१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डम्पिङ साइट बन्यो युएन पार्क

ललितपुर-राजधानीवासीलाई हरियालीयुक्त क्षेत्र उपलब्ध गराउँदै वातावरण शिक्षाको केन्द्र बनाउन बाग्मती किनारमा निर्माण गरिएको युएन पार्क अव्यवस्थित र फोहर थुपार्ने डम्पिङ साइट बन्दै गइरहेको छ।

राजधानीमा चराचुरुंगीको दीगो बासस्थान समेत बनाउने उद्देश्यले २०५२ सालमा १५ सय ७६ रोपनीमा स्थापित पार्क वरपरका स्थानीयको फोहर फ्याँक्ने ठाउँ बन्दा पनि ललितपुर उपमहानगरपालिकाले बेवास्ता गरिरहेको छ । स्थानीयबाहेक पार्कमा आउनेले समेत जथाभावी फोहर फ्याँक्दा सुन्दर पार्क फोहर केन्द्रमा परिण हुँदै गएको हो ।

केही गैरसरकारी संस्थाले पनि टोल सुधारको नाममा पार्कछेउ फोहर थुपार्ने गरेका छन् । यसरी फोहर थुपार्दा पार्क घुम्न आउने विदेशी र नेपाली पार्क छेउ थुप्रेको फोहर र दुर्गन्धले दिक्क हुने गरेका छन् । खासगरी पार्क र सडक क्षेत्रमा उपमहानगरपालिकासँग अनुमति नलिइ फोहर संकलन गर्ने र थुपार्ने गैरसरकारी संस्थाले पनि पार्कलाई डम्पिङ साइट बनाएका छन् ।

तर गैरसरकारी संस्था र स्थानीयले पार्कमा जथाभावी फोहर थुपार्दासमेत ललितपुर उमपा मौन रहेको युएन पार्कछेउ व्यापार गरिरहेकी सीता राईले बताइन । उनी भन्छिन्, ‘पहिला पहिला त पार्क अत्यन्त मनोरम र सफासुग्घर थियो । अहिले भने फोहर र अव्यवस्थित बन्दै गएको छ । प्रायः स्कुल डे«समा आउने युवायुवतीले धक नमानी अशोभनीय क्रियाकलाप गर्दा पार्क झन् अव्यवस्थित बनेको छ ।’

त्यस्तै पार्कको रेखदेख गर्न २० जना सरकारी कर्मचारीको दरबन्दी सहितको युएन पार्क संरक्षण समिति छ । तर समितिका कर्मचारी र पदाधिकारी कसैले पनि पार्क दुर्गन्धित र डम्पिङ साइट बन्दासमेत कुनै चासो देखाएका छैनन् । अनामनगरस्थित कार्यालयबाट पार्कमा समितिका कुनै पनि पदाधिकारी वा कर्मचारी विरलैकोटी आउने स्थानीय बताउँछन् । पार्कनजिक बाग्मती करिडोरमा फोहर बोक्ने सवारीसाधन पार्किङ गरिँदा ट्राफिक जाम हुनुका साथै सडक अवरुद्ध हुने गरेको त्यस क्षेत्रका स्थानीयले बताए ।

ललितपुर उमपाका वातावरण शाखा प्रमुख प्रदीप अमात्यले उमपाको फोहर व्यवस्थापन गर्न कठिन भएकाले यसमा स्थानीय टोल सुधार समितिले पनि सहयोग गर्नुपर्ने बताए । साथै उनले उमपासँग अनुमति नलिइ फोहर संकलनको नाममा कमाउन पल्केका गैरसरकारी संस्थाको अनुगमन र कारबाही गरिने बताए ।

युएन पार्क संरक्षण समिति अध्यक्ष लक्ष्मीनारायण चौधरीले पार्क हराभरा र व्यवस्थित गर्न समितिले नयाँ योजना ल्याउन लागेको बताए । त्यस्तै केही गैरसरकारी संस्थाले उमपाको स्वीकृति विपरीत सडकमै फोहर थुपार्ने गरेका छन् ।

फोहर व्यवस्थापन गर्न ललितपुर उपमहानगरपालिकासँग ३ सयभन्दा बढी सफाइ कर्मचारी भए पनि ती कर्मचारीलाई फोहर व्यवस्थापन र सफाइ गर्न परिचालन गरेको छैन । अन्य गैरसरकारी संस्थाले नियमविपरीत सार्वजनिक स्थलमा फोहर थुपार्दा समेत रोक्न उपमहानगरपालिकाले कुनै कदम नचाल्नु आश्चर्यजनक भएको स्थानीयले बताए ।

युएन पार्कनजिकै मनोहरा खोला करिडोरमै रहेको महिला वातावरण समूह नामको गैरसरकारी संस्थाले संकलन गरेको फोहर पार्क क्षेत्र मिचेर थुपार्दै आएको छ । बर्खामा करिडोेर क्षेत्रमा फोहर थुपार्दा दैनिक यस क्षेत्रमा आवतजावत गर्ने बटुवाले हैरानी खेप्दै आएका छन् ।

समूहका सल्लाहकार दीपक रोकायाले उपमहानगरपालिका एक्लैले फोहर व्यवस्थापन गर्न नसक्दा टोलवासी मिलेर फोहर व्यवस्थापन गरेको दाबी गरे । उनी भन्छन्, ‘उपमहानगरपालिकाले मुख्य सडक छेउको फोहर मात्र उठाउँछ, भित्री गल्लीका फोहर सडक र पार्कमा थन्काउने काम टोलवासीबाट भएको छ ।’

टोलवासीको जथाभावी सार्वजनिक ठाउँमा फोहर फाल्ने प्रवृतिले पार्क फोहरको डंगुरमा परिणत हुँदै गएको छ । स्थापनाताका सरकारले पनि पार्क मनोरम र उपत्यकाकै नमूना बनाउने घोषणा गरेको थियो ।

 

 

प्रकाशित: ५ श्रावण २०७३ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App