१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

शेरको अन्तर्वार्ता

आऽऽ कति मात्रै मान्छेको अन्तर्वार्ता लिनु ! अब एकचोटि जंगली पशुपक्षीको पनि अन्तर्वार्ता लिनुपर्ला । आखिर पृथ्वी ती पशुपक्षीको पनि साझा वासस्थान हो । यो पृथ्वीबारे उनीहरू के विचार राख्छन् ? पृथ्वीका मानिसबारे उनीहरू के सोच्छन् ? आफ्नो जंगलबारे उनीहरूको के धारणा छ ? यो पनि त पत्रकारितामा ‘स्कुप’ हुन सक्छ नि । एउटा नयाँ प्रयोग, नयाँ टेस्ट ।

एउटा टिभी स्टेसनका पत्रकारबीच यस्तो छलफल चल्यो । सधैँ मोनोटोनस किन गर्ने ? कहिलेकाहीँ नयाँ पनि गर्नुपर्छ । पत्रकारको यो बहस सम्पादकलाई मन प¥यो । अन्तर्वार्ता त गर्ने तर पहिलो अन्तर्वार्ता कोसँग गर्ने ? बाघसँग गर्ने कि ? भालुसँग गर्ने कि ? अथवा स्याल, फ्याउरा आदिसँग गर्ने ? लामो दिमाग खियाईपछि अन्त्यमा एउटा निष्कर्ष आयो– जब जंगली पशुपक्षीसँग अन्तर्वार्ता नै गर्दै छौँ भने किन जंगलको राजाबाटै सुरु नगर्ने ? पहिलो अन्तर्वार्ता जंगलका राजा शेरबाट थालौँ । त्यसपछि अरुको पनि पालो आउला ।

अतः पत्रकारको अन्तर्वार्ता टोली लाग्यो जंगलतिर, शेरलाई भेट्न । अचेल जंगलमा शेर भेट्नु सजिलो काम होइन । झन्डै लोप हुन लाग्या वन्यजन्तु हो यो । भेटाउन गाह्रो छ । पत्रकार टोलीको भाग्य ! जंगलमा एकछिन के डुलेको थियो, शेर भेटिहाल्यो । अब अन्तर्वार्ताका लागि शेरलाई तयार गर्नु छ । त्यहाँ पनि भाग्य ! शेर अन्तर्वार्ताका लागि पनि तयार भइहाले । बडो गजब भयो । शेर त जंगलको राजा । सायद अन्तर्वार्ताका लागि तयार हुँदैनन् होला, अथवा फुर्सदै पनि छैन कि भन्ने लागेको थियो । तर त्यस्तो केही भएन । सीधै अन्तर्वार्ता लिन सकिने अवस्था भयो । र, अन्तर्वार्ता सुरु भयो । 

काटिएको रूखको एउटा ठुटोमा शेर, अर्कोमा अन्तर्वार्ताकार । दायाँबायाँ क्यामेरा, लाइट, बुमर । सब रेडी । अन्तर्वार्ताकारले पहिलो प्रश्न गर्दै थियो, ‘शेरजी...’
‘हाँ.. शेरजी ? कसरी सम्बोधन गरेको यो ?’ जुरुक्क उठेर शेर बोले, ‘जंगलको राजालाई यसरी नामले सम्बोधन गर्ने हो ?’

‘क... कसरी सम्बोधन गर्ने ?’ अन्तर्वार्ताकार हडबडाए ।
‘महाराज भनेर सम्बोधन गर्ने । कहिले महाराजको अन्तर्वार्ता लिएको भए पो थाहा हुन्थ्यो,’ शेरले गर्जनसहित भने ।

‘ए... हुन्छ महाराज । शेर महाराजलाई अब महाराज नै भन्छु । गल्ती भएकामा क्षमा पाउँ महाराज,’ अन्तर्वार्ताकार गले ।

‘ल हुन्छ । अब सुरु गर,’ शेर पुनः पहिलेकै पोजिसनमा बसे । 
‘जंगलको राजा हुन पाएकामा महाराजलाई कस्तो अनुभव भइरहेको छ ?’ पहिलो प्रश्न सुरु भयो ।

प्रश्न सुनेर शेर त गडगड हाँस्न पो थाले– हा हा हा हाऽऽ । शेरको हँसाइले पूरा जंगलै गुञ्जायमान भयो । अन्तर्वार्ता लिन आएका पत्रकार भने जिल्ल परे । किन हाँसेको होला महाराज ! 

‘बडो अनौठो प्रश्न ग¥यौ,’ शेरले बोल्न थाल्यो, ‘राजा हुन पाउनुजतिको खुसीको कुरा अरु के होला हँ ? जंगलको राजा हुने त मेरो वर्षौंको सपना हो । तर सपना पालेर के गर्नु । भन्नेबित्तिकै हुन पाइने होइन । यसपालि बल्ल मौका जु¥यो । हुन पाएँ । बडो आनन्द लागिरहेको छ, (हा हा हा, हे हे हे, हो हो हो) ।’ 

यत्तिकैमा अर्का अन्तर्वार्ताकारले प्रश्न राखे, ‘महाराज, जंगलमा राजा मात्र परिवर्तन हुन्छन् तर जंगलको अवस्थामा भने केही परिवर्तन आएन भनिन्छ, के त्यो सही हो ?’

जवाफको साटो शेर सुरुमा गर्जिए र भने ‘मलाई यो प्रश्न मन परेन । अर्कै सोध ।’
‘अर्को ? त्यो त सोधौँला । तर यसको जवाफ नि दिनोस् न ।’

शेर फेरि गर्जिए र भने, ‘आफूलाई मनै नपरेको प्रश्नको जवाफ कसरी दिने ? आफूलाई मन नपरेपछि हामी सामुन्ने आएको सिकार पनि छोड्ने गर्छौं । ल अर्कै सोध । सोध !’

टेलिभिजन टोली थरर्र्र कामे । नोट बुकमा टिपेर ल्याएका प्रश्न हेर्न थाले । यस्तो अवस्थामा अब के सोध्ने, के नसोध्ने । तै पनि एउटा प्रश्न सोधियो, ‘महाराज, बाहिर बाहिर देशतिरको जंगलमा त राजा हुने शेरहरू अलि अलि तालिम पनि लिएका, अलि अलि सर्कस पनि जानेका, अलि अलि बुझेका पनि हुन्छन् रे । तर नेपालमा त्यस्तो हुन सकेको छैन, किन होला ?’

प्रश्न सोधिरहेकै बेला शेरले जिब्रो लपलपाइसकेको थियो । मुख आँऽऽ गर्न थाल्यो । गर्जन भने भित्रभित्रै दबिइरहेको बुझ्न सकिन्थ्यो । ‘अब तिमीले भन्न खोजेको के ? हँ, भन्न खोजेको के ?’ शेरले आफ्नो ठाउँबाट उठुँ–उठुँ जस्तो गरे, ‘बाहिरका शेरहरू तालिमप्राप्त छन् भन्दैमा के म पनि अब तालिम लिन जाउँ ? के म पनि अब सर्कसतिर जाउँ ? म अब उता सर्कसको तालिम लिन जाउँ कि यता राजा भएर जंगल चलाउँ ? के भन्न खोज्या हो ?’

शेरको स्वर पनि चर्को र तिख्खर हुन थाल्यो । अब यस्तो अवस्थामा बोल्ने के ? सोध्ने के ? शेर अन्तर्वार्ताका लागि तयार भइसकेपछि बीचैमा यसरी आपत् आइपर्ला भनेर अन्तर्वार्ताकारले सोचेको थिएन । त्यहाँ अरुलाई जस्तो सम्झाइबुझाई गर्ने कुरा पनि आएन । शेरलाई कसरी सम्झाउने ? झोँक चल्यो भने काप्लाकुप्लु खाई पो देला कि, के हो के हो !

अन्तर्वार्ता जसोतसो समाप्त भयो । तर जंगलमा भएको त्यो घटना बजारमा बेस्कन चर्चित भइसकेको थियो । अन्तर्वार्ताभन्दा पनि अन्तर्वार्तामा भएको घटनाले बढी चर्चा पायो– अन्तर्वार्ताकारलाई शेरले झपारे ! प्रश्न सोध्नेलाई झन्डै खान लागेका, बच्यो । शेरले पन्जा उचालिसक्याथे तर झम्टेनन् । 

सबैभन्दा बढी त यो सामाजिक सञ्जालमा चर्चा भयो । धेरै मानिसले धेरै प्रकारका कुरा गरे । कसैले तारिफ गरे त कसैले गाली । तैपनि शेर स्वयंको भने आजसम्म यसको प्रतिक्रिया आएको छैन । सायद जंगलमा वाइफाई नहुने भएकाले शेरले अनलाइन–सनलाइन हेर्दैनन् होला । नभए यस्तो बबाल भइसक्दा पनि किन चुप लाग्दा हुन्, जंगलको राजा !    

प्रकाशित: २४ असार २०७४ ०५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App