१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

साँझमा पाइँदैनन् सवारी

सुन्धारा, रत्नपार्क र बसर्पाक क्षेत्रमा सार्वजनिक सवारी कुर्नेको भीड लाग्छ । लामो समय पर्खेपछि आउने आफ्नो रुटका बस, माइक्रो र टेम्पो चढ्न भीडै हुत्तिएर सवारीसम्म पुग्छ । ठेलामठेल, तानातान र घचेटाघचेट्मा तन्नेरी र बलिया सवारी साधानमा चढ्छन् । महिला, बालबालिका, वृद्धवृद्धा र अशक्त भने बाहिरै पर्छन् । 
यस क्षेत्रमा हरेक साँझ देखिने दृष्य हो यो । बर्सेनि यात्रुको संख्या बढ्दो छ । सवारी पनि थपिएकै छन्, तर साँझ परेपछि सवारी नपाइने समस्या भने उस्तै छ । 

‘साँझ ६ बजेपछि बस पाउनै मुस्किल हुन्छ,’ रत्नपार्कमा भक्तपुर जाने माइक्रो कुरिरहेकी विमला भण्डारीले गत शुक्रबार भनिन्, ‘अचेल बेलुका कामबाट फर्कदा बस पाउनै मुस्किल पर्छ ।’ बसपार्कमा आधा घण्टा कुरेपछि मात्रै बस पाइने उनी बताउँछन् । 

दिउँसो सिन्डिकेटका कारण आलोपालो गरेर साधन चलाउने व्यवसायी पनि रातको समयमा भने यात्रुलाई सुविधा दिन सवारी साधन चलाउँदैनन् । त्यसले बेलुखीपख सधैं यात्रुले सास्ती पाउने गरेका छन् । 

विमला मात्रै होइनन्, साँझपख यस क्षेत्रमा सवारी नपाएर छटपटाउने यात्रु धेरै हुन्छन् । दिनभर काम गरेर साँझ घर फर्कन सवारी नपाएपछि धेरै यात्रु बिचल्लीमा पर्ने गरेका छन् । 

‘आज त चाडै घर पुगिएला भनेर कामबाट छिट्टै हिँडेको सात बज्दा पनि बस पाइएन,’ सिनामंगल हुँदै गौशाला जाने बस कुरिरहेका टीकाराम शाहीले भने । उनी हरेक दिन बस कुर्न लामो समय लाग्ने गरेको बताउँछन् । लामो समय बस्ता पनि कहिलेकाँही सवारी साधन नै पाइँदैन ।

दिउँसो सिन्डिकेटका कारण आलोपालो गरेर साधन चलाउने व्यवसायी पनि रातको समयमा भने यात्रुलाई सुविधा दिन यातायात चलाउँदैनन् । त्यसले बेलुखीपख सधैं यात्रुले सास्ती पाउने गरेका छन् । 

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला बेलुका यात्रु नहुने भएकाले सवारी नचलेको बताउँछन् । ‘पिक आवरमा कुन सवारीलाई प्राथमिकता दिने भनेर सरकारले समय तालिका निर्धारण गर्ने हो भने मात्र व्यवसस्थापन गर्न सकिन्छ,’ उनी भन्छन् । 

काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवार बन्दा विद्यासुन्दर शाक्यले १ सय १ प्रतिबद्धता जाहेर गरेका थिए । त्यसबेला उनले घोषणा गरे– ‘महानगरलाई २४ घण्टे जीवन्त सहर बनाउँछु ।’ विद्यासुन्दर महानगर प्रमुख बनेर आएको एक महिना भयो । तर, अहिलेसम्म उनले साँझ र रातको समयमा सवारी साधान चलाउन कुनै पहल गरेका छैनन् । 

महानगर भए पनि काठमाडौंमा साँझ नपर्दै सवारी नपाइने भए पनि ढिलोसम्म काम गर्नेलाई समस्या हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख मिङमार लामा सरकारले हस्तक्षेप नगरी राजधानीको सार्वजनिक यातायात सुधार नहुने बताउँछन् । 

‘अहिले सार्वजनिक सवारी साधन व्यक्ति र निजी संस्थाको नियन्त्रणमा छन्,’ उनी भन्छन्, ‘यसलाई सरकारले नियन्त्रण गर्न नसकेसम्म सर्वसाधारणले बस पाउँदैनन् ।’ यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराई उपत्यकामा डेढ लाखभन्दा बढी सार्वजनिक सवारीसाधन रहेको बताउँछन् । ‘बसको संख्या कम भएकाले यात्रुले बस पाउन नसकेका होइनन्,’ उनी भन्छन्, ‘सडकको अवस्था र व्यवस्थापन नहुँदा समस्या भएको हो ।’ उनले साँझको समयमा बस नपाउनुको मुख्य कारण ट्राफिक जाम नै भएको बताए । 

‘साझँ परेपछि उपत्यकाका सडकमा ट्राफिक जाम सुरु हुन्छ,’ उनले भने, ‘नियमित रुटमा चलेको सवारी साधनलाई जामका कारण गन्तव्यमा पुगेर फर्कन ढिलो हुन्छ, यस्तो हुनासाथ सडकमा बसको अभाव देखिन्छ ।’ भट्टराईले साँझ ६ बजेपछि ८ बजेसम्म सर्वसाधारणलाई बस नपाएर छट्पटिनुपर्ने अवस्था नरहेको दाबी गरे ।
 
‘८ बजेपछि यात्रु नपाइने भएपछि थोरै मात्र सार्वजनिक बस चल्छन्, यसो गर्दा बेलुकीसम्म काम गरेर घर फर्कने यात्रुलाई मर्का पर्छ,’ भट्टराईले भने, ‘हामीले व्यवसायीलाई ९ बजेसम्म सवारी चलाउनुस् भनेर निर्देशन दिइसकेका छौं ।’ 

प्रकाशित: १९ असार २०७४ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App