१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भैरहवा भन्सारमा सेटिङमा तस्करी

पहिले प्रयोग भइसकेको प्रज्ञापनपत्र प्रयोग गरी भन्सार कार्यालयबाट निस्कँदै गर्दा नियन्त्रणमा लिइएको ना ४ ख ४१२६ नम्बरको ट्रक। तस्बिर : शेरबहादुर

बुटवल- एउटै प्रज्ञापनपत्रबाट दुई गाडी छुटेको सार्वजनिक भएपछि भैरहवा भन्सार कार्यालयमा तस्करहरुले सेटिङ मिलाएर दिनहुँ लाखौं राजस्व छलिरहेको खुलेको छ।

भैरहवा भन्सार स्रोतका अनुसार, प्रमुख भन्सार अधिकृत भुपालकुमार शाक्यले कर्मचारीको एउटा समूहमार्फत तस्करसँग लाइन मिलाएर न्यून बिजकीकरण र एउटै प्रज्ञापनपत्रमार्फत धेरै गाडी छाड्ने गरेको खुलेको हो। शाक्यले भन्सार अधिकृत मानबहादुर बिक, नासु सुवास पौडेल, खरिदार विनय जोशीलाई सेटिङ गरी कारोबारी राजु थापाको समूहका गाडीहरु दिनहुँ भन्सार कार्यालयबाट पास गराइरहेको स्रोतको भनाइ छ।

बिहीबार दिउँसो भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र नम्बर ५६७८७ र ५६७९७ मा ना ६ ख ५६३५ नम्बरको ट्रक इन्ट्री भयो। प्रज्ञापनपत्रमा एक हजार १७ थान पर्दा कपडा, उलन टप दुई हजार दुई सय ७० बन्डल रहेको उल्लेख छ। साँझ त्यही प्रज्ञापनपत्रमा ना ४ ख ४१२६ नम्बरको ट्रक इन्ट्री भयो। सामान पनि पहिलेकै ट्रकमा भएको परिणाम देखाइयो। भन्सार कार्यालयको दुई नम्बर गेटबाट निस्कनै लाग्दा भन्सार कार्यालयका केही कर्मचारीलाई जानकारी आयो– दिउँसो प्रयोग भएको प्रज्ञापनपत्र प्रयोग गरेर अर्को ट्रक बाहिर निस्कँदै छ। धेरैतिरबाट आएको सूचना भन्सार कार्यालयमा सनसनी फैलिएपछि निस्कँदै गरेको ट्रक नियन्त्रणमा लिएर भन्सार कार्यालयले अनुसन्धान अघि बढायो। सकेसम्म यो प्रकरणलाई सामसुम पार्न प्रमुख भन्सार अधिकृत शाक्य लागेको भन्सार स्रोतको भनाइ छ।

मनकामना इन्टरनेसनल पडसरी रुपन्देहीले आयात गरेको उक्त कपडा दाहाल कमिसन एजेन्टमार्फत भन्सार भएको हो। उल्लेखित दुई प्रज्ञापनपत्रबाट भैरहवा भन्सार कार्यालयले चार लाख ३७ हजार सात सय ६१ रुपैयाँ र तीन लाख ६२ हजार नौ सय ४३ रुपैयाँ भन्सार महसुल असुली गरेको देखिन्छ।

दशकअघि भैरहवा भन्सार कार्यालयमा मौलाएको राजस्व छली र तस्करी एक वर्षयता फेरि बढ्न थालेको भन्सार कर्मचारीको भनाइ छ। नौ महिनाअघि भैरहवा भन्सार कार्यालय प्रमुखको जिम्मेवारीमा आएका शाक्यले कर्मचारीको एउटा समूहलाई हात लिएर तस्करको एउटा समूहलाई साथ दिन थालेपछि कार्यालयका अरु कर्मचारी र तस्करी गर्न खोज्ने अरु कारोबारी बिच्किएपछि यस्ता घटना बाहिर आउन थालेका हुन्। दुई महिनाअघिको यस्तै घटना गुपचुप रुपमा मिलाइएको थियो।

ना ४ ख ४१२६ नम्बरको ट्रकमा रहेको समानको प्रज्ञापनपत्र देखिए पनि भन्सार कार्यालयमा रहेका कम्युटरमा सोको इन्ट्री देखिँदैन। भन्सार अधिकारीका अनुसार एउटै प्रज्ञापनपत्र नम्बरबाट दुइटा गाडीको भन्सार तिर्न मिल्दैन। भन्सार तिरेको एउटा गाडीको प्रज्ञापनपत्र प्रयोग गरी अर्को गाडी पास गराउन खोज्नुबाट भन्सार छलीमा ठूलै सेटिङ रहेको प्रस्ट हुने उनीहरुको भनाइ छ ।

गएको वैशाख ८ गते विहान ६ बजे मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाको टोलीले नारायणगढबाट ना ६ ख २२७८ नम्बरको मालबाहक ट्रक समात्यो। केपी हार्डवेयरको नाममा बिल रहेको ट्रकमा न्यून बिजकीकरण र परिणाम पनि कम भएको भेटिएको मध्य क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी गणेश केसीले बताए। ९० लाख रुपैयाँ बराबरको कपडा र हार्डवेयरका सामान रहेको ट्रक राजस्व अनुसन्धान कार्यालय पठाएको चार महिना बित्न थाल्दा लिलामी प्रक्रिया अघि बढ्न सकेको छैन। राजस्व अनुसन्धान विभागका अधिकारी ठूलै दबाबले लिलामी प्रक्रिया अघि बढ्न नसकेको बताइरहेका छन्। ‘सामानको लिलामी प्रक्रिया अघि बढाउनुपर्ने हो, लिलामी  प्रक्रिया पनि अघि बढेन, सम्बन्धितलाई फिर्ता पनि हुन सकेको छैन; दबाबले अलमल भएको छ,' राजस्व अनुसन्धान विभागका एक अधिकृतले भने।

राजस्व छलेको प्रमाणित भए सामान जफत हुने र सामानको मूल्यांकन बराबर जरिवाना तिर्नुपर्ने भन्सार ऐनमा व्यवस्था छ। ९० लाख मूल्यांकन भएको यो सामान धनीले १ करोड ८० लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ।

वैशाख २८ गते ना ६ ख ५०६५ नम्बरको ट्रक भन्सार पास भएर निस्कँदै गर्दा भैरहवा भन्सार कार्यालयको दुई नम्बर गेटबाट फर्काइयो। पछि भन्सार प्रमुख शाक्यले दबाब दिएर पास गर्न लगाए।  कर्मचारीबीच कुरा नमिल्दा गाडी भन्सारमै थन्कियो। यो विषयमा अहिले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा चलिरहेको छ।

कारोबारी राजु थापा, राजकुमार गुप्ता रजनीश गुप्ता लगायतले भन्सारमा सेटिङ मिलाएर चलाएको तस्करीको धन्दामा सेटिङ मिलाउन पूर्वसशस्त्र प्रहरी निर्मल तिवारी खटिएका छन्। यही समूहले भैरहवा भन्सार कार्यालयमा दैनिक कम्तीमा ४० लाख रुपैयाँ राजस्व छली गरिरहेको स्रोतको दाबी छ। स्रोतका अनुसार, तिवारीले  सशस्त्रको राजस्व गस्ती डण्डा र तस्करबीच कनेक्सन गराएका छन्। नेपाल प्रहरीका घुमुवा असई अवदेश यादव र रामसकल यादव पनि तस्करीको सेटिङमा खटिएका छन्। यही कारण राजस्व गस्ती भन्सारमा भइरहेको राजस्व छलीमा मौन बस्दै आएको छ। कारोबारी थापाका दुई गाडी राजस्व अनुसन्धान विभागले केही महिना पहिले काठमाडौंमा नियन्त्रणमा लिएर सामान जफत गरी तीन करोड ९० लाख रुपैयाँ जरिवाना गरेको थियो।

बिहीबार एउटै प्रज्ञापनपत्रमा दुई ट्रक पास गराउने काम दाहाल कमिसन एजेन्टले गरेको थियो। दाहाल कमिसन एजेन्टका जगत दाहालले तस्करहरुले आफूलाई फसाएको प्रतिक्रिया दिए। दाहाल भन्सारका पूर्वनायब सुब्बा हुन्। केही वर्षअघि सेवा निवृत्त भएका दाहालले भन्सार एजेन्टको काम थालेका थिए।

भैरहवा भन्सार कार्यालयका  प्रमुख शाक्यले एउटै प्रज्ञापनपत्रबाट दुई गाडी पास हुन लागेको सूचना पाएपछि गाडी नियन्त्रणमा लिएर अनुसन्धान  गरिरहेको बताए। ‘भन्सारमा  केही कमजोरी  हुन सक्छ, अरुबारे पनि अनुसन्धान भइरहको छ,' उनले भने।


 

प्रकाशित: २९ श्रावण २०७४ ०७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App