२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कुलदीपको ह्याट्रिकमा भारतको जित

कोलकाता- कुलदीप यादवको पहिलो ह्याट्रिक तथा कप्तान विराट कोहलीको ९२ रनप्रेरित भारतले दोस्रो एकदिवसीय खेलमा बिहीबार अस्ट्रेलियालाई ५० रनले हराएको छ ।
स्पिनर यादवलाई युजभेन्द्र चहलले साथ दिएपछि २ सय ५३ रनको लक्ष्य पछ्याएको भ्रमणकारी अस्ट्रेलियाले ४३.१ ओभरमा २ सय २ रन बनाउँदा सबै विकेट गुमायो । जितसँगै पाँच खेलको एकदिवसीय शृंखलामा भारतले २–० को अग्रता लिएको छ ।
बायाँहाते स्पिनर यादव र तीव्र गतिका बलर भुवनेश्वर कुमारले समान ३÷३ विकेट लिए भने चहल र हार्दिक पाण्डेयको नाममा २÷२ विकेट रह्यो । त्यसअघि कोहली र अजिन्क्या रहानेले दोस्रो विकेटका लागि १ सय २ रनको साझेदारी गर्दै भारतलाई जितको आधार तय गरेका थिए । भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।
‘हामीलाई लागेको थिएन कि हामीले स्कोरबोर्डमा पर्याप्त रन बनाएका थियौं । तर बलिङमा राम्रो सुरुआत गर्न सक्यौं भने हामी उक्त योगफल रक्षा गर्न सक्छौं भन्ने विश्वास थियो,’ म्यान अफ दी म्याच घोषित भारतका कप्तान विराट कोहलीले भने, ‘भुवनेश्वरको स्पेल निकै महŒवपूर्ण रह्यो । किनकि उनले विपक्षीको मध्यक्रम ध्वस्त बनाए । उनको बलमा ब्याट्सम्यानले खेल्न सकेनन् । दुई युवा स्पिनरले उत्कृष्ट प्रदर्शन गरे ।’
भुवनेश्वरले दुई ओपनर डेविड वार्नर (१) र हिलटोन कार्टराइट (१) लाई पवेलियन फर्काएपछि अस्ट्रेलिया दबाबमा परेको थियो । ५९ रन बनाएका कप्तान स्टिभ स्मिथले ट्रभिस हेडसँग तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ उकास्ने प्रयास गरे । त्यस्तै छोटो समय क्रिजमा रहेका म्याक्सवेलले २ छक्का प्रहार गर्दै भारतीय बलरमाथि दबाब सिर्जना गर्ने प्रयास गरे । १ सयौं एकदिवसीय खेलमा अर्धशतक पूरा गरेका स्मिथलाई पाण्डेयले पवेलियन फर्काए ।
नवौं एकदिवसीय क्रिकेट खेलिरहेका यादवले ३३औं ओभरमा ह्याट्रिक पूरा गरेपछि भ्रमणकारी टोलीको सम्भावना कमजोर बन्यो । विकेटकिपर म्याथ्यु वेडलाई ३ रनमा आउट गरेका यादवले अस्टोन एगरलाई र पेट कुमिन्सलाई शून्यमा पवेलियन फर्काए । यससँगै चेतन शर्मा र कपिल देवपछि एकदिवसीयमा ह्याट्रिक गर्ने यादव तेस्रा खेलाडी बने ।
मार्कुस स्टोनिजले अविजित ६२ रनको इनिङ खेले पनि टोलीको जितमा त्यो पर्याप्त बनेन । ‘२ सय ५० रनको लक्ष्य पाउँदा हामी खुसी थियौं । उनीहरूले निकै राम्रो खेले । भारतजस्तो टोलीविरुद्ध हामीले खराब सट हान्ने निर्णय गर्नु हुँदैनथ्यो,’ स्मिथले भने, ‘अन्तिममा स्टोनिजले केही राम्रो गरे तर उनलाई साथ दिने कोही भएन । शीर्ष चारमध्ये एकले शतकीय इनिङ खेल्नुपथ्र्यो ।’
त्यसअघि अस्ट्रेलियाका लागि तीव्र गतिका बलर नाथन कोल्टर नेल र केन रिचर्डसनले समान २÷२ विकेट लिए ।

प्रकाशित: ७ आश्विन २०७४ ०४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App