१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको सम्बोधन कुकुर भुकाई : उत्तर कोरिया

सोल– संयुक्त राष्ट्रसंघको ३२औं महासभामा मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको सम्बोधनलाई उत्तर कोरियाले ‘कुकुर भुकाई’ को संज्ञा दिएको छ । 

ट्रम्पले राष्ट्रसंघमा गरेको सम्बोधनमाथि प्रतिक्रिया दिँदै उत्तर कोरियाका उच्च कूटनीतिज्ञले यस्तो जवाफ दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा मंगलबार सम्बोधन गर्दै ट्रम्पले अमेरिका वा आफ्नो मित्र शक्तिमाथि कुनै पनि चुनौति आएमा उत्तर कोरियालाई पूर्ण रुपमा ध्वस्त पार्ने चेतावनी दिएका थिए। 

उत्तर कोरियाका विदेश मन्त्री री योङ–होले अमेरिकी राष्ट्रपति ट्रम्पको मंगलबारको उक्त सम्बोधनप्रति पहिलो औपचारिक प्रतिक्रिया दिएका हुन् । राष्ट्रसंघले पटक पटकको प्रतिबन्धलाई वेवास्ता गर्दै उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम निरन्तर अघि बढाइरहेको छ।

उत्तर कोरियाली विदेशमन्त्री रीले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालय नजिकै संवाददाताहरुसँग बोल्दै विदेशमन्त्री रीले भने, ‘एउटा भनाइ छ, कुकुर भुक्दै गर्दा पनि परेड खेल चलिरहन्छ।’

‘यदि ट्रम्पले हामीलाई कुकुर भुकाइमार्फत् अचम्मित पार्न खोजेका हुन् भने त्यो उनले देखिरहेको सपना मात्रै हुनेछ ।’

मंगलबार संयुक्त राष्ट्रसंघको महासभामा उत्तर कोरियाली शासक किम जोङ–उनका बारेमा बोल्दै ट्रम्पले ‘रकेट म्यान’ अहिले आफ्नो र आफ्नो शासन दुवैका लागि आत्मघाती अभियानमा छन्,’ भनेका थिए। 

ट्रम्पको उक्त भनाईप्रति प्रतिक्रिया माग्दा उत्तर कोरियाली विदेश मन्त्री रीले भने, ‘म ट्रम्पका सहयोगी र सल्लाहकारप्रति दुःख व्यक्त गर्न चाहन्छु ।’ संयुक्त राष्ट्रसंघको जारी महासभामा उत्तर कोरियाली विदेशमन्त्री रीले शुक्रबारसम्बोधन गर्ने कार्यक्रम छ । अमेरिका र उत्तर कोरियाबीच वाकयुद्ध चलिरहेको बेला प्योङयाङको प्रमुख शत्रु राष्ट्र दक्षिण कोरियाले बिहीबार एक फरक प्रसंगमा दुई वर्षको अन्तरालमा पहिलो पटक मानवीय सहायता उत्तर कोरियामा पठाउने बताएको छ । दक्षिण कोरियाको राजधानी सोलमा रहेको एकीकरण मन्त्रालयले बालबालिका,गर्भवती महिला र मेडिकल आपूर्तिलाई सुदृढ गर्ने लक्ष्यसहित संयुक्त राष्ट्रसंघीय कार्यक्रममार्फत् ८० लाख अमेरिकी डलर सहयोग गर्ने योजना बनाएको बताएको छ । 

उत्तरले विकास गरिरहेको आणविक हतियार कार्यक्रममा तेल संकट गराउने र आम्दानी बन्द गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसंघले तेल आयातमा पूर्ण रुपमा र कपडा निर्यातमा प्रतिबन्ध लगाउँदै प्योङयाङविरुद्ध नयाँ नाकाबन्दी गरेको केही दिनपछि दक्षिण कोरियाको यस्तो निर्णय आएको बिबिसीले जनाएको छ । उत्तर कोरियाले सेप्टेम्बर ३ मा आफ्नो छैटौं र सबैभन्दा ठूलो परमाणु परीक्षण गरेको घोषणा गरेपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकले सर्वसम्मत रुपमा उसलाई थप प्रतिबन्ध लगाएको थियो ।  

विज्ञहरु भन्छन् उत्तर कोरियाले आश्चार्यजनक ढंगले आफ्नो परमाणु हतियार र लामो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्रको विकास गरेको छ ।

 

प्रकाशित: ६ आश्विन २०७४ ०७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App