१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चार हजार दुधालु गाई विमानमा कतार लगिँदै

काठमाडौं- छिमेकी मुलुकले चालेको कदमले कतारको बाँकी विश्वसँगको व्यापारमा व्यवधान खडा गरेको छ, परिवारहरुलाई विभाजन गरेको छ अनि लामो समयदेखिको भूराजनीतिक गठबन्धनले अर्कै रुप लिने सम्भावना बढेको छ। तर, यसले एकजना कतारी व्यवसायीलाई खाडीको मरुभूमिमा चार हजार दुधालु गाई हवाई जहाजमार्फत ढुवानी गरेर सम्भावित दूध आपूर्ति रोक्न उत्साहित गरेको छ। उनको यो कदमलाई प्रतिरोधसँगै साउदीबाट हुने ताजा दूधको आपूर्ति रोकिएपछिको शून्यता हटाउने अवसरको रुपमा हेरिएको छ।

यसलाई उड्डयन इतिहासकै सबैभन्दा ठूलो स्तरको जनावर ढुवानी मानिएको छ।

औसत पाँच सय ९० किलोग्राम तौल हुने चार हजार गाई कतार पु¥याउन कतार एयरवेजका ६० भन्दा बढी उडान आवश्यक पर्ने अनुमान गरिएको छ । अस्ट्रेलिया र अमेरिकामा खरिद गरिएका ती गाई पावर इन्टरनेसनल होल्डिङका चेयरम्यान मौताज अल खायातले कतार लैजान लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । ‘यो देशका लागि काम गर्ने समय हो,’ उनले भने ।

दोहाले इस्लामिक लडाकुलाई सहयोग गरेको आरोप लगाउँदै साउदी अरेबियाको नेतृत्वमा खाडीका छिमेकीले कतारसँगको कूटनीतिक सम्बन्ध तोड्दै सीमा नाका बन्द गरेका छन् । युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारी यात्रुबाहक विमानलाई समेत आफ्नो एयरस्पेस प्रयोग गर्न रोक लगाएका छन् । उनीहरुले लगाएको आरोप कतारले खण्डन गरेको छ । प्रतिव्यक्ति आम्दानीका हिसाबले संसारकै सबैभन्दा धनी मुलुकलाई एक्ल्याउन अघिल्लो साता सोमबार छिमेकीले चालेको कदमले कतारलाई खानेकुरा, प्राकृतिक ग्यास उद्योगका लागि आवश्यक उपकरण र निर्माण सामग्री आयात गर्न नयाँ व्यापारिक मार्ग खोज्न बाध्य पारेको छ । कतारको केन्द्रीय बैंकले आन्तरिक र अन्तर्राष्ट्रिय कारोबार सामान्य हिसाबले चलेको जनाएको छ ।

कतारले दुग्ध पदार्थहरु टर्कीबाट र फलफूल एवम् तरकारी इरानबाट ल्याउन थालिसकेको छ । घरेलु उत्पादन किन्न सर्वसाधारणलाई प्रोत्साहित गर्न अभियान नै सुरु गरिएको छ । डेरी उत्पादन बेच्न राखिएको ठाउँमा कतारी झन्डाको रङ भएका ब्यानर राखिएको छ । भिल्लाजियोस्थित एक सुपरमार्केटमा राखिएको ब्यानरमा लेखिएको छ– स्थानीय उत्पादनलाई सहयोग गर्न एकजुट ।

‘यो हामीलाई अरुको सामान आवश्यक छैन भन्ने चुनौतीको उदाहरण हो,’ सुपरमार्केटमा भेटिएका उम्म इस्सा नामका एकजना सरकारी कर्मचारीले भने, ‘हाम्रो सरकारले कुनै पनि कुराको अभाव हुने नदिने ग्यारेन्टी गरिसकेको छ । त्यसका लागि हामी आभारी छौं । हामीलाई केही डर छैन । कोही पनि भोकले मर्नुपर्ने छैन ।’

कतारको राजधानी दोहामा बसोबास गर्ने १० लाखभन्दा बढी जनसंख्यालाई आवश्यक पर्ने ताजा दूधको अधिकांश हिस्सा एक साताअघिसम्म साउदीबाट आउँथ्यो । सन् २०२२ को विश्वकप फुटबल लक्षित रंगशाला र मेट्रो निर्माणमा हप्तामा ५० करोड अमेरिकी डलर खर्च गरिरहेको कतारमा छिमेकीले नाकाबन्दी लगाएसँगै दूधको आपूर्ति घटेको छ ।

कतारका ठुल्ठूला मल बनाउने मुख्य व्यवसाय भएका अल खायातले कृषि फार्ममा ठूलो लगानी गरेका छन्। उनले राजधानी दोहाबाट ५० किलोमिटर उत्तरमा ठूलो कृषि फार्म खोलेका छन् । खाद्य सुरक्षा अर्थतन्त्रलाई पेट्रोलियम पदार्थबाट आर्जित डलरमाथिको निर्भरताबाट मुक्त गर्ने कतार सरकारको रणनीति ‘भिजन २०३०’ को एक हिस्सा हो । साउदीले पनि यस्तै गरेको छ ।

७० वटा फुटबल रंगशाला बनाउन पुग्ने जति जग्गामा अल–खायातको गोठ र घाँस छ । अहिले त्यहाँ भेडाको दूध र मासु उत्पादन भइरहेको छ । उनले समुद्री मार्गबाट गाई ल्याउने योजना चाहिँ यसअघि नै बनाइसकेका थिए । यो संकटसँगै उनले हवाईमार्गबाट गाई ल्याएर यसै महिनाको अन्त्यतिरबाट दूध उत्पादन गर्ने गरी योजना परिमार्जन गरेका हुन् । नत्र सेप्टेम्बरबाट दूध उत्पादन सुरु गर्ने लक्ष्य थियो । आफ्नो उत्पादनले मध्य जुलाईसम्ममा कतारी मागको एक तिहाइ हिस्सा धान्ने दोहास्थित कार्यालयमा अल खायातले बताए । उनका अनुसार होलस्टेन जानका गाई पाल्न आवश्यक पूर्वाधार तयार भइसकेको छ । ढुवानी खर्च पाँच गुणा बढी लाग्ने भए पनि उनले हवाई जहाजबाटै गाई ल्याउने निर्णय गरिसकेका छन् । ती गाई ओसार्न ८० लाख डलर खर्च हुनेछ ।

‘कसैले पनि दैनिक जीवनमा संकट महसुस गर्नु पर्दैन,’ अल खायातले भने, ‘सरकारले कतारलाई एक्ल्याउने कदमको असर पर्न नदिन कठिन काम गरिरहेको छ ।’

 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App