१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

म्यादी प्रहरी बन्न तीव्र प्रतिस्पर्धा (फोटो फिचर)

सिन्धुपाल्चोक- आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा छानिन प्रतिस्पर्धीबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। झण्डै दुई हजार आवेदक आपसमा कडा प्रतिस्पर्धा गरिरहेका छन्।

सदरमुकाम चौतारामा तीन दिनदेखि म्यादी प्रहरी छनोट भइरहेको छ। आवेदकमध्येबाट झण्डै आधा फालिने भएकाले उनीहरु खरो प्रतिस्पर्धामा उत्रिरहेका छन् । दौड, सेटअप, पुसअप लगायतमा आवेदकबीच कडा टक्कर चलिरहेको छ।

जिल्ला प्रहरी कार्यालयले झण्डै १२ सय प्रहरी माग गर्दै आवेदन मागेको थियो । १ हजार ९ सयभन्दा बढीको आवेदन परेपछि उनीहरुबीच कडा प्रतिस्पर्धा गराउनु परेको इन्स्पेक्टर हरिकृष्ण केसीले बताए । ‘झण्डै आधा फालिने भएपछि प्रतिस्पर्धा तीव्र हुने नै भयो,’ उनले नागरिकसँग भने।

प्रतिस्पर्धामा आफूलाई खरो उतार्दै आवेदकहरुले कठिन मानिएको शारीरिक परीक्षा उत्तीर्ण गरिरहेकाले छनोटमा प्रहरीलाई हम्मे परेको छ । शारीरिक परीक्षा अन्तर्गत पुरुषलाई कम्तिमा १०/१० र महिलालाई ५/५ पटक सिटअप, पुसअप र पाँच किमी दौडमा सहभागि गराएर शुक्रबारदेखि सुरु छनोट सुरु गरिएको हो।

आइतबारसम्म झण्डै हजारले यस्तो परीक्षामा भाग लिँदा मुश्किलले २ सय मात्र फालिएका छन् । आवेदकमध्ये झण्डै आधा महिला रहेको इन्स्पेक्टर केसीले बताए। ‘उनीहरुले पुरुषलाई कडा टक्कर प्रस्तुत गरिरहेका छन्,’ उनले भने । आवेदकमध्ये अधिकांश एसएलसी र दश जोड दुई उत्तीर्ण छन् ।

‘म्यादीमा छानिएर चुनावी सुरक्षाको अनुभव बटुल्न पाए हुन्थ्यो,’ त्रिपुरासुन्दरी गाउँपालिका धुस्कुनबाट आएकी मुना मगरले भनिन् । स्नातक अध्ययन गरिरहेकी उनले पढाइ खर्चसमेत जुट्ने भएकाले म्यादी प्रहरी बन्न रहर लागेको बताइन् । प्रतिस्पर्धी युवायुवती धेरै भए पनि ४०–४५ वर्ष उमेर कटेका प्रौढ र गृहिणीको हिस्सासमेत कम छैन ।

गत स्थानीय तह निर्वाचनमा ९ सय म्यादी प्रहरी माग हुँदा १ हजार २ सयको आवेदन परेको थियो । ती अधिकांश पूर्वम्यादी प्रहरी पुनः प्रतिस्पर्धाका लागि आएको इन्स्पेक्टर केसी बताउँछन् । उनका अनुसार स्वास्थ्य परीक्षण र लिखित परीक्षा उत्तीर्ण गरेपछि छनौट पूरा भइ आधारभूत तालिम सञ्चालन गरिने छ।

         

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App