१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२९ महिनापछि अनुदान सम्झौता

रसुवा - जिल्लाको पार्वतीकुण्ड गाउँपालिका–२ हाकुमा अनुदान सम्झौता सुरु भएको छ । गाउँमा सुख्खा पहिरो झरेर विस्तापित भएका पीडितसँग भूकम्प गएको २९ महिनापछि अनुदान सम्झौता गरिएको हो । जिल्ला समन्वय समिति रसुवाका अनुसार त्यहाँ बसोबास गर्ने दुई सय ९५ लाभग्राहीसँग सम्झौता भैसकेको छ भने अन्यको सम्झौता भइरहेको छ । हाकुमा आठ सय ३४ लाभग्राही रहेका छन् ।
भूकम्पपछि असुरक्षित मानिएको उक्त क्षेत्रमा भौगर्भिक अध्ययनपश्चात सुरक्षित भएको प्रमाणित भएपछि पीडितसँग सम्झौताको कार्य अघि बढाइएको थियो ।
साविकको हाकु गाविसमा पर्ने सानोहाकु, ठूलोहाकु, हाकुबेशीँ, गोगने र तिरुमा अनुदान सम्झौता गर्न रोकिएको थियो भने सोही गाविसको नेसिङमा भने यसअघि नै अनुदान सम्झौता भैसकेको छ । गोगने र तिरु भने जोखिममा रहेको कारण अनुदान सम्झौता नहुने बताइएको छ ।
हाकुबासीसँग अनुदान सम्झौता गर्न ढिलो हुनुमा हाकुबासीसँग आफ्नै नाममा लालपूर्जा नहुनु र उनीहरू बसोबास गरिरहेका बस्ती जोखिममा पर्नु मुख्य कारण रहेको छ । यसअघि स्वयंंभू घ्याङ गुठीको नाममा रहेको जग्गा उनीहरूका नाममा ल्याएपछि अनुदान सम्झौता गर्न सहज भएको हो ।
पहिरोको डरले धेरै भूकम्पपीडित विस्तापित भए पनि त्यहीँ बसिरहेकाहरूले भने यसअघि नै परम्परागत शैलीका घर निर्माण गरिसकेका छन् । असुरक्षित बस्ती भएका कारण ठूलोगाउँ, डाँडागाउँलगायतको क्षेत्रमा अझै पनि अनुदान सम्झौता गर्न सकिएको छैन ।
जोखिममा रहेको बस्तीमा तत्काल अनुदान सम्झौता नगर्न राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले पत्र पठाएपछि ८ सय १९ पीडितसँग सम्झौता गर्न नसकिएपनि अध्ययनपश्चात सुरक्षित भएका स्थानमा अनुदान सम्झौता गर्न थालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति रसुवाले जनाएको छ ।
कार्यालयका अनुसार असारको अन्तिमतिर जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङमा अनुदान सम्झौता भएको थियो । त्यहाँका एक सय १६ घरधुरीसँग सम्झौता भएको हो । सम्झौता भएकामध्ये ८९ जनालाई पहिलो किस्ता वितरण गरिसकिएको छ ।
जिल्लामा पुनर्निर्माणको अवस्था  
जिल्लामा अहिलेसम्म १२ प्रतिशत भूकम्पपीडितले निजी आवास निर्माण गरेका छन् । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रसुवाका अनुसार जिल्लामा एक हजार ६४ घर निर्माण सम्पन्न भएको छ । कार्यालयले दुई वर्षमा १० प्रतिशत निजी आवास निर्माण सक्ने लक्ष्य राखेको थियो । तर लक्ष्य अनुसारको काम भने हुन सकेन ।
भूकम्पले घर भत्किएर लाभग्राहीको सूचीमा परेका ११ हजार छ सय २९ घरमध्ये असोजको दोस्रो सातासम्म २७ प्रतिशतले निजी आवास निर्माण थालेका छन् । डिभिजन प्रमुख धिर फडेराका अनुसार दुई हजार ६ सय लाभग्राहीले निजी आवास निर्माण थालेका हुन् ।
जिल्लामा पुनर्निर्माणले गति लिन सकेको छैन । यो आर्थिक वर्ष भित्र करिब पाँच हजार भूकम्प पीडितले घर बनाउँने कार्यालयको अनुमान छ । डिभिजन प्रमुख फडेराले भने, ‘२०७५ असार मसान्तसम्म ४० प्रतिशत लाभग्राहीले घर बनाउने अपेक्षा गरिएको छ ।’
दोस्रो किस्ताका लागि एक हजार सात सय ५८ जना र तेस्रो किस्ताका लागि एक हजार २४ जनाको लागि किस्ता सिफारिस भएको छ । जिल्लामा रहेका लाभग्राहीमध्ये नौ हजार आठ सय ८० जनाले पहिलो किस्ता बापतको रकम लिएका छन् । 

प्रकाशित: २५ आश्विन २०७४ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App