१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

वीरगन्ज माहानगरमा तीन दलले उम्मेदवार छाने, राजपा सडकमा

वीरगञ्ज- देशको आर्थिक तथा ब्यपारिक राजधानीको रुपमा चिनिने र पछिल्लो मधेस आन्दोलनले चर्चा पाएको सीमावर्ती माहानगर वीरगन्जमा आसन्न दोस्रा चरणको स्थानीय तह निर्वाचनका लागि तीन दलले उम्मेदवार चयन गरिसकेका छन्। नेपाली काँग्रेस, नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालले मेयरको उम्मेदवार लगभग टुँग्याइसकेका हुन्।

तीन वटा दलले मेयरको उम्मेदवार टुँग्याएको खबर बाहिएिसंगै अन्यदलमा पनि उम्मेदवार टुँग्याउन नेताहरुमाथी दबाव बढेको छ। यता राष्ट्रिय जनता पार्टी (राजपा)ले घोषणा  गरे अनुसार मंगलवारदेखी चार दिने बन्द सुरु गरेको छ।

काँग्रेसले पर्सा जिल्लका पार्टी सभापति अजयकुमार द्विवेदीलाई नै अन्ततः मैदानमा उतारेको छ। वीरगन्जबाट १३ जना आकाँक्षीहरुको नाम केन्द्रमा गएपनि द्विवेदीलाई नै टिकट दिनु पर्ने केन्द्रीय तहले निर्णय गरेको काँग्रेस केन्द्रीय समिति सदस्य अजय चौरसियाले बताए । ‘केन्द्रले जिल्ला सभापति द्विवेदीलाई नै अघि सारीसकेको छ, यसअघि थुप्रै आकाँक्षीहरु थिए, अब त्यो चरण सकिएको छ,’ चौरसियाले भने, ‘यता गाउँपालिकादेखी वर्डास्तरसम्म उम्मेदवार टुँग्याउन लाग्दा राजपाको आन्दोलनले चुनावी माहोलमा एक किसिमले प्रभाव पारेको छ।’

काँग्रेसका २ नम्बर क्षेत्रका क्षेत्रीय सभापति अरवीन्द गुप्ताले वीगन्जको लागि उम्मेदवार टुँग्याउने काम सकिएर पार्टी अब चुनावी अभियानमा लागि सकेको बताए । त्यसतै गत सम्बिधान सभामा निर्वाचनमा पर्सा क्षेत्र नं २ बाट नेकपा माओवादी केन्द्रका प्रत्याशी रहेका बसुरुद्दिन अन्सारीलाई एमालले मेयरको उम्मेवारीको बाचासहित पार्टी प्रवेश गराएको छ। अन्सारीले मेयरको रुपमा आफ्नो लागि मत माग्न सुरु गरिसकेका छन् । नेशनल मेडिकल कलेज वीरगन्जका प्रबन्ध निर्देशक रहेका उनी आर्थिक रुपमा धेरै सबल उम्मेदवार भएकोले एमालेले उनलाई अगाडी सारेको विश्लेषण गरिएको छ । अलि थोरै भए पनि एमालेको प्रतिबद्ध मतदाता र अन्सारीले १, २, ३, लगायत अरु वडामा रहेका मुश्लिम भोट बैंकलाई आकर्षित गर्ने भनी एमालेजनको बुझाई छ।

मेयरको उम्मेदवारको नाम स्थायी कमिटीले बुधवारको बैठकले तय गर्ने एमालेका पर्सा संयोजक प्रभु हजाराले बताए। त्यसैगरी उपेन्द्र यादव नेतत्वको संघीय समाजवादी फोरम नेपालले उद्योगपति विजय सरागवीलाई उम्मेदवार  बनाउने पक्का भएको छ । ‘समाजिक ब्यक्तित्वको रुपमा सरावगी परिचित छन्, उनी वीरगन्जमा भिजन भएका ब्यक्तिको रुपमा पनि चिनिन्छन्, कार्यकर्ताहरुकै चाहना अनुसार सरावगी मेयरको उम्मेदवारको रुपमा लगभग अगाडि बढी सकेका छन्,’ फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले भने, ‘टिकट दिई सकिएको भने छैन् ।’ राजपाले चुनावी कार्यक्रमहरुमा हस्तक्षेप गरकोलाई उनले गैरराजनीतिक चरित्र भने । त्यसतै माओवादी केन्द्रबाट रहबर अन्सारीको नाम बढी चर्चामा छ।

सहभागि बिना नै राजपा आन्दोलन

वीरगन्ज बजार, यहाँको स्थानीय यातायात तथा लामो दुरीका सवारी साधन, शैक्षिक संस्था, औद्योगिक प्रतिष्ठान, वित्तिय संस्थाहरु बुधवार  राजपाको आन्दोलनले बन्द रह्यो। कार्यकर्ता भने फ्याटफुट मात्र देखिए। बेवारिसे टायर सडकमा बलि रह्यो, बन्द दिन भरी चलि रह्यो ।

राजपाका नेता तथा कार्यकर्ताहरु भने चुनावम्बन्धी कार्यक्रम बिथोल्नेतिर केन्द्रीत थिए। संविधान संशोधन बिना स्थानीय तहको निर्वाचन गर्न लागिएको भन्दै आन्दोलनमा उत्रिएको राजपा काँग्रेस र एमालेभन्दा उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल विरुद्ध बढि आक्रमक बनेको छ। फोरमका जिल्ला अध्यक्ष प्रदीप यादव लगायतसंग स्थानीय नेताहरुको आन्तरिक टसल पर्सामा यस्तो प्रतिक्रियाको रुपमा देखिएको बिश्लेषण गरिएको छ । रजपा नेताहरुसंग फोरमले आन्दोलन नटुँगिदै साँथ छोड्यो भन्ने तर्क पनि छ।

चार दिने बन्दको पहिलो दिन मङगलवार वीरगन्जमा  राजपाका कार्यकर्ताले फोरम नेपालकै पार्टी कार्यालयमा तोडफोड गरेका छन् । आदर्शनगर चोकमै रहेको फोरम नेपालको नगर समितिको कार्यालयमा उनीहरुले तोडफोड गरेका हुन् । राजपा कार्यकर्ताले  अपरान्ह फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको पुत्ला पनि जलाएका छन् । यसअघि सोमबार पनि पर्साको बहुदरामाई गाँउपालिका–६, भौराटारमा पनि  राजपा कार्यकर्ताले मङगलवार हुने भनिएको उपेन्द्र यादवको कार्यक्रमस्थल कब्जा गरेर मञ्च बन्न नदिएपछि उक्त कार्यक्रम स्थगीत भएकोछ।

यसैविच बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ता राजपाका कार्यकर्ताले वीरगन्जमा निर्वाचन आयोगका कर्मचारीमाथि हातपात गरेका छन् । जिल्ला निर्वाचन कार्यालय वीरगंज, श्रीपुरस्थित नेपाल राष्ट्रिय बिद्यापीठ उमाविमा राखेको दुई दिने प्रशिक्षण सकेर निस्किदै मतदान अधिकृत र सहायक मतदान अधिकृतमाथी आक्रमण गरेका छन् । ‘दुई जना मतदान अधिकृत ज्युहरुलाई धकेलधाकेलको घटनामा चोटपटक लागेको रहेछ,’ पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले भने, ‘अरु कुनै अप्रिय वा काबु बाहिरको घट्ना भएको छैन् ।’

कुटपिटबाट मतदान अधिकृतमा खटिएका वीरगन्ज भन्सार कार्यालयका शाखा अधिकृत कुमारप्रसाद घिमिरे र लेखा अधिकृत दिलीप मिश्र घाइते भएका हुन् ।

प्रकाशित: ३० जेष्ठ २०७४ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App