१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चुनावी अभियान कसिलो बनाउँदै एमाले

वीरगन्ज- मधेस आन्दोलनका क्रममा आन्दोलनकारी पक्षबाट सबैभन्दा बढी अपजस र आलोचना खेप्नुपरेको एमालेले तेस्रो चरणको स्थानीय तह निर्वाचनमार्फत आफ्नो सांगठनिक सञ्जाललाई अझै मजबुत बनाउन लागिपरेको छ । विगतमा मधेस आन्दोलनको सर्वाधिक प्रभाव देखिएको दुई नम्बर प्रदेशको चुनावी अभियानलाई सशक्त र तीव्र बनाउँदै यो प्रदेशमा उक्त पार्टीले आफ्नो प्रभावशाली उपस्थितिको रूपरेखा कोर्न लागेको हो ।

पार्टीका कार्यवाहक अध्यक्ष वामदेव गौतम नेतृत्वको केन्द्रीय टोली पर्साको वीरगन्जसँगै बारा र रौतहट जिल्लामा निरन्तर खटिएको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पर्सामा सोमबार एक दिनमै चारवटा कार्यक्रममा सामेल भएका छन् । बिहान उनले वीरगन्ज माहानगर वडा नम्बर १३ मा घरदैलामा पुगेर मत मागेका थिए । १० बजे अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पर्साको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा प्रमुख अतिथिका रूपमा उनी सहभागी भए । रामगढवास्थित पार्टी कार्यालयमा राखिएको कार्यक्रमलगत्तै बुद्धिजीवी परिषद् पर्साको एकदिने भेलामा पुगेका उनले एमालेलाई वीरगञ्ज महानगरमा मात्र नभई प्रदेश २ मै पहिलो पार्टीका रूपमा स्थापित गर्ने दाबी गरे ।

भेलामा वीरगन्ज महानगरपालिकाका मेयर पदका उम्मेदवार बसरुद्दिन अन्सारी, उपमेयरकी उम्मेदवार सोफिया आचार्य, जिल्ला इन्चार्ज एवं सांसद रामचन्द्र साहलगायतको सहभागिता थियो ।

मध्याह्न पार्टीले क्षेत्र नम्बर ४ को देउरियामा राखेको पार्टी प्रवेश कार्यक्रम तथा आमसभामा उनले मधेसविरोधी पार्टी नभएको दाबी गर्दै यस्तो भ्रमलाई चिरेर अगाडि बढ्न आह्वान गरे । पछाडि परेका वर्ग र समुदायका पक्षमा वकालत गर्ने अग्रणी पार्टी एमाले भएको उनले दाबी गरे । कार्यक्रममा थारु नेता हेमनारायण चौधरीको अगुवाइमा दर्जनौं मानिस एमालेमा प्रवेश गरेका थिए ।

कार्यवाहक अध्यक्ष गौतम नेतृत्वको टोली वीरगन्जलाई केन्द्र बनाई पर्सा, बारा र रौतहटमा चुनावी अभियान सञ्चालन गरिरहेको प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारीले बताए । गौतमको टोलीमा विष्णु पौडेल, ईश्वर पोखरेल, नागेन्द्र चौधरी र सत्यनारायण मण्डललगायत छन् ।

प्रकाशित: १३ भाद्र २०७४ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App