१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेयर बजार निरन्तर उकालो

काठमाडौं- लगानीयोग्य पुँजी अभाव हट्ने संकेत, बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश रकम घोषणा गर्ने समय नजिकिँदै गएको लगायत कारणले सेयर बजार मापक नेप्से निरन्तर उकालो लागेको छ। सेयर बजार करिब एक महिनायता निरन्तर रुपमा बढेको छ।  गत असार २० गते १५४१.२८ बिन्दुमा रहेको नेप्से सोमबार बढेर १६६७.९२ मा आइपुगेको छ।

एक महिनाको बीचमा नेप्से १२६.६४ बिन्दुले उकालो लागेको छ। पछिल्लो करोबार दिन सोमबार नेप्से सूचक २.८९ बिन्दुले बढेर १६६७.९४ मा आइपुगेको छ।

नेप्से यसअघि बनाएको रेकर्ड पछ्याउँदै अघि बढेको छ। अघिल्लो वर्षको साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से पुनः त्यही बिन्दु पछ्याउँदै अगाडि बढ्न थालेको छ।

लगानीयोग्य पुँजीको अभाव हट्ने सम्भावना देखिएकाले पनि सेयर बजार बढेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले सोमबार नागरिकलाई बताए। 'तरलता अभावले सेयर बजारमा गिरावट आएको थियो,' उनले भने, 'तर, विस्तारै तरलता सहज हुन थालेपछि सेयर बजार बढ्न पुगेको हो।'

बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट उच्च प्रतिफल दिने अनुमान गर्न थालिएकाले पनि नेप्से उकालो लागेको उनको भनाइ छ। 'बैंक तथा वित्तीय संस्थाले भदौ महिनादेखि लाभांश घोषणा गर्न थाल्छन्,' उनले भने, 'त्यसरी बाँड्ने लाभांश हात पार्न पनि लगानीकर्ताले सेयर खरिद गर्न थाल्दा सेयर बजार बढेको हो।'

विगत १४ वर्षमध्ये १२ वर्षको विवरणले वैशाखदेखि भदौसम्म बजार बढेको देखाउँछ। अहिलेे पनि त्यही बाटो रोज्न थालेको लगानीकर्ताह बताउँछन्।

बजार एकोहोरो घटेपछि पुनः सुधार आएको अर्का एक विश्लेषकले नाम उल्लेख नगर्ने सर्तमा बताए। '१८८१.४५ को बिन्दु पार गरेर नेप्सेले ऐतिहासिक रेकर्ड बनाएको थियो। पछिल्लो समय त्यसलाई  पछ्याउँदै १२७ बिन्दुले सुधार आएर १६६७.९४ मा पुगेको छ,' उनले भने, 'यो अंकमा सुधार आएर आगामी दिनमा नेप्सेको नयाँ रेकर्ड पछ्याउँदै अगाडि बढ्ने देखिन्छ।'

बैंक तथा वित्तीय संस्थाले असार मसान्तसम्मको नाफाबाट धमाधम लाभांश वितरण गर्न थालेकोले बजारमा सुधारको संकेत देखिएको अध्यक्ष रेग्मीले बताए। 'लगानीकर्ताले बोनस र हकप्रद सेयर पाउने आसमा सेयर किन्दा परिसूचक उच्च बिन्दुले बढेको हो,' उनले भने, 'सामान्य रुपले घट्न गएपछि ठूलो अंकले घट्ने सम्भावना देखिँदैन, बरु बढ्ने संकेत देखिएको छ।'

बैंक तथा वित्तीय संस्थाले गत असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्न थालेसँगै सेयर बजार उकालो लागेको छ। उनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा अधिकांशको नाफा उच्च दरमा बढेपछि सेयर बजार पनि उकालो लाग्न पुगेको हो।

नेप्सेमा लगातारको बढोत्तरीलाई लगानीकर्ताले सुधार देखिएको आएको भन्न थालेका छन्। नेप्सेमा सूचीकृत कम्पनीहरुले गत वर्षको कमाइबाट धमाधम लाभांश घोषणा गर्ने समय नजिकिन थालेपछि बजारमा उत्साह थपिएको उनीहरुको भनाइ छ।

नेप्सेसँगै कारोबारमा पनि सुधार आएको छ। नेप्सेमा सुधार आउदाँ कारोबार रकम पनि झन्डै १ अर्बकै हाराहारीमा पुगेको हो। बजारमा तरलता अभाव भएका बेला दैनिक औसतमा ५० करोड रुपैयाँ हाराहारीमा सेयर कारोबार हुने गरेको थियो।

सोमबार एक सय ५९ कम्पनीको ९४ करोड ६८ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ। यस दिन ३९ लाख ४२ हजार पाँच सय ४८ कित्ता सेयर कारोबार भएको हो। सूचीकृत आठवटा समूहमध्ये पाँच समूहका सूचक बढेका छन्। तीन समूहका घटेका छन्।

सबैभन्दा धेरै होटल समूहको सूचक १९.६५ बिन्दुले बढेको छ। यसैगरी, नेपाल टेलिकम र जलविद्युत लगानी तथा विकास बैंकको वर्चस्व रहेको अन्य समूह १३.८८ बिन्दुले बढेको छ।

सबैभन्दा धेरै हाइड्रोपावर समूहको सूचक १०.५३ बिन्दुले तल झरेको छ। कारोबार रकममा नागरिक लगानी कोषले अग्रता लिएको छ। नागरिक लगानी कोषको ६ करोड ७२ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको हो। यसैगरी, कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ र नेपाल लाइफ इन्स्योरेन्स परेका छन्।

प्रकाशित: २४ श्रावण २०७४ ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App