१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘भारत गएर संविधानमा बोल्नु दुर्भाग्य’

काठमाडौं— भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव फेरि संसद्मा पेस गर्ने अभिव्यक्ति दिएपछि देशभित्र आलोचना सुरु भएको छ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीस्थित हैदराबाद हाउसमा बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सबैलाई स्वीकार्य बनाउन संविधान संशोधन गर्न लागिएको बताएका थिए । उनले अबको संशोधनमा दुई तिहाइ पुग्ने आशा व्यक्त गरे।

उनले भने, ‘हामीले संविधान संशोधन गर्न प्रयास गर्‍यौं। तर, संसद्मा दुई तिहाइ बहुमत पुर्‍याउन सकेनौं र संशोधन हुन सकेन, म आशा गर्छु भविष्यमा दुई तिहाइ पुग्छ र संविधान संशोधन हुन्छ। त्यसपछि सबैले संविधान स्वीकार गर्नेछन्।’ भारतीय पक्षले संविधान सर्वस्वीकार्य बनाउन संशोधन गर्नुपर्नेमा जोड दिँदै आएको छ। सत्तारूढ दलसहित विभिन्न दलका नेता र कूटनीतिज्ञहरूले संविधान संशोधनजस्तो नितान्त आन्तरिक विषयलाई द्विपक्षीय विषय बनाइरहेसम्म नेपाल–भारत सम्बन्ध नसुध्रिने बताएका छन्।

एमाले सचिव प्रदीप ज्ञवालीले नागरिकसँग भने, ‘संविधान संशोधन नितान्त आन्तरिक विषय हो। प्रधानमन्त्री देउवाले नेपालको संविधानलाई द्विपक्षीय विषय बनाउन खोज्नुभएको छ। भारतमा यस्तो अभिव्यक्तिबाट प्रधानन्त्रीले अनावश्यक चाटुरकारिता मात्रै नभएर संविधान संशोधन नगरेको हीनताबोध पनि प्रकट गर्नुभएको छ।’

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले नेपाल–भारत सम्बन्धमा संविधानको विषय आइरहनु दुर्भाग्यपूर्ण भएको बताए। ‘संविधान संशोधन पूर्ण रूपले आन्तरिक विषय हो तर यसलाई  द्विपक्षीय मामिलाको विषय बनाउनु दुर्भाग्यपूर्ण हो,’ आचार्यले भने, ‘यसबाट बाहिर ननिस्किउन्जेल नेपाल–भारतबीच सम्बन्ध सुध्रिँदैन।’

संयुक्त पत्रकार सम्मेलनअघि दुवै देशका नेताहरूले विभिन्न विषयमा छलफल गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले भने समाजका सबै वर्गसँग कुराकानी प्रक्रिया जारी राख्ने भन्दै घुमाउरो पारामा आफ्नो पुरानो अडान दोहोर्‍याए छन्। ‘नेपालको लोकतान्त्रिक व्यवस्था मजबुत बनाउन तपाईं (प्रधानमन्त्री शेरबहादुर देउवा) ले जुन तरिकाले व्यक्तिगत तहबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो, त्यसको हामी प्रशंसा गर्छौं,’ मोदीले भने, ‘मलाई पूरा विश्वास छ। तपाईंको कुशल र अनुभवी नेतृत्वमा समाजका सबै वर्गसँग कुराकानी गर्ने प्रक्रिया जारी रहनेछ।’

सत्ता साझेदार माओवादी केन्द्रका विदेश विभाग प्रमुख एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिले लज्जाबोध भएको बताए। ‘प्रधानमन्त्रीले के बोल्ने भन्ने विषयमा ख्याल गर्न सक्नु भएन। त्यसले लज्जाबोध भइरहेको छ,’ श्रेष्ठले नागरिकसँग भने, ‘उहाँ सही रुपमा प्रस्तुत हुन सक्नु भएन। आन्तरिक मामिलामा मित्र देशले अपेक्षा गरेको भन्दा बढी बोल्नुभयो।’

श्रेष्ठले प्रधानमन्त्री देउवाले आफ्नो भूमिका कांग्रेस सभापति वा प्रधानमन्त्री के हो भन्ने विषय छुट्याउन नसकेको बताए। ‘प्रधानमन्त्री वा कांग्रेस सभापति, उहाँले केको प्रतिनिधित्व गर्नुभएको हो,’ श्रेष्ठको प्रश्न थियो, ‘भोलि पनि उहाँ यो देशका प्रधानमन्त्री भइराख्ने हो ?’

एमाले सचिव प्रदीप ज्ञवालीले नागरिकसँग भने, ‘संविधान संशोधन नितान्त आन्तरिक विषय हो। प्रधानमन्त्री देउवाले नेपालको संविधानलाई द्विपक्षीय विषय बनाउन खोज्नुभएको छ। भारतमा यस्तो अभिव्यक्तिबाट प्रधानन्त्रीले अनावश्यक चाटुरकारिता मात्रै नभएर संविधान संशोधन नगरेको हीनताबोध पनि प्रकट गर्नुभएको छ।’

सरकारले लामो प्रयासपछि प्रधानमन्त्री देउवाको भारत भ्रमणको केही समयअघि संसद्मा संविधान संशोधन प्रस्तावमाथि मतदान गरेको थियो। तर संसद्ले संविधान संशोधन प्रस्ताव अस्वीकार गरेको थियो ।

‘वर्तमान सरकार संविधान संशोधनका विषयमा गम्भीर छैन । नत्र प्रतिपक्षी दलको सहमतिमा यो काम गर्ने थियो । सरकारले संविधान संशोधनलाई राजनीति गर्ने विषय मात्रै बनाएको छ,’ राप्रपाका केन्द्रीय सदस्य दिलनाथ गिरीले भने, ‘देशको आन्तरिक विषयलाई भारतमा गएर उठाउनुपर्ने कस्तो बाध्यता आइलाग्यो विषय विषय प्रधानमन्त्रीले प्रस्ट पार्नुपर्छ ।’ संविधान संशोधनका विषयमा गम्भीर नभएको भन्दै गिरीले भने, ‘विभिन्न घटनाक्रमले संशोधनका पक्षमा रहेकालाई समेत त्यसबाट धकेल्ने काम गरेको छ।’

कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्रीले अनावश्यक विषय बोलेको बताए। ‘यो बोलिरहनुपर्ने विषय होइन । संविधान संशोधन कसरी अघि बढाउने भन्ने नेपालको आन्तरिक विषय हो,’ गुरुङले भने, ‘दुई देशबीच छलफल र सहमति गरिरहनुपर्ने विषय होइन।’

उनले संविधान कार्यान्वयन चरणमा रहेको र त्यसको स्वीकार्यता बढ्दै गएको समेत बताए। ‘संविधान हाम्रो हो। भारत र चीनले त्यस विषयमा केही भन्ने होइन,’ गुरुङले भने। संविधानप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । पछिल्लो समयमा उनीहरूको आन्दोलन मत्थर हुँदै गएको छ ।

ज्ञवालीले प्रधानमन्त्री देउवाको अभिव्यक्तिले संविधानका विषयमा भारतले लगाएको नाकाबन्दी अनुमोदन गर्ने काम गरेको बताए। ‘भारतीय तटबन्धका कारण नेपाल डुबानमा परेको छ। सार्वजनिक खपतका लागि भारतको ध्यानाकर्षण गराउनुपर्दथ्यो,’ ज्ञवालीले भने, ‘अनावश्यक विषयमा टिप्पणी गरेर भारतले लगाएको नाकाबन्दीलाई अनुमोदन गराउने काम गर्नुभएको छ।’

२०७२ असोज ३ गते संविधान जारी गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै भारतले भारतले नेपालमाथि पाँच महिना लामो नाकाबन्दी लगाएको थियो। भारतले नेपालको वर्तमान संविधानका ७ व्यवस्थामा संशोधन चाह राख्दै अाएको छ।

प्रकाशित: ९ भाद्र २०७४ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App