१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जवान देखिन कस्मेटिक सामग्री

उमेर ढल्कदै गएपनि आफूलाई चुस्त र तन्दुरुस्त देखाउन कस्मेटिकको प्रयोग बढ्दै गएको छ। उमेरसँगै देखिने बुढ््यौलीका संकेत कम गरी जवान देखिनका लागि कस्मेटिक सामग्री प्रयोग हुने गरेको छ ।

कस्मेटिक उद्योगहरूले पनि बढी उमेरलाई लगाम लगाउन प्रशस्त मात्रमा आफ्ना उत्पादन बजारमा ल्याएका छन् । यी उत्पादनले बढ्दो उमेरलाई छिपाउन मद्दत गरेका छन् ।

कस्मेटिक सामान प्रयोग गर्नु भन्दा पहिले ती सामानबारे पूरै जानकारी हुनु भने आवश्यक छ। अन्यथा ती उत्पादनको उद्देश्य विपरित प्रयोग गरिएमा भने नकारात्मक असर देखिन सक्छ।

घामबाट जोगिने उपाय

अहिले बाटोको धुलोधुवाँ र घामका कारण पनि आफ्नो वास्तविक उमेर भन्दा बढी देखिन्छ । घामबाट मात्र जोगिने हो भने पनि सुन्दरपन कायम राख्न सकिने बिज्ञहरू बताउँछन् ।

अहिले गर्मी मौसम भएकाले घामबाट जोगिन सन ब्लक क्रिमको बिक्री बढी हुने गरेको डेल्टा मार्केटिङका निर्देशक हेमन्त निरौला बताउँछन् । डेल्टाले आस्टाबेरीका सौन्दर्य सामग्रीको बिक्री गर्दै आएको छ । ‘गर्मी मौसममा सन ब्लक क्रिमको अत्याधिक माग हुने गरेका छन्,’ उनले भने, ‘सन ब्लक क्रिमले छालालाई सुरक्षित राख्न मद्दत गर्छ ।’

छाला र कपाललाई सुरक्षित राख्न

गर्मीको समयमा घामका कारण छाला र कपाललाई नकारात्मक असर पर्ने गर्छ । नारीको सौन्दर्य नै अनुहार तथा कपालले देखाउने गर्दछ । यो मौसममा छाला र कपाललाई बिशेष ध्यान दिनु पर्ने जानकारहरू बताउँछन् ।

अनुहार राम्रो र सुरक्षित राख्नका लागि गर्मी समयमा हल्का मेकअप गरि बाहिर निस्कनु राम्रो हुन्छ । यो मौसममा धेरै मेकअप गर्दा पिम्पल्सका साथै अन्य समस्या देखा पर्न सक्ने ब्युटिसियन बताउँछन् । यस्तो समयमा वाटर प्रुफ मेकअफ गर्नु अनुहारका लागि सबैभन्दा राम्रो हो ।

ग्ल्यामरस र सुन्दर देखिन

नारीलाई बढी ग्ल्यामरस र सुन्दर देखिन मन लाग्छ । कपालललाई लाइट कलरले रंगाउँदा महिलालाई बढी ग्ल्यामरस र सुन्दर देखिन सहयोग पुग्छ । मेकअपको अर्को हिस्सा भनेको कपालको स्टाइल पनि हो । गर्मी मौसममा सकेसम्म कपाल खुला गरेर बाहिर निस्कनु हुँदैन । खुला कपाल राखेर हिंड्दा झन्झटिलो र गर्मीका कारण तनाव हुन्छ । त्यसैले गर्मीमा कपालको जुरो बनाएर हिड्नु सबैभन्दा राम्रो हुन्छ ।

चिल्लो प्रकृतिको छाला छ भने वाटर प्रुफ मेकअप गर्नु पहिले मनतातो पानीमा फिटकिरी वा निमको पात राखेर स्टिम गर्नु पर्ने सुझाव छाला बिशेषज्ञको रहेको छ  ।  गर्मीमा वाटर प्रुफ सौन्दर्य सामग्री प्रयोग गर्नु राम्रो हुन्छ । अनुहारमा क्लिनजिङ् गरिसकेपछि सनब्लक, वाटरपु्रफ फाउन्डेशन, लुज पाउडर, रोज, आइलाइनर, आइस्याडो, मस्करा, लिपिस्टीक तथा लिपग्लस प्रयोग गर्न पनि उनीहरू सुझाउँछन् ।

अनुहार सुख्खा छ भने भिटामिन ई युक्त मोस्चराइजर अनिवार्य  लगाउनु पर्छ । त्यसपछि वाटर प्रुफ मेकअप सामग्री प्रयोग गर्नु राम्रो हुने बिज्ञहरुको भनाइ छ ।

टाउको दुखाइ कम गर्न

गर्मीको समयमा बढी टाउको दुख्ने गर्दछ । अत्याधिक गर्मी त्यसमा पनि तानव पनि थपियो भने टाउको झनै दुख्ने गर्छ ।

 गर्मीको समयमा नवरत्न तेलको बिक्री गरेको इमामी इन्डियाका ब्रान्च मेनेजर मधु बस्यालले बताए । ‘नवरत्न तेलले टाउको मसाज गर्दा दुखाइ कम हुने भएकाले पनि तेल बढी बिक्री हुने गरेको छ,’ उनले भने,

‘गर्मीमा नवरत्न तेल लगाउँदा सितल हुने गर्दछ ।’

सधै तन्नेरी र तन्दुरुस्त हुन

व्यायाम र योगा अहिलेको समयमा नभई नहुने करा हो । व्यस्त दैनिकी र डेस्कको काम गर्ने मानिहरु ढाड र कम्मर दुखाइका सिकार हुन सक्छन् । यसको सर्वोतम विकल्प नै योगा अथवा व्यायाम नै हो । दैनिक रूपमा १० १५ मिनेट व्यायाम गर्दा पनि आफूलाई फिट राख्न सकिन्छ ।

आफूलाई सधै तन्नेरी र तन्दुरुस्त हुन तनाव कम गर्ने, व्यायाम तथा योग गर्ने र ग्रिन टीको सेवन गर्नुपर्छ । आफूलाई स्मार्ट राख्न तनाव कम गर्नु पर्छ । कुनै पनि काम गर्र्दा चाहिने भन्दा बढी परिश्रम गर्नु हुँदैन । वैज्ञानिक अध्ययनका अनुसार तनाव कम गरी काम गर्ने मानिस तनाव धेरै लिने भन्दा तन्दुरुस्त हुन्छन् ।

ग्रिन टीको सेवन लाभदायिक मानिन्छ । ग्रिन टी सेवन गर्ने महिलाहरूमा स्तन क्यान्सरको सम्भावना कम भएको पाइएको छ । दैनिक रूपमा २ ३ कम ग्रिन टीको सेवनबाट चुस्त स्वास्थ्यलाभ गर्न सकिन्छ। ग्रीन टीले पेटको विकार निर्मूल गर्ने बिज्ञहरू बताउँछन् ।

महिनावारीको गडबडीले कालोपोतो

खासगरी नारीमा महिनावारी बन्द हुने समयमा हर्मोनको गडबडीले चाँया आउन सक्छ । गर्भाशय, मूत्रनली, कलेजोको स्वास्थ्य समस्या भएमा र अलि लामो समय बिरामी भएमा पनि अनुहारमा कालो पोतो देखिन सक्छ । चिन्ता लिइरहने, पानी कम पिउने, बढी घाममा रहने, चर्को बत्तीको प्रकाश छालामा परिरहने, जथाभावीरूपमा सस्तो प्रकारका नक्कली सौन्दर्य प्रशोधन सामग्री प्रयोग गर्नेहरूमा कालोपोतो आउने सम्भावना अत्यधिक हुन्छ ।

यसैगरी छालाको सरसफाइमा ध्यान नदिने, जथाभावी बढी क्रिम प्रयोग गर्ने, नकारात्मक सोचाइ गरिरहनेमा छालाको समस्या भई कालोपोतो आउन सक्छ । साथै कुपोषण भएका, पेट सफा नहुने अर्थात् कब्जियत भइरहने, छाला अति नै सुख्खा हुने वा अति नै तैलीय हुनेहरूमा पनि कालो पोतो देखिन सक्छ । परिवार नियोजनका लागि प्रयोग हुने पिल्स चक्की सेवन गर्नेहरूमा पनि कालोपोतो आउने गरेको पाइन्छ । यस्तै हर्मोनयुक्त अन्य औषधिको सेवन गरेको छ भने यसले हर्मोनमा गडबडी ल्याउने हुँदा छालामा असर परी कालो पोतो आउने हुन्छ। यी बताइएकामध्ये कुन–कुन कारणले कालोपोतो आएको हो भन्ने अनुमान गर्न सकिएमा बचावट एवम् नियन्त्रण गर्न सकिन्छ ।

चायाँ अर्थात् कालोपोतो हटाउन मात्र नभएर पूरै अनुहार सफा बनाउन विभिन्न घरेलु फेसप्याकहरू प्रयोग गर्न सकिन्छ । यस्ता फेसप्याकले दाग, खटिरा, फोहोर र मृतछालासमेत हटाउन मद्दत मिल्छ । जुनसुकै व्यक्तिले जुनसुकै समयमा पनि फेसप्याक लगाउन सक्छन् । तर अनुहारमा घाउ वा जटिलता भएमा विशेषज्ञ डाक्टरबाट उपचार गराउनुपर्छ ।

फेसप्याक धेरै किसिमले बनाउन सकिन्छ । जौको पिठो, मुङको दाल, अण्डाको सेतो भाग र दूध मिलाएर बनाएको फेसप्याकले हानिरहित अनुहार सफा बनाउन सकिन्छ । छालाको बाहिरी भागमा रहेको कालोपोतो हटाउन यस किसिमको फेसप्याक उपयोगी हुन्छ । यस्तो फेसप्याक अनुहारमा लगाएको १५ मिनेटपछि दूधले भिजाउँदै मसाज गर्नुपर्छ । त्यसपछि पानीले पखाल्नुपर्छ । यसबेला कुनै पनि साबुनको प्रयोग गर्नुहुँदैन । बरु नियमित मोस्चराइजरको प्रयोग गरेमा छाला सुन्दर देखिनुका साथै स्वस्थ हुन्छ ।

विज्ञको सुझावको आवश्यकता

अनुहारलाई नै कुरूप बनाउने गरी कालो पोतो आएमा त्यसबाट बच्नका लागि विज्ञहरूको सुझाव लिनु उचित हुन्छ । प्रायः हरेक अस्पतालमा स्किन उपचारको छुट्टै युनिट खुलेको छ भने छालाको मात्रै उपचार गर्ने क्लिनिकहरू पनि सहर–बजारमा देखिएका छन् । विशेष ब्युटिपार्लरकमा समेत कालो पोतो हटाई अनुहारको सौन्दर्य बढाउने गरिन्छ ।

ख्यातिप्राप्त अस्पतालमा चर्मरोगकै विशेषज्ञ डाक्टर र ब्युटिपार्लरमा तालिमप्राप्त एवम् अनुभवी ब्युटिसियनद्वारा सेवा प्रदान गरिने भएकाले हानिरहित उपचार सेवा पाउन सकिन्छ । तर जथाभावी खुलेका क्लिनिक एवम् ब्युटी पार्लरमा उपचार गराउँदा छाला बिग्रन सक्ने भएकाले यसमा सतर्कता भने अपनाउनै पर्ने हुन्छ । बजारमा पाइने चायाँ हटाउन प्रयोग गरिने केमिकलयुक्त क्रिम आफूखुशी प्रयोग गर्नुहुँदैन । यसले एलर्जी भई अर्को समस्या ल्याउन सक्ने भएकाले प्रयोग गर्नुपूर्व कतै छालामा लगाएर परीक्षण गर्नुपर्छ ।

सुन्दरता बढाउन

सफा अनुहार स्वस्थताको प्रतीक हो । गाजर, आलु र काँक्रो मसिनो गरी कोरेसोमा कोरेर बटर मिसाएमा राम्रो फेसप्याक बन्छ । मुसुरोको दालको पीठो दूधमा मिसाएर पनि फेसप्याक बनाउन सकिन्छ । फेसप्याक जसरी बनाए पनि माथि बताए बमोजिम अनुहारमा प्रयोग गरी पखाल्नुपर्छ । यस किसिमका फेसप्याकले छालाको बाहिरी सतहमा भएका फोहोर पदार्थ हटाई अनुहारको सुन्दरता बढाउने हुन्छ ।

ब्युटिसियनको सल्लाहअनुसार तयारी फेसप्याक पनि किन्न सकिन्छ । चायाँ हटाउने नाममा तयारी केमिकलयुक्त क्रिम प्रयोग गर्ने हो भनेचाहिँ विचार गर्नै पर्छ । यसरी आफूखुशी क्रिम प्रयोग गरी छाला बिगारेर ब्युटी पार्लर आउनेहरू पनि हुन्छन् । उनीहरूलाई हामीले कुरा बुझाएर उपचारका लागि डाक्टरकोमा जान सल्लाह दिने गरेका छौं ।

चायाँ हटाउन वा यसबाट बच्न सूर्यको किरणबाट बच्नुपर्छ । घाममा निस्कँदा सनस्क्रिन लोसन लगाउनुपर्छ । छालाको प्रकृतिअनुसारको स्याहार गर्नुपर्छ । कुनै जटिल समस्या भएमा छालाको डाक्टरबाट उपचार गराउनुपर्छ । त्यसैगरी ताजा तरकारी, फलफूल, सागसब्जी सन्तुलित रूपमा खाने गर्नुपर्छ । मेकअप सामग्रीमा पाउडर–ब्लसरको सामग्री प्रयोग नगर्नु राम्रो हुन्छ । अनुभवी ब्युटिसियनबाट मात्र सौन्दर्य सेवा लिने गर्नुपर्छ ।

कालोपातोबाट बच्न

सुन्दर देखिनका लागि बजारमा आएका जथाभावी सौन्दर्य सामग्रीको प्रयोग गर्न नहुने विज्ञहरूको सुझाव छ । जथाभावी रूपमा सस्तो खालका सौन्दर्य प्रशोधनका सामग्री प्रयोग गर्नेहरुमा कालोपोतो आउने सम्भावना अत्यधिक हुन्छ ।

चिन्ता लिइरहने, पानी कम पिउने, बढी घाममा रहने, चर्को बत्तीको प्रकाश छालामा परिरहने गर्नाले पनि अनुहारमा दाग आउने गर्छ । उक्त कुरामा ध्यान दिन सकिएको खण्डमा मात्र पनि सुन्दरता कायम राख्न सकिने विज्ञहरू बताउँछन् ।

 

 

 

 

 

 

 

 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App