१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्कुले विद्यार्थीलाई सैन्य तालिम

पाल्पा— ‘अगाडि बढ्ला, दायाँ बायाँ फर्केला, गो अहेड, पिटी प्रदर्शन गर्ला’ विद्यार्थीलाई नेपाली सेनाका अधिकृतले आदेश दिँदै थिए। फिल्डमा सेनाको जस्तै ड्रेसमा विद्यार्थी एक सुरमा निर्देशन अनुसार आदेश पालनमा गरिरहे। देशका आम युवाहरुलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने विषय बेलाबखत बहसमा आउँछ। तर धेरैलाई थाहा छैन, नेपाली सेनाले जिल्लाका दुई विद्यालयका ७२ जना विद्यार्थीहरुलाई सैन्य तालिम दिँदै आएको छ।

भैपरि आउने संकटका समयमा राष्ट्रका निम्ति योगदान गर्न सक्ने कर्मठ, इमान्दार र देशभक्त जनशक्ति उत्पादनमा नेपाली सेनाले सैन्य तालिम सञ्चालन गरेको हो। राष्ट्रिय सेवा दलको तालिममा जिल्लाका विद्यार्थीहरुको आकर्षण बढेको छ।

भैपरि आउने संकटका समयमा राष्ट्रका निम्ति योगदान गर्न सक्ने कर्मठ, इमान्दार र देशभक्त जनशक्ति उत्पादनमा नेपाली सेनाले सैन्य तालिम सञ्चालन गरेको हो। राष्ट्रिय सेवा दलको तालिममा जिल्लाका विद्यार्थीहरुको आकर्षण बढेको छ। नेपाली सेना तथा प्रहरीमा अध्ययन पश्चात् जागिरको सम्भावना देखेर विद्यार्थी आकर्षण सेवा दलमा पुगेको अभिभावकहरु बताउँछन्। एक सय दिनसम्म सञ्चालन हुने यो तालिमले विद्यार्थीको भौतिक र बौद्धिक विकासमा सहयोग पु¥याउनुका साथै उनीहरूलाई असल नागरिक बन्न प्रेरित गर्ने भएकाले पनि यसमा विद्यार्थीको आकर्षण देखिएको हो।

जिल्लामा रहेको गोरखदल गणले जनता माध्यमिक विद्यालय र बेथल स्कुलका ३६-३६ जना विद्यार्थीहरुलाई तालिम सञ्चालन गरिरहेको छ ।
राष्ट्रिय सेवा दल तालिममा कक्षा ८, ९ र १० का विद्यार्थी सहभागि रहेको जनता विद्यालयका शिक्षक संयोजक पदमराज पौड्यालले बताए। दैनिक नियमित कक्षाका अतिरिक्त ४ बजेदेखी ५ः३० बजेसम्म तालिम हुने भएकाले नियमित कक्षामा कुनै असर नपर्ने पौड्याल बताउँछन् । तालिम जिल्लामा ७९ दिन र नेशनल क्याम्पमा २१ दिन हुने उनले बताए । विद्यार्थीमा अनुशासन, नेतृत्व विकास, वफादारिता, राष्ट्रिय एकताको भाव पैदा गर्दै स्वयम्सेवक दस्ता उत्पादन गर्ने यसको लक्ष्य रहेकोे सेनाका तालिम अधिकृतले बताए ।

बेथल स्कुलका प्राधानाध्यापक खेमबहादुर सारुले हरेक वर्ष देशभरबाट विद्यालयहरु छनोट गरेर निश्चित मापदण्ड पुरा गरेका विद्यार्थीलाई तालिम दिईने बताए । उनी भन्छन्, ‘सेनाले दुई चरणमा तालिमहरु सञ्चालन गर्छ । हरेक वर्षको साउनदेखि माघसम्म १ सय दिन चल्ने तालिमको पहिलो चरण अर्थात संस्थागत तालिम सम्बन्धित विद्यालयमा दिइन्छ ।’ विद्यालयको पढाईमा कुनै असर नपर्ने गरी तालिम व्यवस्थापन हुन्छ।

७९ दिनसम्म विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्यज्ञानका साथमा एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन सिकाइन्छ। ७९ दिनको तालिमपछि २१ दिने क्याम्प तालिम हुन्छ । क्याम्पको लागि मोरङको याङ्सिला, नवलपरासीको हात्तिखोर र बाँकेको कोहलपुरमा तालिम केन्द्र स्थापना गरिएको छ । २१ दिन चल्ने क्याम्प तालिममा खोज उद्धारदेखि मास पिटी, भीडमा बोल्ने तरिका र नेतृत्व विकास सम्मको तालिम लिन सकिने छ।

तालिमले आफुहरुलाई अनुशासित राष्ट्रप्रति समर्पित बनाएको बेथल स्कुलका एक विद्यार्थीले बताए । उनले खोज, राहत, उद्धार र प्राथामिक उपचारमा सेवा जस्ता व्यवहारिक ज्ञान समेत आफुहरुले प्राप्त गरेको बताए । तालिमका क्रममा विद्यार्थीहरुले खाजा, ड्रेस सरकार मार्फत् नै प्राप्त गर्दछन् ।
२०२२ सालदेखि यस्तो तालिम सञ्चालन हुन थालेको हो । तालिम दिनकै लागि सेनाले निर्माण गरेको विभाग हो, राष्ट्रिय सेवा दल।

सबै तस्विर : मुक्तिप्रसाद न्यौपाने
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App