१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एटिएमबाट पैसा निकाल्दा गुम्छ एक दिनको कमाइ

काठमाडौं- मुलुकका २९ वटै वाणिज्य बैंकले भिसा एटिएम कार्ड प्रयोगमा ल्याएका छन्। उक्त कार्ड प्रयोग गरी जुनसुकै बैंकको एटिएम (अटोमेटेड टेलर मेसिन) बाट रकम झिक्न सकिन्छ। तर, सेवाग्राहीले एउटा बैंकले दिएको भिसा कार्ड प्रयोग गरेर अर्को बैंकको एटिएमबाट रकम निकालेबापत मोटो शुल्क तिर्नुपर्ने हुन्छ।

एटिएम कार्डबाट पैसा निकाल्दा बैंकहरुले कति शुल्क लिन्छन् होला?

२० रुपैयाँ, ५० रुपैयाँ?

होइन, २ सय ५० रुपैयाँसम्म लिने गरेका छन्। 

पत्याउनु भएन? एउटा बैंकको एटिएम कार्ड अर्को बैंकको मेसिनमा घुसार्नु होस। तपाईंले उक्त बैंकको एटिएमबाट पैसा निकाले बापत उच्च शुल्क काटिएको बिल पाउनुहुनेछ।

जुन बैंकले दिएको कार्ड हो सोही बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्दैन। तर, अर्को बैंकको एटिएम प्रयोग गरे उच्च शुल्क काटिन्छ।  

अर्को बैंंकको एटिएम कार्डबाट भुक्तानी दिँदा हिसाबकिताब मिलान गर्र्नुपरेको भन्दै बैंकहरुले पैसा लिने गरेको नेपाल राष्ट्र बैंंकका प्रवक्ता त्रिलोचन पंगेनीले शनिबार नागरिकलाई बताए। 'बैंकहरुले हिसाबकिताब मिलान चार्ज भनेर शुल्क लिने गरेका छन्,' उनले भने, 'कागज र फोनलगायतको खर्र्च हुने भन्दै शुल्क लिन्छन्।'

आफ्नो लागत खर्च हेरेर त्यही अनुसार ग्राहकबाट शुल्क लिने गरेको बैंकरहरु बताउँछन्। केही बैंंकले उच्च शुल्क लिने गरेका छन् त केहीले कम। बैंकहरुले लिने शुल्कमा एकरुपता नभएको प्रवक्ता पंगेनीले बताए। 'बढीमा २ सय रुपैयाँ लिने गरेकोसम्म मलाई थाहा छ,' उनले भने।

तर, एटिएम कार्ड प्रयोगकर्ता एकपटक एटिएमबाट पैसा निकालेबापत २ सय ५० रुपैयाँसम्म शुल्क लिने गरेको बताउँछन्। 'मैले एउटा बैंकको कार्डबाट अर्को बैंकमा गएर एकपटक पैसा निकाल्दा २ सय ५० शुल्क काटिएको छ,' नाम नबताउने सर्तमा एक एटिएम कार्ड प्रयोगकर्ताले भने, 'दुईपटक निकाल्दा ५ सय रुपैयाँ तिरेको छु।'

आर्थिक सर्वेक्षणमा गत आवको आठमा महिनामा प्रतिव्यक्ति कुल राष्ट्रिय अम्दानी ७ सय ६६ अमेरिकी डलर छ। सर्वेक्षणअनुसार उक्त हिसाबले प्रत्येक नेपालीको दैनिक आम्दानी करिब ३ डलर हुन आउँछ। यसको अर्थ प्रतिव्यक्ति दैनिक आम्दानी करिब ३ सय २० रुपैयाँ हुन्छ।

यस हिसाबले एटिएमबाट एकपटक रकम निकाल्दा सामान्य मानिसले एक दिनमा कमाउने रकम बराबरको शुल्क खर्च हुँदो रहेछ। आर्थिक सर्वेक्षण अनुसार एक व्यक्तिको दैनिक कमाइ ३ सय हाराहारीमा मात्रै छ।

तर, बैंकहरु उक्त  शुल्क बराबरको रकम कटौती नहुने जिकिर गर्छन्। पहिला एउटा बैंकको एटिएम अर्कोमा प्रयोग गरेबापत १ सय ५० रुपैयाँसम्म लिने चलन भएको राष्ट्रिय वाणिज्य बैंक इलेक्ट्रोनिक डिपार्टमेन्ट प्रमुख कपिलमणि ज्ञवालीले बताए। 'तर, अहिले त्यस्तो शुल्क कटौती गरेका छन्,' उनले भने, 'उही बैंक (सेम बैंक)को एटिएम प्रयोग गर्दा शुल्क लाग्दैन, मेम्बर बैंक (सदस्य बैंक) को एटिएमबाट पैसा निकाल्दा एक पटकमा २० रुपैयाँ शुल्क लाग्ने र भिसा कार्ड प्रयोग गरी रकम निकाल्दा प्रत्येकपटक ५० रुपैयाँ शुल्क लाग्ने गर्छ।' एकपटकमा बैंक हेरी ३० हजारसम्म रकम निकाल्न मिल्छ।

राष्ट्र बैंकले भने एटिएम कार्ड प्रयोग गरेरबापत ग्राहकबाट पैसा नलिन भन्दै आएको छ। 'हाम्रो भनाइ त ग्राहकबाट शुल्क नलेऊ भन्ने हो,' राष्ट्र बैंकका प्रवक्ता पंगेनीले भने, 'दुर्गम स्थानमा गएर एटिएमबाट वा अन्य चेकबाट रकम निकाल्दा पैसा लिए पनि सुगम ठाउँबाट लिनु हुँदैन भन्ने हो।' तर, बैंकहरुले हिसाब मिलान, क्लियरिङ, कागज, फोन लगायतमा खर्च हुने भएकाले शुल्क लिन बाध्य भएको बताउने गरेको पनि उनको भनाइ छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष असार मसान्तसम्ममा देशभर ४२ लाख ५९ हजार कार्ड प्रयोग भइरहेका छन्। यसमध्ये सबैभन्दा धेरै डेबिट कार्ड प्रयोगकर्ता छन्। देशभर ४१ लाख ४६ हजार डेबिट कार्ड प्रयोगकर्ता रहेको राष्ट्र बैंकले जनाएको छ। क्रेडिट कार्ड प्रयोगकर्ता ४३ हजार र प्रिपेड कार्ड प्रयोगकर्ता ६९ हजार छन्।

कुनै कारोबार चेकमार्फत गर्नुपर्‍यो भने त्यो साट्न बैंकमा लामो लाइन बस्नुपर्छ। अझ अपर्झट साँझ–बिहान पैसा आवश्यक पर्‍यो  भने झनै समस्या  हुन्छ। त्यसको सहज विकल्पको रूपमा एटिएम कार्ड प्रयोग गर्न सकिन्छ। सातै दिन २४सै घन्टा चलाउन सकिने यस्ता कार्डबाट सहजै कारोबार गर्न सकिन्छ। कार्ड प्रयोग गरेर सीमाभित्र रही रकम झिक्न सकिन्छ।

सहरी क्षेत्रमा यसको प्रयोग बढदै गएको छ भने ग्रामीण क्षेत्रमा अझै पनि कार्डको उपयोग हुन सकेको छैन। राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने चार वर्षअघिको तुलनामा कार्ड प्रयोग गर्नेको संख्या निकै बढेको छ। ०६९ असार मसान्तमा प्रयोग भएको कार्ड संख्या २४ लाख रहेकोमा अहिले ४२ लाख पुगिसकेको छ। यस्तै, एटिएम मेसिन पनि चार वर्षमा चार सयले बढेको छ।

८० को दशकमा बैंक तथा वित्तीय संस्थाले सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले पहिलोपटक एटिएम कार्ड प्रयोगमा ल्याएका थिए। तर, यो ३० वर्षको अवधिमा एटिएम प्रयोगकर्ता ह्वातै बढेका छन्। कार्ड प्रयोगबाट नगद बोक्ने झन्झट अन्त्य भएको छ। तर, धेरैजसो एटिएम मेसिनमा पैसा, बत्तीको समस्या र पैसा नभएको भन्दै बन्द गरिएका हुन्छन्। यसले भने सेवाग्राही  भने नजिकको एटिएम मेसिन धाउन बाध्य हुन्छन्।

एटिएम कार्ड नगद झिक्न वा पस (पोइन्ट अफ सेल) मेसिनबाट बिना नगद सिधै वस्तु वा सेवा खरिद गर्नमा प्रयोग गरिन्छ। तर, एटिएम कार्ड वस्तु खरिदमा निकै कम प्रयोग हुने गरेको बैंकर बताउँछन्। नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले एटिएमबाट वस्तु खरिद गर्न सकिने भए पनि एटिएममा गएर पैसा निकाल्ने बानी परेको छ। एटिएम मेसिनबाट निश्चित सीमाभित्र रही नगद प्राप्त हुन्छ।

एटिएम कार्ड प्रयोगमा बैंकिङ समयको सीमा नभए पनि २४ घन्टा सेवा उपलब्ध गराउने मेसिनको सुविधा भने सर्वसुलभ हुन सकेको छैन। काठमाडौंमा सामान्यतया एटटिएम सुविधा बिहान ६ देखि राति १० बजेसम्म उपलब्ध गएको देखिन्छ। कतैकतै २४सै घन्टाको सुविधा पनि उपलब्ध छ। बैंकका एक सुरक्षाकर्मी भन्छन्, 'सुरक्षा र बत्तीका कारण पनि रातिमा एटिएम सुविधा दिन सकिएको छैन।'

प्रकाशित: १६ श्रावण २०७३ ०५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App