१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

बिरामीका वरदान सुदीप

‘भविष्यमा के बन्छौ ?’ स्कुलमा शिक्षकले उनलाई सोधेका थिए । उनको जवाफ थियो– डाक्टर । बाल्यकालमा कसैलाई परिचय दिँदा भविष्यमा डाक्टर बन्ने सपना सुनाउन बिर्संदैनथे उनी । 

बाल्यकालमा सजाएका धेरैका यस्ता सपना पूरा हुँदैनन् । तर, उनी अर्थात् डा. सुदीप श्रेष्ठले भने बाल्यकालमा सजाएकै सपना पूरा गरे र बने सफल चिकित्सक । 

बालमस्तिष्कमा बसेको डाक्टर बन्ने रहरले उनको पढाइ पनि त्यतै मोडियो । ०४७ सालमा श्रेष्ठले भारतको जवाहरलाल इन्टिच्युट अफ पोस्टग्य्राजुएट मेडिकल एजुकेसन एन्ड रिसर्च कलेजबाट एमबिबिएस गरे, त्यसपछि नेपाल आए । नेपालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र वीर अस्पतालमा केही समय काम गरे । आफ्नो सोचअनुसार काम गर्न नपाएपछि उनले रोजे भारतको नयाँदिल्लीस्थित राजीव गान्धी अस्पताललाई । राजीव गान्धी अस्पतालमा आबद्ध भएर काम गर्दा उनले बिरामीको समस्या नजिकबाट बुझ्ने मौका पाए । 

लोकसेवा पास गरेर भक्तपुर क्यान्सर अस्पतालमा पाँच वर्ष बिताएका उनले सरकारी क्षेत्रमा बसेर सुधार गर्न सजिलो रहेनछ भन्ने महसुस गरे । त्यसपछि उनले सुरु गरे, आफ्नै अस्पताल खोल्ने अभियान । त्यही अवधारणामा जन्मिएको हो– हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर । 

दिल्ली पुगेर उपचार गराउने नेपालीको समस्या देख्दा उनको मन कुँडिन्थ्यो । यो ०५५ सालतिरको कुरो हो । त्यसबेला नेपालबाट विशेषगरी क्यान्सरको उपचार गराउन जानेहरू धेरै हुन्थे । तिनले पाउने सास्ती र दुःखको लेखाजोखा थिएन । 

‘नेपालबाट क्यान्सरको उपचार गराउन गएका धेरै बिरामीको दुःख देखेँ,’ उनी भन्छन्, ‘अस्पतालमा बिरामीको भीड हुन्थ्यो, सबैभन्दा बढी दुःख नेपालीले पाएका हुन्थे ।’ 

बिरामीको अवस्था र दुःख देख्दा उनलाई काम सुरु गरेको महिनादिनमै नेपाल फर्किएर क्यान्सर अस्पताल खोल्छु भन्ने सोच आउँथ्यो । तर, अनुभव नभई अस्पताल खोलेर कसरी अघि बढाउने ? उनी दुई वर्ष त्यहीँ अडिए । 

०५७ सालमा उनी नेपाल फर्किए । नेपाल फर्किएपछि पाँच वर्ष भक्तपुर क्यान्सर अस्पतालमा काम गरे । छुट्टै हस्पिटल खोल्ने सोच भएका सुदीप लगानीको अभावमा त्यसलाई मूर्तरूप दिन सकिरहेका थिएनन् । 

भक्तपुर क्यान्सर अस्पतालमा आबद्ध रहेका बेला उनले व्यवसायी र चिकित्सकलाई आफ्नो योजना सुनाए । उनको योजना थियो, सबैखाले क्यान्सरको उपचार हुने र क्यान्सर अध्ययन गर्ने अस्पताल नेपालमै खोल्नु । योजना पूरा गर्न उनी लामो समय सहयोगका लागि भौँतारिए । 

लोकसेवा पास गरेर भक्तपुर क्यान्सर अस्पतालमा दश वर्ष बिताएका उनले सरकारी क्षेत्रमा बसेर सुधार गर्न सजिलो रहेनछ भन्ने महसुस गरे । त्यसपछि उनले सुरु गरे, आफ्नै अस्पताल खोल्ने अभियान । त्यही अवधारणामा जन्मिएको हो– हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर । 

आफ्नो अवधारणालाई मूर्त रूप दिन उनले विभिन्न व्यवसायीलाई लगानीका लागि आग्रह गरे । केही व्यवसायी लगानी गर्न तयार भएपछि उनले करिब डेढ करोड लागतमा अस्पताल सुरु गरे । त्यसमा साथ दिइन्, उनकी श्रीमती स्वरूप श्रेष्ठले । उनीहरूले हरिसिद्धिमा टुक्रा–टुक्रा जग्गा जोडेर भवन बनाउन सुरु गरेका थिए । 

‘अस्पताल बनाउने अवधारणा बनाउँदा हामीसँग १५ हजार रकम थियो,’ उनी भन्छन्, ‘विभिन्न अस्पतालमा काम गर्दै जाँदा बाहिरी सम्बन्ध राम्रो भइसकेकाले धेरैको आर्थिक सहयोग पाइयो ।’ 

श्रेष्ठले खोलेको क्यान्सर अस्पतालमा अहिले सबैखाले क्यान्सरको उपचार हुन्छ । रेडियो थेरापी, किमो थेरापी र क्यान्सर रोगका आधुनिक उपकरणहरू भित्रिसकेका छन् । ‘हामीले प्यालिएटिभ केयरको क्षेत्रमा अन्यत्रभन्दा राम्रो गरेका छौँ,’ उनी भन्छन्, ‘क्यान्सरका बिरामीको मृत्युलाई हामीले पोजेटिभ बनाइदिएका छौँ ।’ 

बाल्यकालदेखि नै चिकित्सक बन्ने रहर पालेका उनी चिकित्सक भइसकेपछि ०५३ सालतिर शिक्षण अस्पतालको एउटा कार्यक्रममा सहभागी भएका थिए । त्यस कार्यक्रममा उनले क्यान्सरको अवस्थाबारे जानकारी पाए । त्यतिबेला धेरैलाई क्यान्सरबारे थाहा थिएन । बिरामीलाई क्यान्सर लाग्दा अस्पताल ल्याइँदैनथ्यो । 

‘त्यसबेला क्यान्सर लागेपछि मरिन्छ भन्ने आमबुझाइ थियो,’ उनले सुनाए, ‘उनीहरूको त्यो सोचलाई चिरफार गर्नकै लागि मैले अस्पताल खोल्ने आँट गरेँ ।’ 

प्रकाशित: १३ श्रावण २०७४ १०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App