८ वैशाख २०८१ शनिबार
कला

भुटानबाट लखेटिँदा...

भुटान पिपुल्स पार्टी अध्यक्ष बलराम पौडेल । तस्बिर : भीम चापागाईं

बलराम पौडेलको पुख्र्यौंली घर इलामको साबिक माइमझुवा– १, याङ्मा (हालको सन्दकपुर गाउँपालिका) हो । दक्षिण भुटानको साम्ची जिल्लास्थित बाँडा ब्लक (नगरपालिका) मा २००९ सालमा जन्मेका पौडेल जब पुर्खाको गाउँ (याङ्मा) आइपुग्छन्, उनको भोगाइको ‘भोटाङे कथा’ सुन्न युवा, बालबालिकादेखि वृद्धवृद्धा भेला हुन्छन् । भुटानी शरणार्थीका कथा मन्त्रमुग्ध भएर सुन्छन्, कथाको उतारचढावसँगै घरी हाँस्छन्, घरी गहभरि आँसु पार्छन् । 

भुटानी शरणार्थीको नेतृत्व गरिरहेको दल ‘भुटान पिपुल्स पार्टी’का अध्यक्ष रहेका पौडेल डेढ दशकपछि याङ्मा गाउँ आएका छन् । भुटानी शरणार्थीको कथा उनकै शब्दमा । 

ज्यान बचाउन प्रहरीबाट फुत्किएको राति भीरमा रूखको ठुटोको सिरानी लगाएर सुत्दा खुब निद्रा आएको जीवनभर बिर्सेको छैन । सिरानीबिना त होइन, सिरानीसँगै हुँदा पनि त्यो दिनको जस्तो निद्रा अहिलेसम्म लागेको छैन । त्यसैको स्मरणमा मैले आफ्नो घर नफर्कुन्जेल सिरानी नलगाई सुत्ने संकल्प गरेको छु ।

विवादको बीउ

मेरा पिता देवीचरणको जन्म माइमझुवामै भएको हो या भुटान पुगेपछि भयो भन्ने मलाई ठ्याक्कै थाहा छैन । जेहोस्, पिताजीको नेपाल र आफ्नो गाउँप्रति निकै मोह थियो । नेपालको सम्झना निकै गर्नुहुन्थ्यो । मेरा माइला दाजु म तीन वर्षको हुँदा नेपाल फर्किनुभएछ । हामी भुटानमै बस्यौं ।

चीनको तिब्बत र भारतको दार्जिलिङ छोएको दक्षिण भुटानको साम्ची जिल्लामा पर्ने बाँडा नगरमा नेपालीभाषीको वर्चस्व छ । त्यहीँ मेरो घर थियो । परिवारको २५ ऐकर (१ ऐकरमा १ बिघाभन्दा अलि बढी हुन्छ) जमिन र घर थियो । भुटानमा २५ ऐकरभन्दा बढी जमिनमा हदबन्दी लाग्छ र ५ ऐकरभन्दा कम बेचबिखन गर्न पाइँदैनथ्यो । 

मेरा एक भाइ र एक बहिनी,  दुई छोरा र चार छोरी छन् । पढाइ सकेपछि म समाजसेवामा सक्रिय हुन थालेँ । भुटानमा नेपालमा जस्तो राजनीतिक दल, संघ–संस्था खोल्न पाउने अधिकार थिएन । गाउँमा चुनाव हुँदा व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिनुपथ्र्याे । घरको एकजनाले मात्रै भोट हाल्थे । बाँडा नगरका ६ सय ८० घरमा चुनाव लडेर मैले ८१ भोटले ब्लक मण्डल (नगर प्रमुख) पद जितेँ । ब्लक मण्डल शक्तिशाली पद हो ।

दक्षिण भुटानका ६ जिल्लामा नेपालीभाषीको बाहुल्य थियो । साम्ची, चिराङ, सर्बाङ, फिराङमा सबै नै नेपाली, छुका र साम्डुकजोङखर जिल्लामा नेपाली–भुटानी आधा–आधाजस्तो बस्थे । वास्तविक जनसंख्या ६ लाख हाराहारी थियो, तर भुटानले संयुक्त राष्ट्रसंघलाई देशको जनसंख्या १५ लाखभन्दा माथि देखाएको थियो । पछि त्यहाँका राजाले भने ६ लाख नै सदर गरे । 

त्यसमा नेपालीभाषीको संख्या ४९ प्रतिशत छ भन्ने हाम्रो दाबी हुन्थ्यो । सरकार भने त्यहाँ नेपालीभाषी २५ प्रतिशत मात्रै छन् भन्ने आधिकारिक तथ्यांक दिन्थ्यो । नेपालीभाषी र भुटान सरकारबीचको विवादको बीउ यहीँबाट सुरु भएको हो ।

भुटानीहरू धेरै सन्तान जन्माउन मन पराउँदैनन् । त्यसैले यहाँको जनसंख्या निकै कम छ । भुटानका भोटे पनि ङालोङ र सारछोप गरी दुईखाले छन् । सत्तामा रहनेलाई ङालोङ र पूर्वतिर बस्नेलाई सारछोप र दक्षिणतिर बस्नेलाई लोछाम्पा भन्छन् । उत्तरको बासिन्दालाई ङुकछोप भन्नुपर्ने हो तर सत्तामा भएकाले उनीहरू आफूलाई ङालोङ नै भन्छन् ।   

जनसंख्याको विषयमा विवाद झांगिन थालेपछि उनीहरूले नेपालीभाषीलाई हरेक हिसाबले तनाव दिन थाले । जुनसुकै बेला बख्खु लगाउनुपर्ने, हिन्दूको मन्दिर जाँदासमेत बख्खु छाड्न नहुने, उनीहरूले चाहेअनुसारका मूर्ति स्थापना गरिदिनुपर्नेजस्ता जबर्जस्त नियम लाद्न थालियो । पुराना मूर्ति हटाएर नयाँ राखियो, विवाद बढ्दै गयो ।

सन् १९५८ मा नागरिकता अधिनियम बनाइयो । तर, सरकारले लागू गर्न सकेन र सन् १९८५ मा अधिनियम संशोधन भयो । सरकारले नेपालीभाषीसँग निहुँ खोजिरहेको थियो, त्यसैले सन् १९५८ को अधिनियमअनुसार भुटानवासी भएको प्रमाणपत्र देखाउन हामीलाई सरकारले दबाब दियो, जुन लागू नै भएको थिएन । त्यसअनुसार नेपालीभाषी मात्र होइन, देशको आधा जनसंख्या नै फर्जी देखियो । १० वर्ष बसेको प्रमाण देखाउँदा त्यहीँको बासिन्दा पुष्टि हुने अधिनियममा उल्लेख थियो । त्यो नभए जग्गा दर्ताको प्रमाणले पनि हुन्थ्यो । तर, हामीले सरकारलाई राजस्व तिरेको रसिदलाई सन् १९६८ मा स्थापना भएको गृह मन्त्रालयले प्रमाण मानिदिएन । नयाँ पुस्तालाई नागरिकता दिने चलन नै हटायो ।

सन् १९७१ र १९७२ देखि जनगणना थालियो । प्रत्येक वर्ष जनगणना गर्ने चलन थियो । जनगणना गर्दा परिवारका सबै सदस्य गणकका अघि स्वयं उपस्थित हुनुपथ्र्याे । नभए कुनै सरकारी कार्यालयले मेरो कर्मचारी हो भनेर प्रमाणित गरे मात्रै ऊ गनिन्थ्यो, नभए मौका थिएन । विभिन्न बहाना बनाएर नेपालीभाषीमाथि गरिएको सरकारको ज्यादती सहनै नसक्ने अवस्था आयो । संघ–संस्था खोल्ने अधिकार नभएकाले सरकारविरुद्ध आवाज उठाउन सकिने अवस्था थिएन । भुटानमा चा, वा, सुङलाई ती रत्न मान्ने चलन छ । यी तीन रत्न भनेका राजा, देश र सरकार हुन् । यीविरुद्ध आवाज उठाउनु त परको कुरा, नकारात्मक सोचे मात्र देशद्रोही मानिन्थ्यो । 

यसरी लखेटिएँ

४ नोभेम्बर १९८९ को साँझ । त्यसबेला पनि म बाँडाको ब्लक मण्डल नै थिएँ । बजेट बैठकका लागि राजा ब्लकमा आउने जानकारीसहितको चिठी आएको थियो । तिहारको बिदा भएर भोलिपल्टदेखि कार्यालय खुल्ने दिन थियो । चार प्रहरी मलाई लिन घरमै आए । ब्लक मण्डल भएकाले सुरक्षा बन्दोबस्तसहित बैठकमा लैजानु अस्वाभाविक थिएन । 

पैदलै हिँड्दै थियौँ । राति २ बजेतिर करिब आधा बाटो पुगेपछि उनीहरूले जोङ्खा भाषामा कसैलाई मोबाइलमा भने, ‘उसलाई अहिलेसम्म थाहा दिएका छैनौँ, चुप लागेर जाँदै छ, प्रहरी पोस्ट पुगेपछि मात्रै थाहा पाओस् ।’ यो सुनेपछि म गिरफ्तार भएँछु भन्ने पक्का भयो । मैले जोङ्खा भाषा अलि–अलि बुझ्छु ।

आफू बैठकमा जानुपरेकाले मण्डलमुसनका कारोबारीलाई काम जिम्मा दिनुपर्ने भयो । कारोबारीमध्ये केहीका घरमै पुग्दा प्रहरीले प्रत्येक ढोकामा मलाई निगरानी गरिरहेको देखेको थिएँ । तर, त्यसलाई ठूलो रूपमा लिइनँ । पहिला पनि दुई–चार जना समातिएका थिए ।

आफू पक्राउ परेको थाहा पाएको केही बेरपछि खोल्सीमा पानी खाने निहुँले पछि बसेँ । प्रहरीका आँखाबाट अलिकति ओझेल पर्नेबित्तिकै चम्पट ठोकेँ । दौडिँदा चप्पल चिप्लियो । चप्पल त्यहीँ छाडेँ । लगाएको कोट खोलेर फालेको रूखको ठुटामा अल्झियो । म दौडिन छाडिनँ । पहाडको भीर थियो । प्रहरीहरू मेरो चप्पल र कोट त्यहीँ देखेर भीरबाट लड्यो भन्ने शंकाले त्यतै अल्मलिएछन् । भाग्यो भन्ने सुइँको पाएनन् होला सायद, उनीहरुले पिछा गरेको चाल मैले पाइनँ । 

निकै टाढा नपुगेसम्म म बच्नेवाला थिइनँ । करिब दुई घन्टा हिँडेपछि ठूलो खोलाको किनारमा पुगेँ । राति भएकाले खोलो कत्रो छ भन्ने अनुमान भएन र तर्ने आँट आएन । खोलाको माथिल्लोपट्टि भीरमा रूखको ठुटोको सिरानी लगाएर सुतेँ । थकित भएकाले होला, मज्जाले निदाएँछु । उज्यालो भइसकेपछि मात्रै ब्युँझिएँ । खोलो तरेर ६५ किलोमिटर हिँडेर भारतको सिलिगुडी आइपुगेँ । त्यहाँबाट नेपाल आएँ । रातिको कुदाइले जिउभर चोटैचोट थियो । नेपालमा बसेर उपचार गर्ने वातावरण भएन । पुनः भारतमा रहेका आफन्तकहाँ गएँ र उपचार गरेँ । 

म घरबाट हिँडेको भोलिपल्ट घरमा प्रहरी गएछन् । ‘बलराम कहाँ छ निकाल्’ भन्दै घर–परिवारलाई धम्क्याएर खेदेछन् । त्यतिबेला हामी सर्वसाधारणसँग मोबाइल, फोन थिएन । मेरो खबर घर–परिवारलाई पत्तो थिएन, न मलाई परिवारबारे नै थाहा थियो । घरबाट खेदिएपछि पत्नी लीलासहितका परिवार भारतको कालिम्पोङस्थित मावली घरमा शरण लिन गएछन् । यो खबर मैले चार महिनापछि मात्रै पाएको हुँ ।

भुटान पिपुल्स पार्टी गठन

केही दिनमा उपचार सकेपछि अन्य साथीसँग पनि भेट भयो । भुटानको समस्याबारे कुरा गर्न दिल्ली गयौँ । राजीव गान्धी, सोमनाथ चटर्जी, लालकृष्ण आडवाणी, भिएम तर्कुन्डेलगायतलाई भेट्यौँ । मानवअधिकारकर्मी पनि हुँदारहेछन् भन्ने त्यतिबेलासम्म थाहा थिएन । उनीहरूलाई पनि भेट्यौँ । बनारस पुगेर आफ्नो अभियानबारे सेमिनार नै आयोजना ग¥यौँ । भारतमै रहेका बेला त्यहाँका अगुवाले देशमा राजनीतिक परिवर्तन ल्याउन कुनै संगठन वा समूह होइन, राजनीतिक दल खोल्न सुझाए ।

बनासरमै रहेका बेला २ जुन १९९० मा भुटान पिपुल्स पार्टी गठन भयो । आरके बुढाथोकी पार्टीको संयोजक भए, म महासचिव । हामीले सन् १९९० मा भुटानमा शान्तिपूर्ण प्रदर्शन थाल्यौँ । भारतमै बसेर हामीले भुटानमा आन्दोलन चर्काउने चाँजोपाँजो मिलायौं । प्रशिक्षण दिएर भुटानमा मानिस पठायौँ । हामी भारतको बंगालदेखि असमसम्म ३६ क्याम्प बनाएर बसेका थियौँ । भारतले पनि साथ दियो । आउन–जान कुनै रोकटोक थिएन ।

जुलाईदेखि नै भुटानमा शान्तिपूर्ण आन्दोलनको आगो दन्कियो । पार्टीको झन्डासमेत प्रदर्शन भयो । सात दिनसम्म भुटान सरकारले हाम्रो आन्दोलनमा प्रतिक्रिया नै जनाएन । हाम्रो मनोबल बढ्यो । आठौँ दिन सरकारले यस्तो अमानवीय तरिकाले हामीमाथि धरपकड ग¥यो, त्यस्तो हामीले कल्पनै गरेका थिएनौँ । प्रदर्शनमा भाग लिने व्यक्ति र उसको परिवारलाई सरकारले ‘देशद्रोही’ घोषणा ग¥यो । नेपालीभाषीको अनुहार देख्नेबित्तिकै कुट्न र मार्न नै थाल्यो । आन्दोलन क्रममा केही दिनभित्रै सात सय मानिस मरेको अनुमान छ । सन् १९९० देखि समातिएका दुई सयजना अहिले पनि भुटानको जेलमै छन् । हामीलाई थाहा नभएका बन्दी अझ धेरै हुन सक्छन् । 

भुटानबाट लखेट्ने क्रममा प्रहरीहरु नेपालीभाषीका घर–घर आएको थियो । प्रहरीले घरमूलीलाई नै आफ्नै घर भत्काएर हाँस्न लगायो र नेपालीभाषीलाई पैसा दिँदै गरेको तस्बिर खिचायो । त्यसपछि बन्दुक ताकेर त्यो पैसा आफैँ खोस्यो । अनि, नांगेझार पारेर खेद्यो । 

हाँसेको तस्बिर चाहिँ ‘नेपालीभाषीले आफ्नो घर आफैँ भत्काएका हुन्, सरकारले उनीहरूलाई बाटोखर्च दिएको भनेर’ अन्तर्राष्ट्रिय संघ–संस्थालाई देखाउनका लागि रहेछ । नेपालीभाषीले रकम लिएको भरपाईसमेत प्रहरीले जबर्जस्ती गराएको थियो । 

सन् १९९० देखि १९९३ सम्म नेपालीभाषीलाई त्यहाँबाट धपाइयो । करिब डेढ लाख नेपालीभाषी शरणार्थीका रूपमा नेपाल आइपुगे । कतिपय भारततिरै बिलाए । हामी सञ्चार पहुँचबाट टाढा थियौँ । थिम्पुमा भारत र बंगलादेशका दुई दूतावास मात्रै छन् । संयुक्त राष्ट्रसंघका केही निकाय छन् तर प्रभावकारी काम गर्न सकेका छैनन् । अन्तर्राष्ट्रिय समुदायको दबाबपछि देशबाट खेद्न त छाडियो, दमन रोकिएन । हामीलाई धपाएर भुटानमा प्रजातन्त्र घोषणा गरियो । प्रजातन्त्र धनाढ्यलाई मात्रै हो । सर्वसाधारणले अझै धनाढ्यका लागि श्रमदान गरिदिनुपर्छ । आर्थिक रूपमा भारतजतिकै सक्षम छ भुटान । 

शिक्षा क्षेत्र राम्रो थियो । भारतले त्यहाँको शिक्षामा सन् १९६१ देखि नै सहायता गरेको थियो । तर, न्याय र राजनीति पढाइ हुँदैनथ्यो । भाषा चाहिँ राम्रो पढियो तर बाहिरी ज्ञान हुँदैनथ्यो, कोरा किताबी ज्ञान मात्र । 


तीन संकल्प

आन्दोलन चर्किएका बेला भुटान सरकारले ‘म लगायत चार जनाको मृत वा जिउँदो टाउको ल्याउनेलाई दुई लाख पुरस्कार दिने’ घोषणा गर्‍यो । पार्टी गठनपछि हामी भूमिगतजस्तै भयौँ । कसैले नचिनुन भनेर मैले दाह्री पालेँ । जहिले आफ्नो घर फर्कन्छु, त्यस दिन मात्र दाह्री काट्ने संकल्प गरेको छु ।

ज्यान बचाउन प्रहरीबाट फुत्किएको राति भीरमा रूखको ठुटोको सिरानी लगाएर सुत्दा खुब निद्रा आएको जीवनभर बिर्सेको छैन । सिरानीबिना त होइन, सिरानीसँगै हुँदा पनि त्यो दिनको जस्तो निद्रा अहिलेसम्म लागेको छैन । त्यसैको स्मरणमा मैले आफ्नो घर नफर्कुन्जेल सिरानी नलगाई सुत्ने संकल्प गरेको छु । म ब्लक मण्डल हुँदा दसैँको टीका लगाउन नगरभरका सर्वसाधारण मेरो घरमा भेला हुन्थे । घर छाडेदेखि अहिलेसम्म म र मेरी पत्नीले दसैँको टीका लगाएका छैनौँ । छोराछोरीलाई चाहिँ लगाइदिन्छौँ । मैले घरबारी नटेकुन्जेल दाह्री नकाट्ने, सुत्दा सिरानी नलगाउने र दसैँको टीका पनि नलाउने तीन संकल्प गरेको छु । आज २७ वर्ष पुग्यो, संकल्पमा दृढ छु  ।  

अध्यक्षको हत्या
सन् २००१ मा झापाको दमकमा विद्यार्थी संगठनको बैठक चलिरहेको थियो । एक समूहले भुटान पिपुल्स पार्टी अध्यक्ष आरके बुढाथोकीलाई बेग्लै भेट्न खोजे । अध्यक्ष बुढाथोकी, महासचिव मलगायत पार्टीका माथिल्लो तहका कार्यकर्ता सबै सँगै थियौँ । विद्यार्थीसँग त्यहीँ कुराकानी हुन थाल्यो ।

अपराह्न ३ बजेको हुँदो हो, धेरैजना फर्किसकेका थिए । हामी तीन–चार जना मात्र बाँकी थियौँ । बैठक स्थलबाहिरबाट एक युवक खुकुरी लिएर भित्र आए, सीधै अध्यक्ष बुढाथोकीको गर्धनमा प्रहार गरे । उहाँ र मेरो बीचमा अर्का कार्यकर्ता थिए । खुकुरीको चोटले अध्यक्ष ठाउँको ठाउँ ढलेपछि खुकुरीवालाले मेरो घाँटीमा खुकुरी बजार्न खोेजेको रहेछ, हाम्रा अर्का सहयोगीले हातमा हानेर खुकुरी खसालिदिए । म डायरीमा केही लेख्दै थिएँ, अध्यक्षलाई खुकुरी हानेपछि मात्रै देखेँ ।

हामी सबैलाई त्यसैदिन सिध्याउने योजना रहेछ । हामीले प्रतिकार गरेपछि बरन्डाबाट फाल हानेर भागे । बाहिर स्टार्टमै राखिएको गाडीमा चढेर उनीहरू बेपत्ता भए । अध्यक्षलाई अस्पताल त लग्यौँ तर अघि नै प्राण गइसकेको रहेछ । दमकका डाक्टर भक्त राई, जो भुटानमा हुँदा भुटानी राजाकै चिकित्सक थिए, उनी बुढाथोकीलाई मृत घोषणा गर्न बाध्य भए । खुकुरी हान्ने व्यक्ति पनि नेपालीभाषी भुटानी (रामचन्द्र सुवेदी) नै थियो । हाम्रो आन्दोलन तुहाउने षड्यन्त्रले कसैले उसलाई प्रयोग गरेको थाहा थियो । हत्याविरुद्ध ३९ जनालाई मुद्दा हाल्यौँ । सातजना समातिए पनि । तर, मुख्य हत्यारा अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । त्यसपछि दुई वर्ष कार्यवाहक भएपछि अध्यक्षकै जिम्मा मलाई आएको हो ।

भुटानबाट आएका एक लाख १५ हजार शरणार्थी दर्तामा छन् । पाँच हजार दर्ताबाहिर छन्, जसमध्ये दुई हजार शिविरमै दर्ता पर्खिरहेका होलान् । ९५ हजारजति अमेरिका गइसके । नौ हजार हाराहारी शरणार्थी क्यानडा, अस्टे«लिया, न्युजिल्यान्ड, नर्वे, नेदरल्यान्ड डेनमार्क र युके गएका छन् । स्वदेश फर्किन चाहने, विदेश जान चाहने र दर्तै नभएका गरी १८ हजारजति शरणार्थी अहिले नेपालमा छौैँ । युएनएचसिआरका अनुसार ६ हजारजति स्वदेश फर्किन खोज्दै छन् । 

भुटानको हाम्रो घर–जग्गामा पाँच परिवारका पूर्वप्रहरी र उनीहरूका मान्छे राखिएको छ भन्ने खबर आएको छ । अब त घर–जग्गा पनि सरकारी भइसक्यो होला । भुटानमा पहिला जनसंख्या कम भएकाले राम साह, शिवसिंह मल्ललगायतका पालामा यहाँबाट नेपालीलाई लगेर जनसंख्या बढाएको इतिहास छ । भारतको डुबर्स पहिला भुटानकै थियो । टिस्टासम्म भुटानको सीमा थियो । असमदेखि बंगालसम्म तिब्बतसँग व्यापार गर्ने १८ नाका थिए । सन् १८६५ को सन्धिमा असमदेखि दुई हजार सात सय ६० वर्गमाइल भुटान भारतमा गाभियो । भारत स्वतन्त्र भएपछि सन् १९४९ मा भुटान र १९५० मा भारतले नेपालसँग सन्धि गरेको हो ।

 

प्रकाशित: १० असार २०७४ ०३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App