१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आक्रमक खेल्ने अल्बानियाको लक्ष्य

लियोन- फ्रान्स र स्विट्जरल्यान्डविरुद्ध हारे पनि रक्षापंक्तिमा उत्कृष्ट प्रदर्शन गरेको अल्बानियाका प्रशिक्षक जियानी डे बिएसीले आइतबार रोमानियाविरुद्ध आक्रामक खेल्दै गोल गर्नुपर्ने बताएका छन्।

अल्बानिया पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–० ले पराजित भएको थियो भने फ्रान्सलाई अन्तिम मिनेटमा सम्हालिन नसक्दा २–० को नतिजा सुम्पेको थियो। तथापि अल्बानियाले प्रदर्शन तारिफयोग्य थियो।

नकआउट चरणको सम्भावना जीवित राख्न पनि रोमानियालाई समूह चरणको अन्तिम खेल गर या मरको स्थितिमा छ। पहिलो खेलमा फ्रान्ससँग २–१ ले पराजित रोमानियाले दोस्रोमा स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको थियो।

‘मलाई विश्वास छ हामी अर्को चरणमा छनोट हुनेछौं,’ प्रशिक्षक डे बिएसीले भने, ‘हामीले गोल गर्न सक्यौं भने ३ अंक बटुल्छौं र यसले हामीलाई अर्को चरण पुग्न मद्दत गर्नेछ।’

६० वर्षे डे बोएसीले अघिल्लो खेलमा गरेको गल्ती दोहोर्‍याउन नहुने बताए। फ्रान्ससँगको खेलपछि उनले भनेका थिए, ‘मेरो टोलीले अन्तिमसम्म संघर्ष गरिरह्यो तर त्यसलाई जोगाउन सकेनौं। जब पाएको अवसरमा गोल गर्न सक्दैनौं भने राम्रो नतिजा निकाल्न सकिँदैन। अन्तिम समयमा गोल खाए पनि मेरो टोलीले अहिलेसम्म धेरै राम्रो प्रदर्शन गरिरहेको छ।’

मिडफिल्डर बोग्डन टान्कु युरोपियन च्याम्पियनसिपमा दुई गोल गर्ने रोमानियाका पहिलो खेलाडी बने। फरवार्ड टान्कु, रक्षक राजभन राट र  मिडफिल्डर मिथाइ पिन्टिलीको प्रदर्शनमा रोमानियाले सुखद नतिजा निकाल्ने आशा राखेको छ। स्विट्जरल्यान्डविरुद्ध वैकल्पिक खेलाडी रहेका फ्लोरिन एन्डोनी आइतबार पहिलो रोजाइमा पर्न सक्छन्।

‘अल्बानियाविरुद्ध हामी मानसिक रूपमै विजेता भएर खेल्नुपर्छ,’ एन्डोनीले भने, ‘यो निकै कठिन समय हो किनकि अल्बानिया पनि धेरै राम्रो टोली हो। उनीहरू धेरै दौड्न सक्छन् र आक्रामक पनि छन्। त्यसका बाबजुद पनि हामी शतप्रतिशत दिएर जितमा केन्द्रित हुन्छौं।’

प्रकाशित: ५ असार २०७३ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App