१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्राफिक पहिरो हेर्दै, चालक गाडी कुदाउँदै

पाल्पा- बाटो माथीबाट पहिरो खसिरहेको छ। चालक हतार हतार गाडी कुदाउँदै छन्। यात्रुहरु केही समय पायो की जुत्ता चप्पल हात लिएर दैडिरहन्छन् । प्रहरी सिट्टी बजाउँदै दौडिन र रोकिन आदेश दिईरहेको छ। एक हप्तादेखी सिद्धार्थ राजमार्गमा यस्तै गतिविधि चलिरहेको छ । दिउँसो ११ बजेदेखी २ बजेसम्म यात्रु र सवारी दुवै रोकिन्छन् । फेरि यही क्रम दोहोरिन्छ।

सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका–३, दोभान हेडबक्समा पहिरो खसेपछि हजारौं यात्रुहरु सास्ती खेप्न बाध्य छन्। सिद्धबाबाको बिचमा ठूलो ढुंगा सहितको पहिरो खसेपछि सवारी साधन सञ्चालन हुन नसकेको हो। पहिरो खस्ने क्रम नरोकिएपछि प्रहरी र सडक डिभिजनको टोली नवमीदेखी निरन्तर रुपमा बाटोमै खटीदैं आएको छ । दोभानदेखि सिद्दबाबा क्षेत्रमा पानी पर्दा र घाम लाग्दा पनि दिनहुँ खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको छ।

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म सवारीसाधन र यात्रु बाटोमै अलपत्र परेका छन् । एक सातादेखि यो सडकमा नियमित यातायात सञ्चालन हुन सकेको छैन । डिभिजन सडक कार्यालयका निमित्त प्रमुख पवित्रमणी आचार्यले सडकलाई पूर्ण रुपमा सूचारु गर्न अझै तीन दिन लाग्ने बताए। उनी भन्छन्, ‘दुई वटा डोजर र स्काभेटर प्रयोग गरेर एकतर्फि बाटो खोल्दै यात्रुलाई पालैपालौ पठाएर काम गरिरहेका छौं । माथिबाट पहिरो खसीरहेको छ । पूर्ण रुपमा खुलाउन तीन दिन लाग्छ।’

अघिल्लो शुक्रबार बेलुकी परेको वर्षासंगै यो राजमार्गमा ठूलो पहिरो खसेको थियो। अहिलेकै पहिरोको कारण ट्रक, कार र मोटरसाईकल समेत पुरियो । यस क्षेत्रमा सयौं व्यक्तिको ज्यान जानुका साथै घाईते भएका छन्। पहिरो पन्छाउँदै गईरहँदा खस्ने क्रम पनि नरोकीएकोले जतिसुकै बेला सवारी साधन र यात्रुलाई ढुंगाले लाग्न सक्ने भन्दै पूर्ण सवारी साधनलाई सञ्चालन गर्न नसकिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले बताए। उनी भन्छन्, ‘नवमीको दिनदेखी बाटोमै यात्रुहरुलाई वारपार गराईरहेका छौं । बाटोको वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था छ ।’

यस क्षेत्रको समस्या समाधानका लागि बुटवलदेखि झुम्सासम्म सुरुङमार्ग बनाउने वा सडक नै परिवर्तन गरेर दोभानको नुवाकोट हुँदै झुम्सा लग्ने भन्नेसमेत अन्यौल नै रहेको छ । डिभिजन सडक कार्यालयले साना गाडी र मोटरसाईकल आजैदेखी दोभान–झुम्सा–नुवाकोट हुँदै बेलबास पुग्ने गरि सुचारु गरिएको जनाएको छ।

दशैं मनाउन ओहोरदोहोर गर्ने हजारौं यात्रुबीच बाटोमा अलपत्र परे। पहाडबाट ढुंगा खस्ने भएकोले यात्रुहरु पैदल समेत हिड्न सक्ने अवस्था नभएको दोभान प्रहरी चौकीले जनाएको छ। स्थानीय बिष्णु पाण्डेले आफुहरु दशैंको दिनदेखी यात्रुहरुलाई सहयोग गरि बाटोमा बसिरहेको बताए। ‘वैकल्पिक उपायको खोजी गर्नु आवश्यक छ । राजमार्गकै कारण अकालमा ज्यान गुम्ने खतरा छ । सधैंको सास्ती कति दिन खेप्ने,’–पाण्डेले भने । २० घण्टादेखी पहिरो र जामका कारण आफु बाटोमै अलपत्र रहेको पोखराबाट बुटवल हिँडेका यात्रु खड्ग घिमिरेले बताए । उनी भन्छन्, ‘खुल्छ भनेर भन्छन्, कहिले पार हुने हो थाहा छैन।’

नेकपा एमाले पाल्पाले सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा पहिरो समस्याले जनताले दुख पाएको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ। एमाले जिल्ला कमिटी बैठकले यसअघि आफ्नो सरकारले अगाडी बढाएको सुरङमार्ग बनाउने योजनाको निरन्तरता दिन र तत्कालको लागी बैकल्पीक मार्गको व्यवस्था गरि जनतालाई राहत दिन सरकारसंग माग गरेको हो । साथै अब बन्ने आफ्नो सरकारले पहिलो काम यहि गर्ने र अहिले तिनाउ गाउँपालिका सरकारलाई समेत यसमा ध्यान दिन आग्रह गरेको छ।

राजमार्गको सिद्धबाबा क्षेत्र धूले पहिरोको जोखिममा छ । तिनाउ खोलाले कटान गरेर झरेको पहिरोले राजमार्ग, विद्युत् प्रसारण लाइन र पोलसमेत ढल्ने अवस्थामा छ । तिनाउ खोलामा नै तिनाउ जलविद्युत् परियोजना छ। तिनाउ क्षेत्र वरपर चुरे कटान भैरहेको छ ।  चुरे क्षेत्रबाटै दैनिक हजारौं ट्रिपरले चुनढुङ्गा निकासी गरिरहेका छन् । जिल्लाबाटै सांसद भएका पूर्व उद्योगमन्त्रि सोमप्रसाद पाण्डेले यस क्षेत्रमा रक नेटिङ्ग प्रविधिको प्रयोग गरेर ढुङ्गा रोक्न सकिने भनेर नमूना परीक्षण पनि गरे । जिल्लाका नेताहरु सहित पाल्पा उद्योग वाणिज्य संघको टोलीले प्रधानमन्त्री सहित मन्त्रिहरुलाई भेटेर आश्वासन लिएर पनि फर्किए । जिल्लाका नेताहरुले यस क्षेत्रमा सुरुङ्ग मार्ग बनाउने आश्वासन बाँडेरै सांसद मन्त्री बनेका छन्। कसैले वैकल्पिक मार्गको चर्चा गरिरहँदा राजमार्गको अवस्था भने सुधार हुन सकेको छैन । राजमार्ग अवरुद्ध हुँदा लुम्बिनी, गण्डकी र धवलागिरि क्षेत्रका यात्रुहरुको जनजीवनलाई प्रभावित भएको छ।

 

प्रकाशित: २० आश्विन २०७४ ०९:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App