१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रसुवाका पहिरो पीडितलाई चीनको सहयोग

चीन सरकारको तर्फबाट रसुवाका प्रजिअ न्याैपानेलाई राहत सामग्री हस्तान्तरण गर्दै कर्णेल गाओ हुईहुई। तस्विरः हिमनाथ

रसुवा— चीन सरकारले सीमावर्ती रसुवा जिल्लाका पहिरो पीडितलाई राहत सामग्री प्रदान गरेको छ। केरुङ फ्रन्टियर इन्सपेक्सन स्टेसनका कर्णेल गाओ हुईहुई नेतृत्वको टोलीले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सामग्री हस्तान्तरण गरेको हो।

पहिरोका कारण विस्थापित भएका रसुवाबासीलाई आवश्यक पर्ने चामल, चिनी, तेल र अन्य खाद्य सामाग्री चिनियाँ टोलीले प्रमुख जिल्ला अधिकारी एवं समिति अध्यक्ष चोमेन्द्र न्यौपानेलाई हस्तान्तरण गरेको हो। मंगलबार सदरमुकाम धुन्चेमा एक कार्यक्रमबीच चिनियाँ टोलीले राहत सामग्री नेपाली पक्षको जिम्मा लगाएको हो। समितिको भण्डार कक्षमा राखिएको २० बोरा चामल सहितको सामग्री पीडितलाई छिटै प्रदान गरिने बताइएको छ। चिनियाँ पक्षले ४७ कार्टुन खानेतेल, बदाम, पाउडर दूध, चिनी र प्याकिङ मासु प्रदान गरेको हो।

चीन सरकारले प्रदान गरेको सहयोग छिटै ती पीडित समक्ष पुर्‍याउने प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए।

वर्षासँगै आइतबार राति गएको पहिरोको कारण रसुवाको दुई बस्ती विस्थापित भएका छन्। जिल्लाको उत्तरगया गाउँपालिका–४ पैरेवेशीका २७ परिवार र कालिका गाउँपालिका–२ घुम्ती बजारका दुई परिवार विस्थापित भएका हुन्। चीन सरकारले प्रदान गरेको सहयोग छिटै ती पीडित समक्ष पुर्‍याउने प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए।

विस्थापित भएका उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ। कालिकाका २ परिवार नेपाल सरकारले निर्माण गरेको सामुहिक आवासमा गएर बसेका छन्। पैरेवेशीका २७ परिवारलाई त्रिसुली थ्रि ए जलविद्युत आयोजनाको हबमा राखिएको छ।

विस्थापित भएका पहिरो पीडितलाई खानेपानी, खाद्यान्न तथा शौचालयको अभाव भएको छ। पहिरोले घर पुरिएपछि घरभित्र रहेका अन्नवाली समेत नष्ट भएको छ। पीडितलाई खाद्यान्न, औषधी, लत्ताकपडा लगायतका अतिआवश्यक सामाग्री अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय रसुवाले काम थालेको छ।

दैविप्रकोप उद्धार समितिको आकस्मिक बैठक
वर्षासँगै आएको पहिरोले जिल्लाको तीन ओटा गाउँपालिका अति प्रभावित भएपछि जिल्ला दैविप्रकोप उद्धार समितिको आकस्मिक बैठक बसेको छ। मंगलबार समितिका अध्यक्ष एंवम प्रमुख जिल्ला अधिकरी चोमेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बैठकले २० बुँदे निर्णय पारित गरेको छ। बैठकले पहिरो पीडितको उचित व्यवस्थापन, उच्च जोखिममा रहेको बस्तीको स्थान्तरण, पहिरोले घरवारबिहीन भएकाहरुको लागि खाद्यान्न सहयोग लगायतका निर्णय पारित गरेको हो।

बाढीपहिरो पीडितको अवस्थाबारेमा स्थानीय प्रहरीमार्फत तथ्याङ्क संकलन गर्ने,  घटनास्थलमा स्वास्थ्यकर्मी परिचालन गर्ने, खानेपानी तथा अस्थायी शौचालय निर्माणका लागि तत्कालका काम सुरु गर्न निर्देशन दिने, घाइते भएका पशुवस्तुको उपचारका लागि पशुस्वास्थ्यकर्मीलाई तत्काल खटाउने र राहत वितरण कार्यमा एकद्धार नीतिमार्फत गर्ने लगायतको निर्णय भएका छन्।

बैठकमा पूर्ण क्षति भएका १५ घर तथा अन्य घरहरुको पुनर्निर्माणका लागि भवन डिभिजन कार्यालयमार्फत माथिल्लो निकायमा अनुरोध गरी पठाउन सम्बन्धित गाउँपालिकाहरुले प्रहरी प्रतिवेदन सहित जिल्ला प्रशासन कार्यालयमा विवरण उपलब्ध गराउने निर्णय गरिएको समितिले जनाएको छ।

अविरल वर्षापछि आइतबार राति गएको पहिरोमा पुरिएर उत्तरगया गाउँपालिका–४ पैरेवेशीका एकै परिवारका तीन जनाको ज्यान गएको थियो। जिल्ला प्रशासनले सोमबार पनि पीडितलाई राहत एवं क्षतिपूर्ति वितरण गरेको थियो।
 

प्रकाशित: २४ श्रावण २०७४ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App