१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पपीडित किस्ता पाउनबाट वञ्चित

सिन्धुपाल्चोक- खर्चको अख्तियारी नआउँदा भूकम्पपीडित दोस्रो र तेस्रो किस्ता अनुदान पाउनबाट वञ्चित भएका छन्। ओत लाग्न ऋणसापट गरेर पुनर्निर्माणमा जुटेका पीडितले अनुदान नपाउँदा थप समस्यामा परेको बताएका छन्। नयाँ आर्थिक वर्ष सुरु भएपछि पीडितले अनुदान किस्ता पाउन सकेका छैनन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खर्चको अख्तियारी नदिँदा दोस्रो र तेस्रो किस्ता पीडितलाई निकासा दिन नसकेको जिल्ला समन्वय समितिका योजना अधिकृत राजेन्द्र नेपालले बताए । ‘प्राधिकरणलाई खर्चको अख्तियारी दिन अनुरोध गरिरहेको छौं । तर सुनुवाइ भएको छैन,’ उनले नागरिकसँग भने । उनका अनुसार अनुदान निकासाका लागि प्राविधिक प्रमाणीकरण भएर समन्वय समितिमा आएका फाइलको चाङ लागेको छ ।

प्राधिकरणले अनुदान वितरण गर्न समन्वय समितिलाई खर्चको अख्तियारी दिने र सहरी विकास तथा भवन निर्माण डिभिजन, जिल्ला आयोजना कार्यान्वयन एकाइ (डिएलपिआइयू) को प्रमाणीकरणका आधारमा कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत सम्बन्धित पीडितको बैंक खातामा अनुदान किस्ता जाने प्रक्रिया थियो । ‘परिवर्तित संरचनामा समन्वय समितिले नै किस्ता वितरण गर्ने कि सम्बन्धित स्थानीय तहमा अधिकार प्रत्योजन गर्ने भन्ने नै अन्योल छ,’ योजना अधिकृत नेपालले भने ।

खर्चको अख्तियारी नआउँदा दुई हजारभन्दा बढी पीडित दोस्रो र तेस्रो किस्ता पाउनबाट वञ्चित भएको उनले बताए । समन्वय समितिले अनुदान वितरण गर्न नसके पनि आयोजना कार्यान्वयन एकाइले भुक्तानीका लागि प्राविधिक प्रमाणीकरण र सिफारिस गर्न भने छोडेको छैन । तर, आर्थिक वर्ष सुरु भएको दुई साता बितिसक्दा खर्चको अख्तियारी नपाएको समन्वय समितिले सिफारिस नबुझेर फिर्ता गर्न गरिरहेको छ ।

जुगल गाउँपालिका, हगामका बुद्धसिंह तामाङले घर निर्माण सम्पन्न गरेको तीन महिना बित्दासम्म दोस्रो किस्ता पाउन नसकेको गुनासो गरे । तेस्रो किस्ताको हकदार भइसकेका उनी अस्थायी टहरो विस्थापित गर्दै छानोमुनि प्रवेश गरेकै दुई महिना बितिसकेको छ । ‘वैशाखमै प्राविधिक आएर निरीक्षण गरी गएका हुन्,’ उनले भने, ‘दोस्रो किस्ता आएन न प्राविधिक नै फर्केर आएका छन् ।’ घर बनाउँदा चार लाख रुपैयाँ ऋण लागेका उनको किस्ताबाटै साँवा र ब्याज तिर्ने योजना थियो ।

गाउँमा खटिने प्राविधिक, अन्य जनशक्तिको अभाव, झन्झटिलो प्रशासनिक प्रक्रिया, स्थानीय तह कार्यान्वयनका जटिलता र चुनावलगायत कारण भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकको पुनर्निर्माण नराम्ररी प्रभावित हुँदै आएको छ । स्थानीय तह निर्वाचनको समयमा चुनावअघि र पछि गरी झन्डै डेढ महिना अनुदान किस्ता वितरण रोकिएको थियो । समन्वय समितिका अनुसार सोही कारण पीडितलाई अनुदानमा प्राधिकरणले खर्चको अख्तियारी दिएको ९९ सय करोडमध्ये ४५ करोड रुपैयाँभन्दा बढी फिर्ता (फ्रिज) भएको थियो ।

जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार दोस्रो किस्ता माग गर्दै निवेदन दिएका ११ हजार ९७ मध्ये नौ हजार सात सय ९८ को मात्रै भुक्तानीका लागि प्राविधिक प्रमाणीकरण भएको छ । यसमध्ये सरकारी अनुदान र संघ–संस्थाको सहयोगबाट झन्डै सात हजारले मात्र दोस्रो किस्ता पाएको समन्वय समितिको तथ्यांक छ । ‘संघ–संस्थामार्फत बाहेक सरकारका तर्फबाट एकजनाले पनि तेस्रो किस्ता पाउन सकेका छैनन्,’ अनुदान वितरणको जिम्मेवारी पाएका योजना अधिकृत नेपाल बताउँछन् । उनका अनुसार संघ–संस्थामार्फत झन्डै तीन सयले तेस्रो किस्ता पाएका छन् ।

पहिलो किस्ता ५० हजार रुपैयाँ लिएर घर बनाउन थालेका पीडितलाई दोस्रो किस्तामा डेढ र तेस्रो किस्ताबापत एक लाख रूपैयाँ दिने सरकारको नीति छ । भवन डिभिजन, आयोजना कार्यान्वयन एकाइका इन्जिनियर टंक गौतमका अनुसार जिल्लामा १४ हजार आठ सय पाँच घर निर्माणाधीन छन् । भवन संहिताअनुसार संरचना नबन्दा दोस्रो किस्ता माग गर्ने तीन सय २४ पीडितको निवेदन प्रमाणीकरण हुन नसेको उनले बताए ।

त्यस्तै ६ सय ६५ ले तेस्रो किस्ता माग गर्दै निवेदन दिएकोमा चार सय ४५ को मात्र भुक्तानी प्रमाणीकरण भएको छ । १० पीडितको संरचना भवन संहिताअनुरूप नभएको भन्दै तेस्रो किस्ता भुक्तानी प्रमाणीकरणमा पर्न सकेन । चार हजार १३ घर निर्माण सम्पन्न भएको आयोजना कार्यान्वयन एकाइको तथ्यांक रहे पनि ती सबैले दोस्रो र तेस्रो किस्ता पाउन सकेका छैनन् । ‘पुनर्निर्माणले राम्ररी गति नलिइरहेका बेला किस्ता रोकिँदा नकरात्मक सन्देश जान्छ,’ इन्जिनियर गौतम भन्छन्, ‘यसले पुनर्निर्माणलाई नै प्रभाव पार्छ ।’

पहिलो किस्ता पाएका साढे ५८ हजारभन्दा बढीले अझै पुनर्निर्माण थालेका छन् । कार्यान्वयन एकाइका अनुसार साढे ७३ हजारले पहिलो किस्ता बुझेका थिए । साढे तीन हजारभन्दा बढी पीडितसँग अझै अनुदान सम्झौता हुन सकेको छैन ।

जुगल गाउँपालिका, हगामका बुद्धसिंह तामाङले ऋणधनको चार लाख खर्च गरेर बनाएको घर । पहिलो किस्ता ५० हजार रुपैयाँ पाएपछि घर बनाउन थालेका उनले पुनर्निर्माण सकेको तीन महिना बित्दा पनि दोस्रो किस्ता पाएका छैनन् ।

 

               

प्रकाशित: १८ श्रावण २०७४ ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App