१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सहरी योजनाका काम सक्न नगर प्रमुखको निर्देशन

वीरगन्ज –वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित प्रमुख विजय सरावगीले ‘मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजना’को काम आउदो पुस मसान्तभित्र सम्पन्न गर्न सरोकारवालालाई निर्देशन दिएका छन् । योजना कार्यान्यवन गर्ने कार्यालय, परामर्शदाता कन्सल्टेन्ट विज्ञ र अन्य सरोकारवालासँगको छलफलपछि पुस मसान्तभित्र निर्माण कार्य पूरा गर्ने गरी काम गर्न उनले निर्देशन दिएका हुन् ।
निर्धारित समयभन्दा १६ महिना ढिलो भइसक्दा पनि उक्त आयोजनाको २० प्रतिशत निर्माण कार्य अझै बाँकी रहेको छ । एसियाली विकास बैंकको ८१ प्रतिशत र नगर विकास कोषबाट ११ प्रतिशत रकम ऋण र आयोजना कार्यान्वयन गर्ने सहरको आठ प्रतिशत लगानीमा वीरगन्जमा लागू ‘मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजना’ वीरगन्जमा कार्यान्वयन भइरहेको छ ।
योजना अन्तर्गत ५३ किलोमिटर बर्खे नाला बनाउने काममा १२ मिटर मात्र बाँकी रहेको छ । ४२.२३ किलोमिटर ढल, १५.२० किलोमिटर घरेलु पानीको नाला र ५.१५ किलोमिटर भूमिगत नाला बनाउने र ६.०४ किलोमिटरको प्राकृतिक नाला व्यवस्थित गर्ने काम योजना अन्तर्गत गर्न लागिएको योजना कार्यान्वयन कार्यालयका योजना व्यवस्थापक शैलेन्द्र श्रेष्ठले बताए । उनका अनुसार ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।  
२०७१ वैशाखदेखि सुरु भएको योजनाको काम सम्झौता अनुसार सात सय ५० अर्थात २५ महिनामा अर्थात २०७३ जेठमा सकिसक्नु पर्ने थियो । अन्तिम अवधि सकिएको १६ महिना बितिसक्दा पनि २० प्रतिशत काम अझै बाँकी रहेको छ । मूल्य अभिवृद्धि करसहित दुई अर्ब ४८ करोड ३६ लाख एक हजार रुपैयाँमा चिनियाँ निर्माण कम्पनी सिटिसिई र नेपालको कालिका कन्स्ट्रक्सनले सम्झौता गरेर काम गरिरहेका छन् ।
देशमा व्यापारबाट आउने राजस्वको ६० प्रतिशत बढी संकलन हुने व्यापारिक नाका रहेको आर्थिक नगरी वीरगन्जको कारोबार र जनजीवन योजना निर्माणको ढिलाइले प्रभावित छ । स्थानीयको दैनिक जीवन, यातायात र व्यापार व्यवसायदेखि सरकारी अड्डाहरुसम्म प्रभावित हुँदा पछिल्लो समय यो योजना सर्वाधिक चाँसोको विषय बनेको छ ।
६ महिने मधेस बन्द र बेलाबेलामा हुने ढुँगा, गिट्टी, बालुवा लगायत सामग्री अभावले पनि योजनाको निर्माण कार्य पछाडि धेकेलेको निर्माण कम्पनीको भनाइ छ । योजना कार्यान्यवन गर्ने कार्यालयका अधिकारीहरु, परामर्शदाता कन्सल्टेन्ट विज्ञहरु, निर्माण कम्पनीका प्रतिनिधि समेतको टोलीसहित महानगरपालिकाका मेयर सरावगीले योजनाका मुख्य कार्यहरुको निरीक्षण गरेका छन् ।
विभिन्न ठाउँमा रहेका विवाद र बाधाहरु फुकाउन उनले पहल थालेको जनाएका छन् । ‘वीरगन्जको लागि अहिले यो योजनाको काम पूरा हुन नितान्त जरुरी छ, अहिलेसम्म जति ढिलो हुने थियो भयो, अब स्थानीय समस्याको व्यवस्थापन गर्ने जिम्मा हाम्रो हो,’ सरावगीले भने, ‘ठेकेदार र सरोकारवालाहरुलाई भने, ‘काम चाँडोभन्दा चाँडो सम्पन्न गरेर दिने जिम्मा तपाईंहरुको हो, समन्वय गरेर ग¥यौं भने पुससम्ममा लगभग काम पूरा हुने मैले देखेको छु ।’
सरावगीको भनाइसँग परामर्शदाता कन्सल्टेन्टहरु पनि सहमत छन् । ‘नाला बनाउने क्रममा खनिएका बाटोहरु, केही अरु बाटोहरुको केही खण्डमा काम बाँकी छ,’ कन्सल्टेन्ट इन्जिनियर भुपेन्द्रमान शाक्यले भने, ‘बेसहरु बनिसकेको ठाउँमा कालोपत्रेको काममा बढी समय लाग्ने होइन । मलाई लाग्छ मंसिर–पुससम्म ती कामहरु पूरा भइसक्ने छन् ।’ निर्माण कार्य सम्पन्न भइसकेपछि गर्नुपर्ने कामहरु बोर्डमा राख्ने, सडकमा चिह्न र रेखाहरु कोर्ने लगायत सानातिना काममा थप केही समय लाग्ने शाक्यले बताए ।
केही ठाउँमा देखिएका स्थानीय समस्या समाधान गरेर काम सम्पन्न गर्न सके अबको केही महिनाभित्रै वीरगन्जको मुहार फेरिने योजना व्यवस्थापक श्रेष्ठले दाबी गरे । अहिले आफूहरु एकाग्र रुपमा योजना चाँडो सम्पन्न गर्नेतिर लागेको उनले बताए ।

प्रकाशित: २५ आश्विन २०७४ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App