनहरु पुराना र फोहर पनि भएका कारण मुुसालगायत जीवले दुःख दिन थालेको बताए । ‘पशु चिकित्सकसँग परामर्श गरेर यो समस्या समाधान गर्ने प्रयास प्राधिकरणले थालेको छ,’ प्रवक्ता अधिकारीले भने ।
यस्तै घटना केही महिनाअघि बानेश्वर र ठमेलमा पनि भएको थियो । ठमेल फिडरमा बिरालोको बच्चा ठोक्किएको थियो । त्यस्तो समस्या आएपछि त्यहा“बाट विद्युत् आपूर्ति भइरहेका ग्राहकलाई तत्काल अन्य फिडरबाट दिइएको थियो ।
मुसा, बिराला लगायत कारण काठमाडौं उपत्यका लोडसेडिङमुक्त हुन थालेपछि प्रसारण तथा वितरण प्रणाली असुरक्षित बन्न थालेको छ । सोलार प्रणाली र लिड बल्ब व्यापारीले पनि लोडसेडिङ अन्त्यमा बाधा व्यवधान पु¥याउँदै आएका छन् ।

‘सुरुमा लोडसेडिङ गराउने र यसबाट फाइदा लिइरहेकाले नियोजित रुपमै आक्रमण सुरु गरेका थिए,’ प्राधिकरणका एक इन्जिनियरले भने, ‘पछिल्लो समय मुसा र बिराला जस्ताले पनि थप समस्या उत्पन्न गरेको छ ।’
यसले प्रणाली असुरक्षित बन्दै गएको महसुस गरिएको उनले बताए । ‘यसलाई सुरक्षित बनाउन लागिरहेका छौं,’ ती इन्जिनियरले भने ।
अहिले नेपाल विद्युत् प्राधिकरणका प्रविधिक कर्मचारीलाई पड्किएको ट्रान्सर्फमर फेर्न र मर्मत भइसकेको ट्रान्सर्फमर जडान गर्न भ्याईनभ्याई छ । नियमित मर्मतको काम त छँदैछ, त्यसमाथि मुसाले ट्रान्सफर्मर पड्कन थालेपछि झनै प्राविधिक कर्मचारीलाई कामको बोझ थपिएको छ ।
नियमित बिजुली आपूर्ति हुन थालेपछि एकैछिन पनि बिजुली गयो कि हाहाकार नै मच्चिने भएकाले पनि मर्मतका लागि दौडन बाध्य हुनुपरेको प्राधिकरणका एक प्राविधिकले बताए । ‘मर्मत सम्भारमा खटिँदा हैरान भएका छौं,’ उनले भने, ‘पहिला लोडसेडिङ हुँदा प्रसारण लाइन, ट्रान्सर्फमर पड्कँदा पनि लोडसेडिङ भएको होला भनेर सेवाग्राही त्यति धेरै आत्तिदैनथे, तर अहिले लोडसेडिङमुक्त भनेर घोषणा गरिएको छ । एकैछिन बिजुली गयो कि किन लोडसेडिङ गरेको लोडसेडिङ हुँदैन भनेको होइन ? भन्दै थर्काउने गर्छन् ।’
कुनै न कुनै स्थानमा दिनहुँ जसो बिजुली जान थालेको छ ।
केही महिना पहिला नयाँ बानेश्वरमा रहेका दुईवटा ३६ एमभिए क्षमताका ट्रान्सफर्मरमा समस्या आयो । त्यस्तो समस्या आएपछि उपत्यकाका केही स्थानमा विद्युत् आपूर्ति बन्द भयो । गुणस्तहीन ट्रान्सर्फमरकै कारण यस्तो समस्या आएको प्राधिकरणका प्राविधिक कर्मचारी बताउँछन् ।
बानेश्वर मात्र होइन ललितपुरको इमाडोल लगायत धेरै स्थानमा त्यसै दिन विद्युत् आपूर्ति बन्द भयो । इमाडोलको केबल पड्केपछि लामो समय बिजुली आपूर्ति नै बन्द हुन पुगेको प्राधिकरणको भनाइ छ ।
गत कात्तिक २६ गते पनि यही फिडरमा यस्तै समस्या आएपछि दिनभर विद्युत आपूर्ति बन्द भएको थियो ।
केही दिनअघि ६६ केभी स्टेसनमा समस्या आएपछि राजधानीको सिंहदरबार लगायत केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द भयो ।
यसैगरी सुकेधारा, मण्डिखाटार र चप्पल कारखानामा विद्युत् अवरोध भयो । न्यु–चाबहिल सबस्टेसनबाट निस्कने ११ केभी ओम फिडरको ओभरहेड लाइन सुरु हुनुअघिको भूमिगत केबलमा मेलम्ची खानेपानी आयोजनाको काम गर्ने क्रममा क्षति भएपछि उक्त क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका प्राविधिक कर्मचारी भने गुणस्तरीय सामानको अभावले बारम्बार यस्तो समस्या दोहोरिने गरेको बताउँछन् । ‘अहिलेको मुख्य चुनौती बिजुली नभएरभन्दा पनि मुसा र गुणस्तरिय सामग्री नभएका कारण लोडसेडिङ हुने अवस्था आएको छ,’ ती कर्मचारीले भने, ‘अहिले प्राधिकरणले खेप्नुपरेको मुख्य समस्या नै गुणस्तरीय सामग्रीको अभाव हो ।’
प्राधिकरण प्रमुखमा कुलमान घिसिङ आएपछि उद्योगमा बाहेक अन्य स्थानमा लोडसेडिङ छैन । उनको यो अभियानलाई प्राधिकरणका केही कर्मचारीहरुले साथ दिएका छैनन् । घिसिङको लोकप्रियता गिराउन प्राधिकरणकै केही कर्मचारी प्रसारण लाइनका पोल ढलाउने, ट्रान्सफर्मर पड्काउने काममा संलग्न रहेको आरोप पनि लाग्दै आएको छ ।
के कारणले बारम्बार विद्युत् आपूर्तिमा अवरोध आइरहेको छ भन्नेबारे छानबिन गर्नुपर्ने आवाज पनि पछिल्लोपटक प्राधिकरणभित्रै उठ्न थालेको छ ।
बारम्बार बिजुली जान थालेपछि प्राधिकरणले ठूलो घाटा बेहोर्नुपरेको छ । उच्च मूल्यमा किनेको बिजुली त्यत्तिकै खेर जाँदा प्राधिकरणलाई नोक्सान पर्छ ।
अहिले पनि २३ प्रतिशत बिजुली चुहिएरै खेर जान्छ । एकातिर चुहावटका कारण प्राधिकरणले नोक्सानी बेहोरिरहेको छ भने अर्कोतिर सर्वसाधारणसमेत अँध्यारोमा बस्नुपर्ने बाध्यता छ ।
अत्यधिक बिजुली चुहावट भएर, प्राविधिक गडबडी लगायत कारणले प्राधिकरणको नोक्सानी बढ्दै गएको छ । प्राधिकरणका अनुसार, हुकिङ गरेर, मिटर बिगारेर, कर्मचारीको मिलेमतो एवं प्राविधिक गडबडीले झन्डै २३ प्रतिशत बिजुली खेर गइरहेको छ । त्यसमा पनि करिब १२–१५ प्रतिशत प्राविधिक रुपमै चुहावट हुने गरेको छ ।
प्राविधिक रुपमा हुने चुहावटलाई क्षमता बढाएर कम प्राधिकरणले गरिरहेको छ । केही दिन पहिला प्राधिकरणले प्रहरीको सहयोगमा चुहावटमा सघाउने आफ्नै कमचारीलाई नियन्त्रणमा लिएको थियो । प्राधिकरणकै कर्मचारीको मिलोमतोमा ४–५ प्रतिशत बिजुली चोरी हुने गरेको जानकार बताउँछन् ।
प्राविधिक चुहावट बढ्नुमा पुराना ट्रान्सफर्मर तथा वितरण लाइनलाई क्षमतायोग्य र व्यवस्थित बनाउन नसक्नुलाई कारणको रुपमा औंल्याउने गरिन्छ ।

प्रकाशित: ७ कार्तिक २०७४ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App