१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ब्याज बढाउन तीन महिने सीमा

काठमाडौं – बैंक तथा वित्तीय संस्थाले आफूखुसी जहिले पायो तहिले कर्जाको ब्याज बढाउन नपाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाले मनोमानी कर्जाको ब्याज बढाएको गुनासो बढी आएपछि नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।
केन्द्रीय बैंकले कम्तीमा तीन महिनापछि मात्र कर्जाको ब्याज बढाउन सक्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले हालै ल्याएको एकीकृत निर्देशिकामा यस्तो व्यवस्था गरेको हो।

राष्ट्र बैंकले कर्जाको ब्याजदर कम्तीमा तीन महिनापछि मात्र बढाउन पाउने व्यवस्था गरेको नेपाल बैंकर्स संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए । ‘कर्जाको ब्याजदर तीन महिनाअघि बढाउन नपाइने व्यवस्था गरेको छ,’ नेपाल बंगालादेश बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनले भने, ‘यसअघि बैंकले जतिबेला पनि बढाउन सक्थे।’

बैंक तथा वित्तीय संस्थाले महिना दिनमै कर्जाको ब्याजदर बढाएको आरोप व्यवसायीले लगाउँदै आएका थिए । त्यस्तो व्यवस्थालाई नियन्त्रण गर्न कम्तीमा तीन महिनाअघि कर्जाको ब्याजदर बढाउन नपाउने नियम केन्द्रीय बैंकले ल्याएको हो।

निक्षेपको ब्याजदर बढेको भन्दै कर्जाको ब्याज पनि बैंकले बढाउँदै आएका थिए । लगानीयोग्य रकम (तरलता)को अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाले १२ प्रतिशतसम्म ब्याजदरमा निक्षेप संकलन गर्न थालेपछि कर्जाको ब्याजदर बढाएका थिए । उनीहरुले पुरानो कर्जाको ब्याज बढाएका थिए । नयाँ कर्जाको ब्याजदर १४–१५ प्रतिशतसम्म र पु¥याएको थिए । तर, अहिले तरलता सहज हुँदै गएको भन्दै बैंकले कर्जाको ब्याजदर पनि घटाउन थालेका छन्।
तरलता सहज हुन थालेपछि कर्जाको ब्याजदर पनि बैंकले घटाउन थालेको संघका उपाध्यक्ष ढुंगानाले बताए । ‘असोज महिनादेखि ब्याजदर घट्ने निश्चित छ,’ उनले भने, ‘अहिले प्रत्येक बैंकमा करिब २८ प्रतिशत लगानीयोग्य पुँजी छ।’
तपाईंलाई बैंक तथा वित्तीय संस्थाले बोलाई–बोलाई कर्जा दिन थालेका छन् । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई आकर्षित गर्ने लक्ष्यका साथ नयाँ योजना अगाडि सारेका छन् । पछिल्लो समयमा कर्जा लिन आग्रहमात्रै गरेका छैनन्, ब्याजदरसमेत घटाएका छन्।

बैंक तथा वित्तीय संस्थाले १२ प्रतिशत ब्याजदरमा सेयर कर्जाको नयाँ योजना ल्याएका हुन् । नबिल बैंकले ‘नबिल सेयर कर्जा’ योजना ल्याएको छ। 

मुक्तिनाथ विकास बैंक र कैलाश विकास बैंकले पनि सेयर कर्जा योजना सुरु गरेको छ । उनीहरुले न्यूनतम १२ प्रतिशत ब्याजदरमा सेयर कर्जा दिन थालेको छन्।

यसअघि बैंकहरूले ठूलो रकम ऋण लिन आउनेलाई रकम नभएको भन्दै फर्काउँदै आएका थिए । लगानीयोग्य रकमको अभाव देखाउँदै बैंकले ऋण दिन छाडेका थिए । तर, अहिले तरतला सहज भएको भन्दै लगानी बढाउन थालेका छन् । 
पछिल्लो समय बैंकमा निक्षेप बढेको छ सोही अनुपातमा ऋण लगानी पनि बढाउन थालेका हुन् । ‘ऋण माग्न आउनेलाई सहज रुपमा दिन थालेका छौं,’ एक बैंकरले भने, ‘सरकारले गर्ने खर्च बढेका कारण पनि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी सहज बन्दै गएको हो।’ 

लगानीयोग्य रकम अभावको मार खेपिरहेका लगानीकर्तालाई बैंक तथा वित्तीय संस्थाले सहज रुपमा ऋण उपलब्ध गराउन थालेका छन् । अहिले उनीहरूले बैंकबाट ऋण लिन थालेका छन् । पछिल्लो समय बैंकले सर्वसाधारणबाट लिने कर्जाको ब्याजदर घटाएका छन् । तरलता बढेकाले पनि ऋण सहज रुपमा उपलब्ध गराउन सकेका हुन्। 

प्रकाशित: २१ भाद्र २०७४ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App